अधिकारको लडाई भन्दै ३ महिनादेखि भइरहेको तराई आन्दोलन
अन्ततः दिल्ली दरबारमा ल्याण्ड हुनपुग्यो । देशको आन्तरिक मामिलामा जस्तोसुकै दलगत
द्वेष-तुष भएपनि बालुवाटर वार्ता कम, लैनचौर हुँदै दिल्ली दौडधुपले मधेश आन्दोलनको
सार्थकतामाथि प्रश्न चिह्न खडा गरेको छ ।
मधेश आन्दोलनका केहि माग जायज छन् । सबै मागलाई नेता, विज्ञ
लगायत नागरिक अगुवाले नाजायज भनेका छैनन् । केहिले केहि मुद्दामाथि उम्लो ठडाए
होलान्, ती वस्तुगत सारका विज्ञ विचार होइनन्, उत्तेजनाका भार मात्र हुन् । तर, आन्तरिक
मामिलामा राज्यको भुमिकालाई विर्सेर, सरकारसँगको वार्ता तथा छलफललाई महत्व नदिएर
दिल्ली दौडिने परिपाटि सार्वभौमराष्ट्र र नेपाली जनभावना विपरित कार्यलाई न
तराइवासी आन्दोलनकारी नेपालीहरूले नै स्वीकार्छन्, न पहाड-हिमालका नेपालीहरूकै
लागि स्वीकार्य छ । हो, तराईका केहि जायज माग र पीडाहरू छन् । समाधान गर्ने
बालुवाटार टेवल टकबाट हो, दिल्ली दौडधुपबाट होइन ।
नाकाबन्दीले देश ग्रसित छ । लाखौँ विद्यार्थीहरूको भविष्य
धरमरको स्थितिमा पुगिसकेको छ । जताततै अभाव र समस्याहरूको आवाज गुञ्जिरहेको बेला
सारा नेपालीहरूको आशा तथा मधेशी दाजुभाईहरूकै आत्मालाई लत्याइ दिल्ली दौडिनु उचित
हैन । आन्दोलनका प्रतिनिधित्व गरेका महन्थ ठाकुर लगायतका नेपाहरूले दिल्ली
वार्तामा भएको वास्तविकतालाई सारा तराईबासिमाझ जानकारी गराउनुपर्छ । कुन
हकअधिकारका लागि महन्थ ठाकुर लगायतका नेता दिल्ली उडे? नत्र यिनीहरूको लडाई
तराबासीको हक, अधिकारको लागि नभई शत्तासिनको लागि लिडे दौड प्रतियोगितामै सिमित
नहोला भन्न सकिदैन् ।
पटकपटक भारतीय नेता भन्दै छन्— तपाइहरूको आन्दोलन आन्तरिक
हो, मिलाउनुहोस् । यदि आन्तरिक मामिला हो भन्ने जस्तोसुकै मुल्यमा सरकार र
आन्दोलनकारीबीच वृहत बहस गरी मधेश आन्दोलनलाई सम्बोधन नगरी लिडेरूपमा दिल्ली उडन
किन? के छ दिल्लीमा जो बालुवाटारमा छैन, हुँदैन । यदि अधिकारको लडाई ह भने अधिकार राज्यले दिने-लिने हो, दिल्लीले
होइन । हाम्रा सरकार तथा मधेश आन्दोलनकारी तथा नेतागणहरूले यो साधारण सत्य बुझ्न
जरूरी छ । राज्य र तराईबासीबीचको मनोवैज्ञानिक दुरी कम गरेर समस्याको समाधान चाँडो
सुल्झाउन बालुवाटार दौडिने यत्न गरौँ महोदय । कतिदिनसम्म तराई लगायत पुरै देशलाई
बन्धक बनाई समस्याको जर्जरमा राख्ने ? के तराईमात्र हक अधिकारले बञ्चित भएको हो?
के पहड-हिमालका आफ्नै कथा-व्यथा छैनन् । हो, तराईले केहि पीडा सदियौदेखि भोगेको छ
। उसो त १२८ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरूलाई तराईक्षेत्रको
हक, अधिकार र पहिचानको महत्व नहोला? आन्दोलन गर्ने महन्थ ठाकुर लगायत सबै नेताहरू
गत निर्वाचनमा हारेकाहरूबाट मात्र संविधानका विविध पक्षमा असहमति र अधिकारबाट
बञ्चित भएको क रा मुखरित हुनु जायज होइन । तराईको लडाई महन्थ ठाकुर लगायत आन्दोलन
समर्थन गर्ने मधेशी नेताहरूको मात्र होइन, सो क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरूको
पनि हो । यसर्थ, जायज तराईबासीहरूको मागलाई वार्ता संघर्षबाट सम्बोधन गर्ने
वातावरण बनाउदै सरकार तथा आन्दोलनकारी दुवै लचक हुन जरूरी छ । वार्तामा आउनु अगावै
मेरो गोरूको बाह्रै टक्का नगरी माननीयज्यूहरू ! देशलाई निकास दिनुपर्छ भन्ने अठोट
बोकेर बालुवाटार दौडौ र सरकार पनि तराई झर्नु जरूरी छ । साच्चै, तराईका नेपाली
दाजुभाई दिदीबहिनीहरूको हक, अधिकार तथा पहिचान लगायत सदियौदेखि राज्यबाट हेपिएका,
मिचिएका, चेपिएका हुन र समाधानको बाटोतिर लाग्ने हो भने बालुवाटार छिर, दिल्ली
दरबार होइन ।
प्रकाशितः- पाठकमञ्च, कान्तिपुर (२०७२/८/२३)
No comments:
Post a Comment