Friday, August 2, 2013

रूप्पे जिन्दगी

पैलो क्याफे बसाइमै प्रश्न तेर्साइन् उन्ले-

'एक अंगालो'

यता पहिलोपटक काप्दै उत्तर उठाए इ ओठले-

'जीन्दगीको',

'जीन्दगी ?',

केहि समय अगाडी यहि क्याफेमा कफि पिउदै गर्दा एक साथिले नाक खुम्चाएथ्यो । जीन्दगीका बग्रेल्ती उत्तरचढाव ओठबाट बग्दैगर्दा ।

आज पुनः एकपटक सोचमग्न हुनपुगेथे । उन्का तर्सिला जीन्दगीका प्रश्नहरू सुनेर । मसँग जीन्दगीका उपयुक्त उत्तर छैनन् रे !  -उनी भन्दै थिइन ।

'कस्तो जिन्दगीको बाटो नभएको मान्छे ?'

'लक्ष्य पनि छैन ?'

'छ्या ! जीन्दगी नबुझेको मान्छे' - तेस्रो डिभिजनतिर धकेल्दै बोलिन् । अन्ततः उन्ले सोधेका जिन्दगीका प्रश्नहरूमा म कनेर थोत्रो डिभिजनमा पास हुनपुगे ।  

मलाइ थाहा छ-
अर्काले बनाएका जीन्दगीका बाटोहरूका गन्तव्य निश्चित छ । हिडे कतै न, कतै पुगिन्छ । गफ दिन पनि सजिलै हुन्छ तर, यस्तो मोडमा उभिन पुगिन्छ एकदिन । न आफैले बाटो बनाउन सकिन्छ । न अर्काले बनाएको जीन्दगीका बाटाहरूमा राम्रोसँग हिड्नै सकिन्छ । गफ त परको कुरा ।

'तुर्लुङ्ग तुलोमा झुण्डिन्छ जिन्दगी । न यता मोडिन सक्छ । न उता ।'
 
'कसलाइ थाहा हुन्छ ?'

व्यक्तिपिच्छे जिन्दगीका परिभाषा । व्यक्ति आफैले नभनेसम्म । हो, म खुलेर बोल्न सकिन त्यसदिन ।

उन्को सामु ओठ आत्तिएर हडबडाएका थिए । सुनाउन जिन्दगीको आफ्नै परिभाषा । तर, सुनाउन असक्षम रहे । ओठ कापेर अन्तै मोडियो । फेल भए वा पास, 'म' वा 'जिन्दगी' । मैले त्यो भेटको कपि चेक गर्ने प्रयत्न गरिन ।   

तर आज सम्झेर अर्को कापिमा कोर्दै छु । उन्लाइ सुनाउने जिन्दगीको परिभाषा । आखिरी यहि थियो । उन्ले सोधेको प्रश्नका, म भित्र लुकेको जिन्दगीका मौलिक परिभाषा ।
०००००

शुक्रबारको दिन । कार्यालय ३ बजे तुरियो । झोलाटिपी निस्किए पुर्वी गेट, - 'ट्याम्पु चढ्न' । जानु थियो एउटा कार्यक्रममा । टक्क उभिए गेट छेवैमा । गेटै अगाडी एउटा पुलिसदाइ उभिएथे । ऊ सिंहदरबारलाइ एकसुरमा टहल्दै थिए । म यता ट्याम्पु आउने बाटातिर नियाल्दै थिए ।

अचानक मनले सोच्यो - 'साला, जिन्दगी उभिनु पनि रे'छ ।' उभिएरै वित्छ । कत्ति जिन्दगीका क्षणहरू त ?

...'ह्या, वाइयात !'

'जे पाए त्यहि सोच्छ, यो गाण्टे दिमागले । दिमाग आफै चिमोटियो ।'

सिंहदरबारको टुप्पोमा फरफराइ रहेको झण्डा घण्टाघरलाई चुम्न खोज्दै गरेको देखिन्थ्यो । त्यतै हेरेर एकछिन टोलाए । म त्यसैगरि जिन्दगीलाइ चुम्न चाहन्थे । तर, जिन्दगी मेरो ओठ देखी टाढा भाग्थ्यो ।

केहि छिनसम्म पर्खिए । ट्याम्पु आएन । हानिए नेपाल भारत लाइबेरीतिर । खुट्टे लेफ्टराइटमा सवारी भइ ।

'एकछिन कार्यक्रममा बसे । दुइ अग्रजका घतलाग्दा कुरा सुने ।'

'सुन्नु पनि जिन्दगी रे'छ ।' धेरै क्षण त सुनेरै वित्छ । मनमनै सोचे ।  

...'ह्या, वाइयात !'

'जे पाए त्यहि सोच्छ, यो गाण्टे दिमागले । दिमाग आफै चिमोटियो ।'

खैर, सुनेरै जिन्दगी शुरू हुन्छ । बुझिन्छ । बुझपचाइन्छ । अनि, उडाइन्छ । जीन्दगी त के उडान सकिन्थ्यो ? समय । म मनमनै गम्दै थिए ।

...'ह्या, वाइयात !'

'जे पाए त्यहि सोच्छ, यो गाण्टे दिमागले । दिमाग आफै चिमोटियो ।'

घडिले पाँच बजायो । न्युरोड बाटोमा हिडेका मान्छेका हुलमा हेलिए । बचेर बानेश्वर उत्रने सोच्दै थिए । फोन बज्यो । उठाए ।

साथिको रे'छ-‍

'शुक्रबार केटा । कुनै फिल्म नियाल्ने होइन ? रोमान्टिक सुनियो ऊ आज ।

'अँ नियाल्ने ।' उसो भा निस्की क्यू.एफ.एक्सतिर । यतै छु । मैले बोलाए ।

केटो सातौ तल्लामा फिल्मका पोष्टर टहल्दै रे'छ । म इ छु । कता छ'स । कुरो टुंग्याउदै फोन काट्यो ।

'ए हो र ?' भन्न पनि पाइन ।

'मान्छे पन्छाउदै दौडिए क्यू.एफ.एक्सतिर ।

स्वाँस फुलेर आयो । सोचे, दौडनु पनि जिन्दगी रे'छ । कत्ति क्षण त दौडेरै विते ?

...'ह्या, वाइयात !'

'जे पाए त्यहि सोच्छ, यो गाण्टे दिमागले । दिमाग फेरि आफै एकपटक चिमोटियो ।'
  
खुट्टा फत्रक गले । पुलमुन्तिर टक्क उभिए । अलि वोरै थिए । कुदे फेरि वेतोडले । खुट्टा उचालिन नपाउदै फेरि फोन बज्यो । उठाए । उसैले गरेको रे'छ ।

'हैन, केटा ! धेरै समय लि'स त' - ऐल्य भने केटो चर्कियो ।

'बँच्नु त पर्यो'

केटोलाइ झुक्याए । लङ्ग वाथरूममा छु । निस्किहाले ।

सातौ तलामा उक्लिदा अर्को साथि टुप्लिसकेको थियो । हल प्याक । डि.डे हेर्न अफर गर्यो । दुवै साथि भाग मिल्का भाग नमिल्ने भए अरू नहेर्ने अडानमा रोक्कियौँ ।

आखिरी फिल्म हेर्नु पनि जिन्दगीको एउटा रमाइलै पाटो रे'छ । कोहि जीन्दगीका पाटाहरूमा कलात्मक र जीवन्त फिल्म फलाउँछन् । त्यहि फिल्म हेरेर उल्टै हलबाट जीन्दगीको पाठ सिकेर कोहि निस्कन्छन् । अचम्मै छ जिन्दगी । म मनमनै गमे ।

भित्ताका पोष्टर टहल्न थाले । फरहन अख्तरतिर ध्यान खिचियो । मलाइ छुन पोष्टरबाट निक्लन थाले झैँ लाग्यो । टल्किएका दाँत सामु कठ्याग्रिएका मुस्कानमा ऊ कुद्दै गेरेको पोजमा देखिन्थ्यो । भर्खर बाटामा म कुदे जस्तैगरी ।

लास्टाँ फोक्कट कद्नु मात्र पर्यो । फिल्म हेरिएन ।

ऐल्य भने मन नमज्जाले च्वास्स चिमोटियो - 'साला, जीन्दगी पनि फोक्कट नइ हो कि क्या हो ? यता कुद्यो, उता कुद्यो---लास्टाँ केइ न केइ !
०००००

उहि पुरानो चोक । गफ ओराल्ने, गफ कोथर्ने । सुनौटे टन्नै छन् चोकमा । जहाँ, जता-जो भए पनि सामेल हुनआइपुग्छन् ।

पछाडि इडियट बस्ने भवन छ । संविधान सभा । अगाडी दुइवटा चिया दोकान । चिया पिउन हतारिदै छन् मान्छेहरू । कोहि सल्काउन आतुर छन् जिन्दगी । उडाउन आतुर छन् सेता डाँठका धुवा ।

पानीट्यांकिले छोएको आकाश हेरेर स्वर्गका कुरा हाक्ने प्रशस्तै छन् । शहर । नेता । व्यापार । परिवार । पढाइ । जागिर । सबै-सबै । मुखमा रसिला शब्द झुण्डिएको छ यतिखेर ।  

फ्याट्ट त्यतिनै बेला विपिले भनेको वाक्य सम्झिए - 'सामान्य घर चलाउन सक्नेले देश चलाउन सक्छ' । देश त के ? संविधान बनाउन सकेनन् इ नाथेहरूले । भवन देखेर विनाफोक्कट एक्कासि रगत उम्लियो ।

कसरी बनाउथे ? ७५ जिल्लाबाट, कोहि काइला । कोहि साने । कोहि कार्किबारे काका । बढबा । ठुलाबा । बुबा । हजुरबा । आदीइत्यादी आइपुगेथे ।

त्यतिनै बेला गाँऊका संसद काकालाइ सम्झिन पुगे ।

संसद भ'का गाउँका काकालाइ काकिले जहिल्यै हपार्थिन् । इ कानले झण्डै एक मुरी जत्ति गालि सुने होलान् । ती काकाले राम्रोसँग घर त के ? जीन्दगी कै भर थेन् । धन्न काकी बाठी । जेनतेन धानेकै थिइन् ।

'छोरा मान्छे जस्तो बन्नु नी व्यवहारमा । के सारो फिरन्ते भ'का । कुरा ओथर्यो । चुरोट सल्कायो । कोरम पुगे तास फिट्यो ।' - काकि सँधै डिलबाट कराउथिन् ।  

काकाले जानेका एउटै गतिलो काम थियो - 'गफ दिने'

गाउँका नेता भन्थे । हेर्दाहेर्दै जिल्लाका नेता भए । पछि ससंद । सबै जिल्लाबाट काका जस्तै त भेला हुन आइपुगेथे होला । ऐल्य भने मैले नसुहाउँदो अड्कल काटे । अनि क्यारी बनाउथे देश ? क्यारी बनाउथे संविधान ?

तहि भ'र इडियट भेला हुने भएकाले । साथिहरूले ठाउको नाम जुराइदिए 'इडियट चोक' । इडियट नाम लिनासाथ सर्कलका साथिहरू टुप्लुक्क आइपुग्थे ।

आजपनि सर्कलका सबै भेला भए । भेला हुनु पनि जिन्दगी नै रे'छ । ६ जना भइ त गयौँ ।

चुरोट र चिया सकिदै गए । गफ बाक्लिदै । एउटा साथिले फ्याट्ट सोध्यो - 'केटा हो, जिन्दगी के रे'छ त ?'

सबै एकअर्कातिर फर्किएर - 'एकछिन ट्वा !'

एउटा कुर्नै सकेन । शब्द छाटिहाल्यो - 'जीन्दगी टेष्ट रे'छ' । सानामा था' भएन । जे अगाडी आउथ्यो, ह्याप्दै हिडियो । अहिले यसो सम्झन्छु, 'स्वाद' पो रे'छ । पढाइको स्वाद । जिम्मेवारीको स्वाद । व्यवहारको स्वाद । प्रेमको स्वाद । मिठो, नमिठो जे भएपनि चाख्दै हिड्नुपर्ने ।

पानि ट्वांकि नाघ्दै उडेका बादल नियाल्दै सोचे - 'जीन्दगी के का स्वाद हुन्थ्यो । मान्छे स्वादी भए' । भित्रभित्रै गम्दै थिए । अर्कोले औलो तेर्साउदै बोल्यो-


'स्यान्ट्रो के रे'छ जिन्दगी?'

उत्तरै भएन । के भन्ने, भन्ने ? एकछिन अलमल्ल परे । जिन्दगीको उत्तरै नहुदो रे'छ । खालि प्रश्न मात्र । कति प्रश्न मात्र हुन् ? उत्तर आफै खोज्नु पर्ने । के सबैले खोजेका ती उत्तर, जिन्दगी नै हुन त ?

दरै गएछ क्यारे ! एउटा कुरा काट्दै बोल्यो - 'स्यान्ट्रोका दिमाग बादल माथि उड्यो' । यसलाइ इडियट चोक फिर्ताउन गुलेलीले हान्नुपर्छ' । म झस्किए ।

अर्कोले सोध्यो - 'तै भन न तँ,

'जिन्दगी के रे'छ ?'

तात्तिदै बोल्यो - 'जिन्दगी खोज रे'छ' । खोज्दा खोज्दै बितिन्छ । यी आजै खोजे केटाहरूले जिन्दगीको परिभाषा ।
०००००

दुइटा साथि ग्रुपमा अलि तुलनात्मक बुझक्कड थिए । जानिटोपलिएका । ठमठम्ति परिभाषा दिन थाले जिन्दगीका । ओशोले यसो भन्थ्यो । धर्मले यसो भन्थ्यो । फलानोले यसो भन्थ्यो । मलाइ यस्तो लाग्यो...ब्ला; ब्ला; ब्ला ।

के भने, भने; बुझ्नै सकिन ।

अनि मन मनै गमे - 'नबुझ्नु पनि जिन्दगी नै रे'छ' ।

साथिहरूसँग छुट्टिएपछि गम्दै बाटामा हिड्दै थिए । गाण्टे दिमागले फ्याट्ट उत्तर भेट्यो - 'आजको जिन्दगी त जम्मा १२५ रूप्पे रे'छ ।'
- ३ खिल्लि चुरोट 
- ७ कप चिया  
- साथिभाइ भेटघाट
- गाडिभाडा
- कार्यालय
- खाना र खाजा खर्च  
- र, अन्य

यसरि नै दिन वित्छ । हप्ता । वर्ष । युग र जिन्दगी पनि ।

कतै सुनेथे -
'बुझेर बुझिनसक्ने '
'खोजेर खोजिनसक्ने'
'जिएर जिइ नसक्ने'
जिन्दगी यहि हो । गज्जप लागेथ्यो सुनेर ।

यहि लाइन मनमनै उच्चारण गर्दै कोठा पुगे । एकछिन ढल्किएर आँखा चिम्लिन खोजे । आँखा चिम्लिनै मानेन् । केहिछिन फेसबुकमा झुल्किए । अस्ताए । फेरि ढल्किए खाटमा । के रे'छ त जीन्दगी ? घोत्लिए ।

गाठ्ठे ! कन्दा कन्दै -
महिनाको जिन्दगी पो कोरे । विवरण तयार भयो । भोलिपल्ट इडियटमा हाजिर भएका ना'थे केटाहरूलाइ सुनाए । एक महिनाको जिन्दगीः  
- १८७ खिल्लि चुरोट
- १२५० कप चिया
- १८ वटा वियर
- १७ पुस्तक (पढिएछ)
- गाडिभाडा, घरभाडा
- साथिभाइ भेटघाट
- कलेज
- १० देखि ५ कार्यालय ।
- अन्य !

ल केटा हो । शहराँ यहि रे'छ जीन्दगी । जे जति छ, रूप्पे । रूप्पे जीन्दगी । जीन्दगीका बारे यो भन्दा ठुला परिभाषा छैनन् म सँग । सुनेर, हाँसे केटाहरू एकछिन । पानी ट्यांकि मास्तिर उक्लिदै फिजारिएका बादल झैँ अनुहारमा एक झोक्का हाँसो मैले पनि फिजाए । अनि सोचे - 'सबै भुलेर हाँस्नु पनि जीन्दगी रे'छ ।'

थुइक्क,
त्यसदिन मुस्कुराउँदै उन्लाइ यत्ति भन्दिएको भए - 'जिन्दगीले अर्कै मोड लिइ, अर्कै परिभाषा बुन्थ्यो कि ?' बादलतिर हेर्दै, मन आकाशतिर बहलाए ।

'किनकी, रूप्पेबाहेकको जीन्दगी, अर्को जीन्दगी देखेकै छैन् मैले ?'

 सन्तोष पौडेल - सन्तु 

No comments:

Post a Comment