Saturday, June 22, 2013

वर्षैपिच्छे पल्केको काल

समय ६:१५ मा चल्दै थियो । घाम महाभारत डाँडा पछाडि नदेखिनेगरि लड्यो । बादलहरू डरले सुलिथुम्का नाघ्दै गौरिशंकरतिर उक्लिए । शायद, हिमालमुनि लुक्न होला ? आकाशबाट एकहुल अँध्यारो जमिनतिर झरे । विस्तारै फैलियो । छिनमै वातावरण छिपछिपे अँध्यारोमा ढाकियो ।  
...
वर्षौदेखि, यहि महिना । जब एसएलसिको नतिजा प्रकाशति हुन्थ्यो । काल पल्किन्थ्यो रे ! आज फेरि काल पल्क्यो । गाउँमा शरू मरि ।

'सुलिथुम्का' काखमा रहेको गाउ - चनौटे । ठुलो बस्ती छैन । सानो छ तर लस्करै बनाइएका घर डोरिजस्तै देखिन्छ । जमिन सुख्खा छ । पानि लाग्दैन । खोलो भए पो । खहरे खोल्छो त छ तर कमिला कुद्छ । पानी बग्दैन । बिजुलि छैन तर बाटो पुगेको छ । सबैका छानामा सोलार छन् तर टि.भि. छैनन् । गन्नेमान्नेका घरमा मात्र छ । प्रा.वि.सम्म पढाइ हुने स्कुल छ । मा.वि. छैन । २ घुण्टा सुलिथुम्का छिचलेपछि उच्च मावि पुगिन्छ । शरूले त्यहि स्कुलबाट यसपालि एसएलसि दे'कि थिइ । तलतिर सुनकोशि जंगिदै बगेको छ तर खेति आकाशेपानिको भरमा गर्नुपर्छ । समग्रमा यहि थियो शरुको गाउ ।

यसपालि एसएलसि दिने केटाकेटी छ सात जना थिए । जसमध्ये कार्किबारे काकि कि छोरि कालि पनि थिइ ।  
कालि अर्थात् शरू के.सी. । उमेर १५ वर्ष । गाउभरि सप्पैले मायाले कालि भन्थे । कसैले कालिका पनि भन्थे । बोलाउने नाम मात्र कालि थियो । मान्छे त गोरि थिइ । उधुमै राम्री । हँसिलि । उत्तिकै असल पनि ।

घरमा आमा र शरू मात्र थिए । बा हिउदमा विते । एउटा दाइ छ । शहरमा पढ्दै छ ।

सरले सधै भन्ने गर्थे रे - 'नियमित टिउसन र राम्ररि पढ्न पा'कि भए यसले स्कुलको नाक राख्थि । तर के गर्नु ? यसैले परीक्षाको मुखमा आएर पढ्न पाइन । बाउ विते । आमा एक्लि भइ । आमालाइ नसघाए घर विचल्लि हुने भयो ।

बा वितेको केहि दिनपछि शरूले स्कुल जान छाडि तर पढ्न होइन । घरका काम भ्याएर फुर्सद मिल्नासाथ शरू पढ्न बस्थि । वर्ष भरिनै न टिउसन लिइ । न स्कुल गइ । शरूले घरमै अभ्यास गरि यसवर्षको एस.एल.सि परीक्षा दिइ ।

मंगलबार । दिउँसो ३ बजे ।
रिजल्ट प्रकाशति भएको हल्लाखल्ला गाउभरि फैलियो । शरुका कानमा विनोदले पार्दियो । उ सल्लेनिबाट बाख्रा चराएर घर फर्किदै थिइ । सुनेर एकछिन आत्तिइ । पास हुन्छु कि हुन्न ? शरिर डरले काप्यो । जीउभरि काँडा भरर उम्रिए । एक मनले फेल भएको र'छु भने । अह् ! अह् ! हनैसक्दैन । पास त हुन्छु । हुनैपर्छ । फेरि अर्को मनले पास भएको सम्झिइ । अनुहार उज्याल्लियो । खुशिले गाउभरि हल्ला गर्दै दौडिइ । सपना बाँडी ।

शरु तेरा बाख्राले मकै खाए । कसैले नाम काडेर बोलाएको सुनि । उ झल्यास भइ । छिटछिटो बाख्रा बारिबाट उकालेर खोरमा हुलि । एक छिन आगनमै उभिइ । पसिना सुकेपछि एक अम्खोरा पानि पिइ । दलिन छेवमै अडेस लागि । गोजिबाट मोबाइल झिकि र लामो सुस्केरा तान्दै १६०० मा डाइल गरी । फोन लागेन ।
....
फोन किन लाग्थ्यो र ? टावर कहिलेकाही मात्र टिप्थ्यो । ऊ हतारिद बेलडाडा हानिइ । टावर प्रष्टै टिप्थ्यो त्यहाँ । पुग्नासाथ १६०० मा डाइल गरी । फोन लाग्यो । सिम्बोल नं. थिचि । लिष्टमा नाम छैन । मोबाइल बोल्यो । एक्कासि छाति फुटे झैँ भयो । थचक्क चौतारामा बसि । मोबाइलले अब संसारमा जिउने लिष्टमै नाम छैन जसरी करायो । बाँच्ने ठाउँ नै छैन झैँ झर्कियो । ऊ रन्थनिइ ।

झिनो आशा र बढ्दो धुकधुकिलाइ मेटाउन त्यतिनै बेला दाइलाइ आत्तिदै फोन लगाइ ।

उताबाट दाइले फोन उठाउदै बोल्यो । नेटमा हेरे । तीन विषय लागेछ । तिनवटा विषयमा स्टार । चान्स परीक्षा पनि दिन पाइनस् । तिनटाँ फेल । हैन् ! क्यारी पढेथिस् ? दाइको बोलि सुन्नासाथ शरीर फतक्कै भए । आफ्नै दाइले  गालि गरे झैँ लाग्यो । सरापे झैँ भयो । छिनमै शरिर मरेतुल्य भए । थाहै नपाइ आशुका नुनिला ढिक्का बरररर खसे । हुर्रिएर घर पुगि । बाल्कोनि चढि । कोठा भित्र पसेर ड्याम्म ढोका लगाइ ।
.....
आमा घाँस काट्न सिरबोटे पाखामा दिउसो गा'थिन् । यतिबेलासम्म आइपुगेकि थिइनन् । आउने बेला त भइसकेको थियो । नभन्दै, तल माचबाट भैसि करायो । आगनका बाख्रा पनि कराए । आमा आइपुगिन् ।

'यत्तिका साँझ छिप्पिसक्यो । बत्ति नबालि के बसेकि होलि ? बाख्रापनि सारेकि छैन् ? - आमा घाँसाको भारि बिसाउँदै कराइन ।

हैन् ? कता मुन्टी । टि.भिले नी गर्नुगर्यो । काइलिका टि.भि. राखेदेखि घरमा बास छैन् । छिनछिनमा हुर्रिनुपर्छ । रिजल्ट आयो भन्थे । के भइ कुन्नि ? राम्ररी पढ्न पा'कि भए त पास हुन्थि होलि । घरमा सघाउने कोहि भएनन् त्यसबेला । भा'का एउटालाइ पनि दैवले चाँडै लगे । राम्ररी पढ्न पनि पाइन । काम गर्दै दिन बिते । खै ! पास भइ होलि र । आमाले थोरै शंका पोखिन् ।

घाँसको भारि थन्काएर । घर भित्र छिरिन् । टुकि बालेर वस्तु धन्दा गर्न गोठतिर लागिन । घर सुनसान भयो । आगनबाट बाख्रा फेरि कराए । छिटछिटो काम सकाएर घरभित्र छिरिन् तर शरूको भने अझै अत्तोपत्तो थिएन ।

आँगनको डिलमा उभ्भिएर कराइन् । सरू, ए....सरु । सरू । हैन् ! घरमा कोहि छैनन् भन्ने थाहा पाउँदा पाउँदै यो केटी कहाँ मुन्टेकि होलि ? कस्ति छोरी जन्माइछु । साझपख घर छाडेर के जान सकेकी होलि ?

पल्लो घरको जस्केलोबाट साइलि बोलि - काकी, शरू आ'कि छैन् है यहाँ । हिजो अस्ति त सँधै आउथी । खै ! कता गइ कुन्नी आज । दिउँसोबाटै देखा परेकि छैन् ।

त्यति नै बेला कान्छो दगुर्दै काकिको छेवमा आयो ।
लरबराउँदै बोल्यो ‍- काकि, यसपालि माथि स्कुलका जम्मा तीन जना पास भए रे ! शरू दिदिपनि फेल भइ रे ! परीक्षा दिन नपाउने गरी । 

कान्छोले बोलिनसक्दै काकिको मनमा चिस्यो पस्यो । काकि अताल्लिदै माथि कोठा भित्र छिरिन् । छोरि दलिनमा झुण्डेकि थिइ । झुण्डिएकि छोरि देखेर काकि खंङ्ग्रङ भइन ।  आँखाभरि आँशु टिलपिल भए । मुटु गाठो परे । शरिर कठ्याङ्ग्रिए ।

आज फेरि एकपटक चनौटेमा काल आएथ्यो या रिजल्ट । गाउलेलाइ पत्तै भएन । गाउबाटै जुन जस्ती छोरीलाइ टपक्कै टिप्यो । न कालले । न रिजल्टले । शिक्षाले छोराछोरिको भविष्य उज्वल बनाउछ भन्थे । त्यहि सपना देखेर काकिले पनि सकिनसकि पढाएकि थिइन गाउँकै स्कुलमा...। तर काल पो पल्काइछिन । फुल जस्ती छोरी सदाको लागि चुढेर लग्यो त्यस्ले । खै के ले हो कुन्नि ? तर कलिलै उमेरमा । काकीका आखाँबाट बर्ररर पिडाका ढिक्का खसे ।

(काल्पनिक कथा)
- सन्तोष पौडेल

No comments:

Post a Comment