"शिक्षा जीवनको सार हो", बकाइनाको सिर्कनाले तर्साउदै
सरले सबैलाई रटाए ।
मैले कुनापट्टीबाट चिम्सो आँखा तन्काउदै बोर्डमा लेखेको बाङ्गाटिङ्गा अक्षर सानो
स्वरमा सुस्तरी पढे ।
सर चिच्याउँदै हुनुहुन्थ्यो—
"हो, शिक्षा जीवनको आधार हो र हौँ तिमीहरू आधार यो देशको र
भविष्यको ।"
पढाइको निर्धो फुच्चे, एकाएक काला दात देखाउँदै ङिच्च हास्यो ।
म पनि फिस्स मुस्कुराए उसका काला दात देखेर ।
पछाडिबाट कोट्याउँदै मसिनो स्वरमा उसले अचानक जटिल प्रश्न गर्यो—
"देश र भविष्यको आधार हामी कसरी भयौँ ? शिक्षा जीवनको सार कसरी भयो ?"
फुच्चेको अप्रत्यासित प्रश्न सुनेर म निकैबेर ट्वा भए ।
मलाई न फुच्चेको प्रश्नको उत्तर आउथ्यो । न "शिक्षा जीवनको सार हो,
होइन", थाहा थियो ।
मलाइ यत्ति थाहा थियो—
वाल्यावस्थामा स्कुलमा सबैभन्दा बढी मिल्ने साथि भने ऊ पक्कै थियो ।
०००००
२५ वर्ष पछि...
मैले व्यवस्थापनमा डिग्री पास गरे ।
फुच्चेले खाडीमुलुकबाट अनगिन्ती भोइगाइ र बुझाइहरूले जिन्दगी, समाज र देशलाई
हेर्ने व्यवहारिक सोचमा पास गर्यो ।
विश्वविध्यालयले मेरो हातमा सर्टिफिकेट थमाइदियो ।
कम्पनीले उसको हातमा थोपाथोपा पसिनाको पैसा थमाइदियो । देशले परदेशीनुको अर्थ
।
ऊ विदेशबाट फर्किएर गाउँमै बाख्रापालन गर्दै छ । पुराना विर्सिएका मठमन्दिर मर्मत
गर्दै छ । भत्किएका पाटी, पौवा र चौताराहरू बनाउँदै छ । मर्मत गर्दै छ— उसैउसै पुरिएका
कुवाँ, धाराहरू ।
"हामीले गाउँमै केहि पौरख गर्नुपर्छ", ऊ गाउमै केहि गर्न सकिने
सपना युवाहरूलाइ देखाउँदै छ ।
सुन्दैछु— "ऊ खाडीमुलुकबाट भोगाइ र बुझाइका अनगिन्ती डिग्री लिएर फर्केको छ
।"
०००००
म शहरमा छु । पढ्दै छु । वर्षमा एक-दुइपटक गाउ जान्छु । सरर एकपटक गाउ डुल्छु
अनि फर्किन्छु ।
शहरको दैनिकी उस्तै पुरानो छ, विर्सिएका पुराना गाउँका पुराना दुःखका कथा जस्ता
।
डिग्री हातमा लिएर भौतारिएका हज्जारौँ युवाहरूको दुर्दशा चोकचोकमा छ । म
उसैउसै रूमल्लिरहेको छु, यतैकतै विर्सिएका पुराना गल्लिहरू झैँ ।
"डिग्री बिक्रीमा", कसैले कतै इन्जिनियरको डिग्री (सर्टिफिकेट)
बिक्रीमा राखेको सुनेको थिए । देशको स्थिति देख्दा साच्चै हो कि झै मनमा पर्छ ।
खैर नहुन पनि सक्छ तर वास्तविकता त्यस्तै छ ।
चोकचोकका च्यादोकानहरूमा वेरोजगार अनुहारहरू अक्षरको बिल्ला चुरोटको धुवासँगै उडाइरहेका
छन् । र, उडाइरहेका छन्— डिग्री जिन्दगी ।
कैयौ डिग्रीहोल्डरहरू खाडीमा जान बाध्य हुँदैछन, गइरहेका छन् ।
म पनि त एकदिन जान बाध्य हुनेछु । गर्व त मलाई पनि छैन् डिग्री पास गरेकोमा ।
हिजो भर्खर ४१ औँ दिक्षान्त समारोहमा स्कार्फमा फोटो खिचाए । फेसबुकमा राखे । बाधाइ
ओइरियो ।
"बाआमा गाउतिर धन्य भए रे !", फोनमा कसैले सुनायो । तर, म मनमनै
धन्य हुन सकिन ।
बा'ले गाउँबाट बुझेको डिग्री र मैले शहरमा बुझेको डिग्रीको यथार्थ फरक छ ।
डिग्री पास गरेर मैले अक्षर चिने । आफ्नै देश चिन्न सकिन । देशले पनि कहाँ चिन्न
सक्यो र मलाइ ?
देशमा रोजगारीको अवसर छैन । पेट्रोल छैन । ग्यास छैन । हरेकथोकको हाहाकार छ ।
वर्तमान र भविष्य दुवै अन्धकार छ।
०००००
उबेला बाले थोरै पढे । तर, धेरै पढे— भोगाइहरू ।
गाउँले जीवन पढे । र, पढे— पाखापखेराका जिन्दगीहरू ।
आमाले चुलोचौका पढ्नुभयो । गाइगोठमा भैसी, गाइबाख्राहरूको संगत पढ्नुभयो ।
गाउले भोगाइहरू पढ्नुभयो । र, जिन्दगीको अर्थ घाँस दाउरामा देख्नुभयो र उसैगरी
बुझ्नुभयो ।
बा-आमाले उसैगरी उस्तै गाउले जीवन पढाउन चाहनु भएन । र, मलाइ पढ्न पठाए शहर ।
मैले शहरबाट "क,ख,ग.." र "A, b,c, d.." पढे । देश पढिन । इतिहास पढिन
। गाउँ पढिन । बा-आमाको भोगाइहरू पढिन ।
मैले सगरमाथाको उचाइ पढे । बुझाइको उचाइ पढिन । अक्षरको सार पढिन । सीप सिकेर
गर्ने अवसर पढिन ।
गौतम बुद्ध जन्मेको थाहा पाए ।
थाहा पाए— पृथ्वीनारायण शाहाको बहादुरी । लुम्बीनि थाहा पाए । थाहा पाए— अनेकौँ ऐतिहासिक
मठमन्दिर र दरबारहरू । हिसाब थाहा पाए । अंग्रेजी थाहा पाए । साहित्य र विज्ञान पनि
थाहा पाए । तर, कहिल्यै थाहा पाइन— "गाउका पुराना ती विर्सिएका मन्दिरहरू । मेरै
बा-आमाको गरिबी र कहिल्यै थाहा पाइन दुर्गम दुःखहरू ।
मलाइ पढाइएन— गाउले जीवनका व्यथाहरू । नेपाली गरिब हुनाको कारण । नेपालीहरू परदेशिनुको कारण । नेपालमै सम्पदा,
संस्कृति, प्रकृतिको सम्भावना, व्यवसायिकता र व्यापार ।
अरू नै पढाइरहे । मैले पढिरहे— "सिकेका ज्ञानहरू कसैले खोस्न सक्दैनन्
।" र त मैले ज्ञानका अक्षरहरू चिनिरहे, सिकिरहे र पढिरहे ।
मैले कहिल्य सिक्ने यत्न गरिन पुस्तका अक्षर बाहेकको समाज ।
मैले कहिल्य सिक्नै पाइन— सिपमुलक शिक्षा, विषयगत सार र जिवन भोगाइका अर्थ ।
बस्— मैले त भविष्य बनाउने तरिका २४ घण्टा रटिरहे ।
उसैगरी भविष्य कै लागि फुच्चेले पनि खाडीमुलुकमा शरिर घोटिरह्यो ।
हो— आज उसले भोगाइ र बुझाइको डिग्री बोकेर बनाउँदै छ रे विर्सिएको पुरानो आफ्नै गाँउ ।
यसै साल मैले पनि त विश्वविध्यालयबाट डिग्री पास गरे ।
हो, बा मैले डिग्री गरे । अब, केहि दिनपछि म भने खाडीमुलुक जादैछु...
No comments:
Post a Comment