Wednesday, December 26, 2012

देश मनपर्छ


अँध्यारो,
पढ्नु नपर्ने,
जुरुक्क, उठ्नै नपर्ने,
खुरुक्क, काम गर्नै नपर्ने,  
खुशी छन,
सप्पै ! आफै देखि,
भित्रैदेखि,
देश मनपर्छ ।
*****
‘भविष्य’, न चिन्ता न चिता,
गजक्क छन,
फुर्सदिला जीन्दगीहरु,
हिस्रक झैँ उड्छन, डुल्छन, फुट्छन,
छताछुल्ल हुँदा,
देशप्रति
न खेद छ
न दु:ख
कत्ति खुशी छन,
देशदेखि,
बिजुली
धारा,
सडक
घर-भाडा
मंहङ्गी
ट्राफिक जाम,
सरकारी निकायका काम,
र वर्तमान कानूनदेखि,
फुच्चे, चुच्चे र बढे नेतादेखि
भित्रैदेखि
सप्पै ! खुशी छन,
देश मनपर्छ ।  
*****
वत्ति बाल्नु हुन्न रे !
देखिन्छ,
काला धनहरु
जाली मनहरु
रित्तिएका वनहरु
खेर गएका अपार जलस्रोतहरु,
भष्ट्रचार, कुशासन,
पसिना नचुहाएका अनुहार,
श्रम मुल्य नचिनेका बेसरम,
राष्ट्रिय विभुति बन्ने होड र सपना,
ठाउँ-ठाउँका तालि,
माला माल्यार्पण,
बाँडि-चुँडि विकास,
‘देश’ रुवाउँदै,
खुशी बटुलेका रहरियाहरु,
सँधै खेल्ने,
‘सहमति ! सहमति ! सहमति’
अनौठो राष्ट्रिय ढाकछोप खेल,
देश मनपर्छ ।
*****
बिजुली बले, देखिन्छ रे !
चरम वेथिति,
वेचैनी र वर्वादी,
गरीवी, अराजकता, मैला ती अनुहार,
एक धोक्रो मल नपाएका जनता,
शून्यशिलता शुसासन,
कू-शासन,
अन्न नफलेका बाँझा खेतवारी
खान नपाएका,
भोका पेट, अनुहार !  
अह !
बिजुलि बाल्नु हुन्न,
हुँदै हुन्न,  
कहि कतै,
अँध्यारै ठिक
अन्धकारमा को फरक ?
सबै समान
न रंगिविरंगी
श्वामश्वेत नेपाल,
न विभेद
न तराइ,
न पहाड,
न हिमाल
शताब्दीकै ठुलो फट्को,
उत्कृष्ट सोच,
खुशिमा लाज लाग्छ,
किन ?
सुर्यले दर्शन गर्न नपाउँदै,
संसारले देख्ने,
अग्लो चुचुरो-चुलि मुन्तिरको मेरो देश,
अन्धकारमय भयो,
२०४ वर्ष राणा मडारिए,
राजा, महाराजा मडारिए,
प्रजातन्त्र मडारियो,
गणतन्त्र,
अचेल मैदानमा छि:चिमिरा झैँ
सेता हुस्सु मडारिए,
देख्दिन,
नेपाल कता छ?
नेपाली कता छन्?
देश अँध्यारो छ,
मलाइ,
देश मनपर्छ ।