ड्याम मुनीको हरियो दहमा पसिनाले निथ्रुक्क भिजेको कपडा
नफुकालि विकास झ्वाम्म हाम फाल्यो । 
निरज के कम ? हाम नफाल्ने कुरै थिएन । 
रमेश र म मात्र थियौँ किनारामा डुब्दै निस्किदै गर्ने । 
बबीको कुरै नगरौँ ? ऊ माछा झै पानी मुनिमुनि पौडिन खप्पिस थियो
। 
घाँसे तर भिरालो भित्तोपट्टीबाट विशम भटाभट फोटो खिच्दै
थियो । 
दहको छेउपट्टी कम्मर जतिको पानीमा शरिर डुबाएर रमेश र म पोज
दिदै विशमलाई फोटो खिच्दिन आग्रह गर्यौँ । 
'थम अप्स' गर्दै विसमले भटाभट
हाम्रो फोटो खिच्दियो । म र रमेश ङिच्च हास्दै त्यहि सानो दहमा फुत्त पस्यौँ ।
'आछ्छु, कस्तो चिसो पानी', म ठुल्ठुलो स्वरमा चिच्याए ।  
'बाँकी केटाहरू जंगलमास्तिरको गाउँतिर छिरेको हुनुपर्छ',  दहमा पुनः डुबुल्कि मार्दै मैले अडकल काटे । 
'हिजो गाउँ हुँदै उकालो लाग्दा सुकुटी प्लस छ्याङ्गको
बास्ना आएको कुरा सुत्नेबेलामा चलेकको थियो', पक्कै त्यतै पसे होलान् । 
मैले मुख मिठ्याउँदै सुनाए । 
०००००
डिग्रीको पहिलो दिन । नेपाल कमर्श क्याम्पस छिर्दै गर्दा
शरिरनै शिरिङ्ग भएथ्यो । शरिरमा एक किसिमको छुट्टै तरङ्ग पैदा भएथ्यो । एक्कासि, शरिरमा भरर
काँडा उम्रिएथे । 
म स-साना सपनाहरू बोकेर कलेज छिर्दै थिए । म ती सपनाहरूलाई
सगरमाथा जस्तै अग्लो बनाउन चाहान्थे । पढ्न चाहान्थे । पास भएको डिग्रीको
सर्टिफिकेट देखाउँदै बा-आमाको अगाडी चिच्याउँदै खुसी साट्न चाहान्थे ।
बाको सपना थियो— 'छोरो गाउँकै पहिलो डिग्रीहोल्डर बनोस्', मलाई यहि
कुराले बेलाबेला झस्काइरहन्थ्यो । 
लागिरहन्थ्यो— 'बा-आमाको खुशी यहि सर्टिफिकेटमा वर्षौदेखि अट्किरहेको
छ । यहि सर्टिफिकेटका केहि अक्षरहरूमा मेरा बा-आमाका खुशिहरू टाँसिएका छन्, जुन
मैले उप्काउनुछ ।' 
धमिलो सम्झना छ । कक्षा ६ तिर शेखर सरले अंग्रेजी पढाउनु हुन्थ्यो ।
गाउँभरि शेखर सरले काठमाण्डौँबाट डिग्री पास गरेको हल्लिखल्लि थियो । उहाँ डिग्री
पढेकै कारण फेमस हुनुहुन्थ्यो । 
म सोच्थे—  'कुनै दिन
काठमाण्डौँ गएर म पनि डिग्री पढ्नेछु र बालाई देखाउनेछु मेरो डिग्रीको सर्टिफिकेट
।' 
त्यो मेरो वालापनको एउटा सपना थियो । म पछ्याइरहेको थिए
तीनै सपनाहरू जसलाई मेरा बा-आमाले मेरो बढ्दो उमेरसँगै पछ्याइहरेका थिए ।  
अनेक सपनामध्ये म यहि एउटा सपनाको लागि पहिलो पटक छिर्दै
थिए नेपाल कमर्श क्याम्पस । 
गेटबाट छिर्दै गर्दा लामो कपाल, झुस्स दाह्री र मोटो चश्मा
लगाएको जवान ठिटोलाई देखे, म जस्तै । 
मैले उसलाई मसिनो स्वरमा सोधे— 'दाई, डिग्री फस्ट इयरको
पढाई कता भइरहेको छ ?' 
ऊ मेरो प्रश्न सुनेर मुस्कुराउँदै— 'फष्ट इयरकै विद्यार्थी भएको
वताउँदै', हात तेर्सायो । 
भेषको हात छुँदा वाल्यकालको दौतरीहरूको सुगन्ध आइरह्यो ।
लाग्दैथियो— 'वाल्यावस्थामा हराएको कुनै साथिलाई आज पुनः भेट्दै छु' । 
०००००
म भर्ना भएको थिइन । त्यो मेरो पहिलो दिन थियो । त्यसैले
मैले उतिसाह्रो सुरूका दिनहरूमा साथि बनाउन ठिक थानिन् । तर, भर्ना भइसकेपछिका
दिनहरूमा साथिहरू टन्नै भए । थोरै मिल्ने भए, धेरै हाइ-हेल्लो, मुस्कानमा
कठ्याङ्ग्रिने किसिमका भए । 
शुरूशुरूका दिनहरूमा पढाई रोमाञ्चित थियो । म सँधै कक्षाको
पुच्छारतिर बस्थे, रूचाउँथे । म कोर्सका किताव भन्दा उपन्यास, कथा कविता बढी पद्थे
। 
'हेर्दै तिमी कति सोझो देखिन्छौ ?', एकदिन पछाडीपट्टिको
बेञ्चबाट बबिले मलाई कुन्नि के सम्झेर सुनाउँदै थियो । 
'तर, मलाई लाग्दैन थियो कि म सोझो छु ।' 
'हुनसक्छ', मैले सम्भावनाको मुन्टो हल्लाइदिएथे त्यसदिन । 
'म अनजान व्यक्तिहरूसँग त्यति बोल्न रूचाउदिनथे । लजालु
स्वभावले पनि होला?', मैले मनमनै बबिको कुरामा लख काटे।  
पछिल्ला दिनहरूमा सबैभन्दा बढी प्रेम नजिकियो । मिल्ने साथि
भयो । फुटबल खेल्ने शिलशिलामा निरज नजिकियो, ऊ आत्मिय भयो । विशम, विकास, उद्धव,
प्रदिप, एडवर्ड, बबि, रेवन, युवक, अनुप, श्री, रमेश र अरू थुप्रै साथिहरू मैदानबाटै
घनिष्ठ भए । 
आइतबारको दिन हुनुपर्छ । हामी सदाझै फुटबल खेलेर क्यान्टिनको
समोसा हुसार्दै थियौँ । रमेश टुप्लुकियो । गफैगफमा रमेशले कतै घुम्न जाने कुरा
राख्यो ? कुरा मात्र हैन साथिहरूमाझ प्रस्ताव नै राख्यो । 
हामी सबै सहमत भयौँ । तर कहाँ जाने टुंगो लगाउन घण्टौ
घोत्लियौँ । 
विशमले चिया सुरूप्प पार्दै 'के घोत्लेको', म लग्छु तिमीहरूलाई वन नाइट
स्टे ट्रेकिङ्ग, 'चिसो चिसापानी'  
एकछिनसम्म विशमको चिसो चिसापानीको झट्काले सबै ट्वा पर्यौ ।
ट्वामै सबैले अटेरो गरी 'हुन्छ' को मुन्टो सुस्तरी हल्लाए । 
सरकारले मस्यौदा संशोधनको लागि ४ दिनको सार्वजनिक बिदा दिदै
थियो । यो भन्दा ठुलो मौका कुन हुनसक्छ ?
एक रात उतै बस्ने गरी सबैले जाने पक्का गर्यौँ । 
०००००
छ्वालिले बारेको सानो छाप्रो अगाडी पुगेर गाडी घ्याच्च
रोकियो । 
'लौ ! बसपार्क आइपुग्यो सबै झर्नुहोस्', खलासी भाई ठुल्ठुलो
स्वरमा चिच्याउन थाल्यो । 
हामी एकएक गर्दै ओर्लियौ । सबैले आ-आफ्ना भाडा तिर्यौँ । तर,
विद्यार्थी कार्ड डिस्काउट भने कसैले मागेनन् । 
तेर्सो बाटो कटेर उकालो लाग्दै गर्दा विशमले विद्यार्थी कार्ड
देखाउँदै 'फोक्कट ५ रूप्पे चट्, टोटल्ली ५०', चिन्ता पोख्यो । 
'ह्वाट, टोटल्ली साढे दुइ बोट्का छ्याङ्ग चट्', हल्का कञ्जुस
चै हुनैपर्छ', निरजले लोभि प्लस फाइदाजनक राय सुझाउँदै कार्ड देखायो । 
'डिस्काउण्ट नमाग्दा ५० रूप्पे चट्, ट्रेकिङ्ग घाटामा', विकासले कार्ड
देखाएर जिस्किदै सबैसँग पाँच सय उठाउन थाल्यो । 
आँखा झिम्काउदै विशमले 'ठिक' को मुन्टो वेस्सरी हल्लाइरह्यो
। 
भट्टीजस्तो देखिने त्यहि छ्वालिले बारेको साधारण होटल अगाडी
रहेको ठुलो पाइप छेवैनिरको डिलपट्टी लस्करै टक्क उभिएका सबैको टाउको हावा लागेको
बेला धानको बोट लर्किए जस्तैगरी 'ठिक' को मुन्टो एकैतिर सपक्कै लर्कियो ।  
'साउनी छ्याङ्ग छ', ठट्टा गर्दै प्रेमले कालो निधार खुम्चाउँदै
सोध्यो । 
'शरिर शित्तल नबनाइ के उकालो लाग्नु', आँखा सन्काउँदै बबि होटलभित्र
सुत्त पस्यो । 
गाडीबाट ओर्लिनासाथ खाजा खाने होटल रमेश खोज्दै थियौँ । समय
झण्डै १ बजेतिर चल्दै हुनुपर्छ । घाम टाउँकै मास्तिर देखिन्थ्यो, गर्मी उल्का ।
'लामो बाटो, हिड्नुपर्ने टन्नै', खाजा-नास्ता-छ्याङ्ग प्लस जे-जे
खाने माथितिरै खाउला-जिस्किउँला छ्याङ्गको लीला यतै रच्ने हो भने पुग्न गाह्रो छ ।
विशमले विशाल चिन्ता सुनायो । 
'भनेको मान्छौ भने हिड्ने सुर कस केटाहो, भलाई यसैमा छ', अनुहार
चिम्स्याउँदै विशम फेरि बोल्यो । 
'खाजै नखाई हिड्ने', होटलभित्र पसेको निरज फुत्त वाहिर
निस्कदै पेट छाम्न थाल्यो । 
'खाजा प्लस रमाइलो' माथि गाउँतिरै गरौला । विशमले सम्झायो ।
आग्रह गर्यो । अनुरोध । सबै-सबै । 
अब नहिडेर भो !
०००००
हिड्दाहिड्दै म अचानक कुनै जंगलको विशाल कोलाजभित्र हराउदै गए
। 
डिल खसेर बनेको मोडनिर रून्चे अनुहारमा युवकलाई
देखे  । 
युवकको अमेरिका जाने सपना तुषारापात भएपछि ऊ सँधै
रून्चे अनुहारमा देखिन्थ्यो । 
खैर, उसका अनेकौँ सपनाहरू थिए होलान् । मेरो जस्तै । म
भावुक बन्दै गए ।
अम्रिकामा छोरो पढेको बा सुन्न चाहान्थे होलान् । मेरो
जस्तै । म आफ्नै बालाई सम्झेर रून थाले । 
ऊ आफै चाहान्थ्यो होला— न्यूयोर्क शहरका गगनचुम्बी
महल जस्तै अग्लो बनाउन स्वप्लिन दुनियाँ जहाँ ठड्याउन सकियोस् स्वप्निल महलहरू । के
म बा'को महत्वकाक्षाहरूलाई यसैगरी ठड्याउन सकौला । म भित्रभित्रै न्याकिदै गए । 
२७ तारिख, जुन दिन स्याड्बिज जस्तै फुलेकी मोटीको 'यू
रिजेक्ट' को स्वरमा ऊ झसङ्ग भयो । एकाएक शरिर फतक्क गल्यो । अनुहारमा
दौडिरहेको मुस्कान छिनभरमै निमेट भयो । 
हैट, कस्तो सपना, टाउको झटकार्दै सुस्तरी मैले मुण्टो
दाहिनेपट्टी कोल्टाए । 
अचानक, बास्केट कोर्टमा कोहि अनजान ठिटो फुटलबको कलात्मक
जादु देखाउँदै गरेको देखे । 
म मन्त्रमुग्ध भएर हेर्दै गए । ऊ विद्यार्थी भन्दा बढी प्रोफेसनल
फुटबलर देखिदै गयो । 
सानोछदा म पनि फुटबलको सौखिन थिए । फुटबलप्रति अगाध प्रेम
थियो । म जादुमय फुटबले अपरिचित ठिटोसँग बोल्न खोज्दै थिए— 
र, बोलाए— 'परैबाट हेलो', भन्दै । 
ऊ नजिक आयो । मैले कुरैकुरामा धेरैथोक भन्दै गए । ऊ सुन्दै
गयो ।
'तिमी किन कुनै फुटबल क्लबमा आबद्ध भएर भविष्य बनाउन लागि पर्दैनौँ',
"गलत लक्ष्य पछ्याएर, गलत मार्ग हिड्दै छौँ' । हेक्का
छ तिमीलाई",  मैले थर्काए । 
ऊ थर्किएन । ऊ चुपचाप मेरो कुरा सुनिरह्यो । मैले उसलाइ
ठलठुलोस्वरमा चिच्याउदै भने— 'म कुनैदिन रंगशालाहरूमा तिम्रो फुटबलमय कलाका सपनाहरू
फक्रिएको देख्न चाहान्छु' । 
ऊ मसिनो स्वरमा बोल्यो— 'यहाँ सपनाहरू फक्रिने
प्रतिकुल मौसम छ र?', मलाई उसको यो प्रश्नले निकैबेर स्तब्ध बनायो । 
टाउको अडेस लागेको डण्डिमा हात ठोक्कियो । ऐय्या ! म झल्यास्
भए । 
'कस्तो सपना?' म चिच्याए । 
मलाई सुतेर देखिने सपनाहरू भन्दा विपनामा बुनिने सपनाहरू औधि
सुन्दर लाग्छन् । भलै ती पुरा हुन वा नहुन तर सपना खुल्ला आँखाले देखिनुपर्छ भन्ने
कसिलो विश्वास थियो तर साला आँखाले पनि कहिलेकाही वास्तविक सपना उसैगरी देखाउदो
रहेछ । म छक्क परे । 
खैर, मैले भर्खरै सपना देखे । सपनामा युवक र विकासलाइ देखे
। युवक र विकासका फक्रिन नपाएका सपनाहरू देखे । म विस्तारै सपनाबाट वाउरिदै उठे । 
५-३० भएको हुनुपर्छ । पानी दर्किरहेको थियो । 
म ओत लाग्ने ठाउँको डण्डीमा अडेस लागेर उङ्दै थिए । कति खेर
निदाइछु पत्तै पाइन । 
०००००
ओत लाग्ने ठाउँ नभेटिएर हामी सबै आत्तिदै थियौँ ।  करिब-करिब ५ कि.मी. जतिको नाकै ठोक्किने उकालो
चढिसकेपछि घनघोर जंगलको बीचतिर हामी फसेका थियौँ । साँझको झरि भएकोले पानी
रोक्किने छाटकाट थिएन । केही साथिहरू तल गाउँतिरबाटै पछि परेका थिए । 
म, विकास, विशम, निरज र प्रेम सिमसिम पानीमा रूज्दै
हिडिरहेका थियौँ । कोहि कसैसँग बोलेका थिएनौँ । जंगलको रूखका पातहरूमा झरेका
थोपाहरूको संगीत स्पष्ट सुनिन्थ्यो । तपतपतप संगतीको मज्जा लिदै रूज्दै हिडिरहेका
थियौँ । 
'भोकले पेट भित्र पस्यो, चाऊचाऊ छैन', प्रेमले धमिलो अनुहार
चिम्स्याउदै मसिनो स्वरमा बोल्यो । 
'दशब्राह्र प्याकेट ड्राई फुड बोक्नुपर्थ्यो, ४ प्याकेट
चाउचाउ को खाने', झरिले प्लान चौपट बनायो । झर्किदै ठुलठुलो स्वरमा निरज कड्कियो ।
उसको चर्किलो आवाज सुनेर सल्लाको रूखमा रूझेर बसेका एक जोडी
सारौ कराउँदै उडे— 'टाढा-टाढा' 
'न ओतलाग्ने ठाउँ आइपुग्छ', साला विसमले भनेको ओतलाग्ने
कटेरो पुग्न वर्षौ लाग्छ कि क्या हो ! फेरि निरज झर्कियो । 
'ओत लाग्ने ठाऊ आइपुगे, कमसेकम आरामले खाजा खान पाइन्थ्यो',
विकासले सान्त्वना दिदै सुस्तरी हिड्न आग्रह गर्यो । 
'हुन्छ को मुण्टो हल्लाउँदै सबैजना निरन्तर हिडिरह्यौ ।
आधि घण्टाको हिडाइपछि बल्ल टहरो देखियो । ओत लाग्ने ठाउँ भेटिएकोले
हामी एकअर्कालाई हेर्दै मुस्कुरायौँ । 
प्रेम भने डिस्कोपट्टीबाट 'ए झरि भिझाइदे मेरो मन यसैगरी' जोडजोडले
गुनगुनाउँदै थियो ।
'लौ ! अब आरामले बसिन्छ, निचारिन्छ भिजेको नाथे लुगा',
जिङरिङ्ग परेको दाह्रि कनाउँदै विसम बोल्यो । 
'म भने डण्डिमा अडेस लागेर एकसुरमा घोरिन थाले । भिजेको
शरिर आफै टकटकिदै सुक्न थाले । न्यानोपनमा कतिबेला भुसुक्क भएछु, पत्तै पाइन ।  
०००००
हतारहतारमा केटाहरू चाउचाउ प्लस चिउरा खान थाले । त्यतिनैबेला
बबि, रेवन र रमेश आइपुगे । पानी बेजोडले परिरहेको थियो । समय गोधुलि साँझबाट रातमा ढल्दै थियो ।
'अब रूझ्न सकिन्न', चिसोले च्याप्पै समात्छ, बिसन्चो भइहालियो
भने', चिन्ता पोख्दै नहिड्ने कुरा गर्यो विकासले ।
'विकासको चिन्तालाई ख्यालै नगरी विसमले बडेमानको चिन्ता छताछुल्ल
पार्यो ।' 
भुकम्पपछिको पहिलो ट्रेकिङ्ग, त्यसमाथि बस्ने होटलको टुंगो
छ/छैन । रात झपक्कै पर्नथाल्यो । 
'साथिहरू मुटु चै दह्रो बनाइराखौँ', ऊ मुटु यसकारण दह्रो
बनाउन खोज्दै थियो । मानौँ— चिसापानीमा भत्किएका संरचना बाहेक अरू केहि छैन ।
जुन चिसापानी सुनेर आएका थियौँ । त्यो अब त्यहाँ रहेको छैन । र, हामी एउटा यस्तो भत्किएको
संरचनाको ह्रासमाथि पुग्दै छौँ जहाँ हजारौँ सपनाहरू पुरिएका छन् । पुरिएका छन् घुम्ने
आउने मान्छेहरूको आशा र अपेक्षाहरू । 
फेरि विसम बोल्यो— 'हामीसँग दुईवटा छाता छ', तिमीहरू पानी रोक्किएपछि
हिड्नु । सन्तोष र म विस्तारै उक्लिन्छौ र ठाउँठाउँको बस्तुस्थितिबारे म्यासेजमा जानकारी
गराउछौ । 
अलिक चाँडै पुगे बस्ने-खाने होटल खोज्छौँ । नभेटिए छेउछाउको
कुनै बस्तिमा बन्दोबस्त मिलाउँछौँ । 
सबैले हुन्छ को मुन्टो सुस्तरी निकैबेर हल्लाइरहे । 
दर्किरहेको पानीमा छाताको ओत लिदै त्यहाँबाट विसम र म खिन्न
मन बोकेर निस्कियौँ । 
०००००
'देउराली', बिसम यसरी चिच्यायो मानौँ हामी सगरमाथाको टुप्पो
नजिक पुग्दै छौँ । 
'सेतो ढुंगोमा पाती चढाउदै भगवानसँग 'खाना प्लस बास' निकैबेर
मनमनै दुवैले मागिरह्यौँ । । 
खोजबाट उक्लिएर तेर्सो लाग्दै गर्दा एक दाई भेटिए ।
'दाइ, चिसापानीमा होटल छ नी ! भुकम्पले कि सबै खल्लास', मैले
डर मिसिएको प्रश्न सोधे । 
'थोरथोरै छ तर धेरै मान्छे गएका छन् । बस्ने ठाउँ चै नपाउन
सक्ला', आंशका यसरी पोख्दिए मानौँ अब रातभर रूझ्दै बस्नु पर्नेछ । 
'धन्यवाद दाई', लामो सुस्केरा तान्दै हामी ढुङ्गा बिछ्याएका
खुट्किलाबाट छिट्छिटो ओर्लियौँ । 
जङ्गल सक्किनै लाग्दा खोजपट्टीबाट झ्याम्प केहि कालो वस्तु
झर्यो । म तर्सिए । झन् विसम नतर्सिने कुरै थिएन । 
'हैट, कुकुर पो रैछ', सात्तै गयो । दुवै हाँस्दै तेर्सियौँ
। 
०००००
रूम देखाउँदै होटेलका तक्लु बा बोले— 'जम्मा ४००' 
'खानाको', म आत्तिएर बोले । 
'जम्मा १८०', तक्लु बा उसैगरी बोले । 
'मासु प्लस भात', म फेरी बोले ।
'जम्मा ३००', 
तक्लु बाले ठुलो भाले देखाउँदै— त्यो खाने भए डङ्ग्रङ्गै
तीन हजार । 
'दाल प्लस भात', म पुन चिच्याए । तक्लु बा एकछिन अलमलियो । 
मैले फेरि भने— 'सादा खाना', चिम्सा आँखा तन्काउँदै सोधे । 
तक्लु यसरी पट्कियो— 'भुकम्पले बाँचेर घुम्न आइपुग्नु भएको छ, के दाल भात
खाएर फर्किनुहुन्छ ।'  
'शहराँ टोटल्ली २०० मा मासु प्लस भात बच्काइन्छ, यहाँ सादा
नै मुश्किल रहेछ', लेखाजोखा गर्दै विसम बोल्यो । 
'उसो भए शहर तिरै वच्काउन जाऊ भाई, यता चिसापानी के आइरा', तक्लु
साउले बाटो देखाउदै रिस पोख्यो । 
हामीसँग अरू विकल्पै थिएन । भुकम्पले भत्काएको तीन तल्ले
घरको माथिपट्टीको भाग हटाएर भुइतलामा जस्ता हालेर होटल बनाएको थियो । सुत्ने ठाउँ
ठिकै थियो । अझ भनौँ— 'धन्न यति भए पनि पाइयो' 
विशमले ९ जनाको लागि सादा खाना अडर गर्यो । 
'सादा खानामा के-के हुन्छ', चुलापट्टीको झ्यालबाट टाउको
छिराउँदै साउनीलाई सोधे । 
साउनी च्याठिदै— 'मासु हुँदैन्, दाल-भात-अचार', उल्लु बनाउँदै नमिठो
उत्तर दिई । 
रिस अचानक मेरो टुप्पीमा पुग्यो— 'साला, पैसो नतिरी खान खोजे
जस्तो व्यवहार' म विशमलाई सुनाउँदै झोक्किए ।  
साउनीलाई के सुनाउन सक्थे— 'फेरी खाने बस्नेको इन्तु न
चिन्तु' 
खैर, भिजेको कपडा निचोरेर लगायौ र
केटाहरूलाई लिन तल भन्ज्याङ्गसम्म जान निस्कियौ । 
०००००
'८-३० बज्यो', विशमले घडि हेर्दै लामो
सुस्केरा तान्यो । 
'मैले सुसेले जोडजोडले'
निकैबेरपछि केटाहरूले पनि
डाँडापट्टीबाट सुसेले । उसैगरी ।  
'ल केटाहरू आइपुगे', म गदगद् भए ।
विसम्भर पनि ।
'कम्ता विजोग भो ! पानीले दकुर्नु
दकुर्यो', केटाहरु यसरी सुनाउँदै थिए । मानौँ— हामी उनीहरूको पीडा सुन्न टुप्लिएका हौ । 
'कठैबर ! निथ्रुक भिजेका, चिम्सा
आँखालाई च्यातेर हिडिरहेका',  बा-आमाले
यिनीहरूलाई यस हालतमा देखे कति दयाँ पलाउथ्यो 
होला,  मैले बा-आमाको नजरबाट हेर्ने
प्रयत्न गरे । 
'कुन हो होटेल ?', निरजले हतारिदै
सोध्यो ।
'अलिक पर, ऊ त्यहाँ', विसम्बर
उम्लो तेर्साउँदै टर्चको प्रकाशमा केटाहरूलाई लिएर हिड्न थाल्यो । 
'होटलमा पुगेर सबैले हातगोडा
धोइवरी कालो चिया मगायौ' 
'के हो यस्तो ?', अचानक खुट्टाको
पछाडीपट्टी देखाउदै प्रेम जोडजोडले चिच्यायो । 
'जुगाले अट्याक हान्देछ, एउटै
खुट्टामा तीन्टा', बबिले जुगा टिप्दिदै अर्को खुट्टामा पनि हेर्न खोज्यो । 
'गर्दनपट्टी चुस्स दुख्यो', हेर त
केटा, उम्लाले देखाउदै विकास बोल्यो ।
रमेशले बडेमानको जुगा तान्दै— 'ढाडिएर चट् भैसकेछ !' हास्दै पातलो जुगाको खोल गर्दनबाट
निकाल्यो । 
उतिनैबेला साउनी नुन बोकेर रूममा  छिरिन । 'जुगा टन्नै लाग्छ' टिप्दै नुनमा
राख्नुहोला । नत्र यहि जुकाले रातभर सताउछ, राम्रोसँग हेर्नुस है ! राम्रोसँग । साउनी
उसैगरी च्याटिठै बाहिर निस्किइन । 
हामी जुगा टिप्न व्यस्त हुन थाल्यौ।
लगभग गोडा पच्चिस जम्मा भइ गए । 
०००००
प्रेम, रमेश र म बिहानै उठ्यौँ ।
झण्डै ५ बजेतिर । अरू मस्त निदाइरहेका थिए ।
मैले निरजलाई उठाए । बबी पनि उठ्यो
।
कोठाबाट फुत्त निस्केका थियौँ— टल्किरहेको हिमाल देखियो । विदेशीहरू बारीको डिलबाट
पोजपोजमा फोटो खिज्दै थिए । 
हामीले पनि खिच्यौँ । हिमालको,
सुर्य उदाउँदै गरेको र हाम्रो आफ्नै  । 
केहिक्षणको दृश्यावलोकन गरी होटलपुगिसक्दा
सबै उठिसकेका थिए । 
विकास हरहिसाव क्लियर गर्दै थियो ।
विसम नास्ता प्लस चिया बाड्दै । 
०००००
कलेजको बास्केट कोर्टमा फुटबल खेल्ने सिलसिलामा केटाहरूको
चिम्सो अनुहार देखेर म छक्क पर्थे । 
लाग्थ्यो— 'साला, बेरोजगार पीडाहरू बादल झै आकाशमा उड्न नपाएर झोक्राइरहेका छन् । सबै चाहान्छन् होला—कुनै डाँडाबाट नफक्रिएका
सपनाहरू निस्फिक्री उडाउन', म उसैउसै कल्पिन्थे । 
'यो कोलाहलबाट फुत्त निस्किएर कुनै शान्त ठाउँतिर मौन
तबस्वी झैँ बस्न पाइयोस् जहाँ मन पल्स तन सबै शान्त भइरहोस्' 
'मनका अनेकौँ पीडाहरूलाई डाँडाबाट सिमलका भुवा झैँ सुस्तरी उडाउन
पाइयोस् । र, हल्का बन्दै जाओस् पीडित मन ।' 
यस्तै यस्तै सबै केटाहरू चाहान्थे— 'जहाँ मनका रहरहरू एक अर्कामा
साट्न सकुन् र कम गर्न सकियोस् यो विराट बेरोजगार समयले दिएका अनेकन पीडाहरू ।' 
म चाहान्थे— 'एउटा यस्तो क्यानभासमा प्रवेश होस् जिन्दगी जहाँ
शुन्यतामा समय वितिरहोस्, घण्टौँ सम्म ।' 
म यिनै कुराहरूको खोजिमा थिए । मलाई यस्तै एउटा समुह
चाहिएको थियो जहाँ हजारौँ सपनाहरू एकै ठाउँबाट साटासाट गर्दै उडाउन पाइयोस् मनका
बग्रेल्ती पीडाहरू । 
०००००
झण्डै ८ घण्टाको हिडाइपछि  बल्ल सुन्दरीजल आएपुगेका थियौँ । 
पसिनाले भिजेको कपडासहित दहमा
झ्वाम्म हाम फाल्ने विकास थियो । विकासको डाइभ देखेर निरज पस्यो । बबि नपस्ने कुरै
भएन । म र रमेश मात्र पसेनौ, पौडिन आए पो !
'पौडिन सिकाओ केटा हो ?', मैले सिक्ने
मनसाय देखाए ।  
'जिन्दगीको दहमा पौडिन नसकिरहेको
बेला पानीमा के पौडिन्छौँ, सन्तोष?', दहबाट निस्किदै गम्भिर मुद्रामा विकास बोल्यो
।  
म ट्वा भए— 'के भन्दै छ केटो'
हुनत— 'जिन्दगीको दहबाट पौडिएर सबै केटाहरू पानी झैँ सलबलाउदै सफलताको किनारासम्म
पुग्न चाहान्थे होला ', म एक्कासि कल्पिन पुगे । 
कुनैदिन जिन्दगीको किनारापट्टीबाट सम्झनाको
तरगंहरूलाई सम्झदै केटाहरू फिस्स मुस्कुराउदै भन्नेछन् होला— 'अनगिन्ती
सपनाहरू मनका दहबाट छाल मार्दै झरेथे चिसापानी भञ्ज्याङ्गबाट मिठा यादहरू',  
म यादका दहमा उसैउसै डुब्दै गए । 
र, बेरोजगार सपनाहरू शरिरबाट फुत्त
निस्किदै उसैगरी मन चङ्गा बनाउँदै निस्फिक्री आकाशतिर उडान भर्न थाले । 
म किनारपट्टीको ठुलो सालको रूखमा
छेलिएर दहमा वेफिक्री उन्माद खुशी अनुहारमा छचल्काउदै, डुबुल्कि मार्दै गरेका
केटाहरूको अनुहार हेर्दै फिसिक्क मुस्कुराए र चुरोट सल्काए ।
र, छिनमै चुरोटसँगै मन बटुल्याउदै "चिस्सो
! चिसापानी", "उडान", का मीठा यादहरू त्यहि निभाए । 
| चिसापानी डाँडा (ट्रेकिङ्ग ग्रुप फोटो, व्याच नं. ८८५) | 
| ह्यान्सम केटो (आफु) | 
| दालमोड प्लस चिउरा खादाको मज्जा (खाजा) | 
| हामी चार (दह) | 
| हिड्दा हिड्दै (चिसापानी) | 
| दहमा चुप्लुक्क (केटाहरू) | 
No comments:
Post a Comment