Monday, December 21, 2015

राज्यले भूमिका बिर्सन हुन्न

नक्कली भुकम्पपीडित बढेको समाचार दुखद हो । सुखद त राज्यको लज्जा यसमार्फत उदाङ्गिनु पनि राम्रो होइन । भुकम्पपोत्तर तथा पुननिर्माण प्राधिकरणको कार्ययोजना तथा प्रणालिमाथि अब प्रश्न उठ्नु स्वभाविक हो । जनताले भुकम्पपीडितको गलत तथ्यांक प्रेषित गरे, गलत कार्य हो । मतमतान्तरको कुरै रहेन  । तर, तीनै जनताबाट कर असुल्दै आएको राज्यले विगत केहि दशकदेखि त्यस्तो के सेवासुविधा दिदै आयो ? गाउँगाउँमा के योजना लगियो? जनता किन कठिन जीवनयापन गर्न बाध्य छन् । भाषण बाहेक गाउँ छिर्दा नेतासँगै के पुग्यो । उत्तर स्पष्ट छ ।

केहि हप्ताअघि पत्रपत्रिकामै पढियोमन्त्रीको आसेपासे भुकम्पपीडित कोटामा विदेश गए । पढ् गए । घुम्न गए । जान चै गए । विगत केहि वर्षदेखि समचारहरु आइरहेसांसद रातो पार्सपोर्ट खदिविक्रिमा समातिए । किर्तेकाम गर्दागर्दै विशिष्ट पदाधिकारीहरु कार्यालयबाटै समातिए । देशको आमुल परिवर्तको विगुल फुक्ने केहि नेताहरुलाई अख्तियारले शंकास्पदको सुचना पठायो । पालमुनि बसेकाहरुको लागि आएको विदेशी रकम थन्किए र हराए । पेट्रोल, डिजेल, ग्यास लगायतका इन्धनको सामानहरु डिसिस्टम कालो सञ्जालबाट बजारमा ल्याइयो । आयल निगम कमिशनको विटो निमोठ्दै घायल निगम बन्यो । अख्तियारले प्रमुखलाई छानविनको पत्र पठायो । भन्सार कार्यालयकै मिलेमतोमा तस्करी भएको थाहा हुनआयो । अनुदानको तेल छिरेको केरुङ्ग नाका समेत अछुतो नरहेको समाचार आइरहे । सशस्त्र प्रहरी प्रमुख आइजिपी किर्ते कार्यबाट निलम्बित भए । अब्बल विद्यार्थीहरुलाई राजनीतिमा लाग्न डा.सापले नक्कली आश्वासन छरे । भुकम्प गएको यतिका महिनापछि पालमुनि बासको दर्दनाक जीवनकथा पत्रपत्रिकामा छ्यालब्याल भए । सक्कली प्लस पछि बढेर नक्कली भनिएका भुकम्प पीडितहरु बढ्दो चिसो र नकाबन्दीको चेपमा नुनचामाल जोहोमै कठ्याङ्ग्रिए । सरकार प्रमुख बारपाकको भुकम्प पीडित बस्तीमा पुगेर तराईको आन्दोलनकारीलाई चिड्याउने वक्तव्य फ्याकेर बालुवाटारको न्यानो सिरक ओड्न आइपुग्यो । अब मनन गरौनक्कली कार्य गर्ने को ? उत्तर सम्भवतः सबैमा विदितै छ


यीयस्तै कार्यहरु संवैधानिक तथा जनसेवामा समर्पित पदधारण गरेका व्यक्तिहरुको गलत तथा कूआचरण, प्रणलीगत त्रुटी र हिजोदेखि देश बनाउछु भन्नेहरुबाट भएको नकरात्मक कार्यहरु सबैभन्दा बढि भागिदार रहदै आएको छ । अब यस विषयमा नयाँ शिराबाट बहस हुन जरुरी छ ।  नेतृत्व तहमा रहेका कैयौ कार्ययोजनाहरु जनता झुक्याउने नक्कली छन्, यो वास्तविक र आजको तीतो यथार्थ हो । जनता बाध्य, लाचारी र हीनताबोधको साँधमा उभिएर दर्दनाक जीवन यापन गर्न बाध्य छन् भने अर्कोतिर यस्ता समाचार आउनु र राज्यले आफ्नो भुमिका बिर्सिनुमा कुनै तात्विक अन्तर छैन । होदेश  संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । आन्दोलन र राजनीतिक संघर्षबाट यहाँसम्मको बाटो बनेकै हो । देशले संविधान पाएकै हो तर विकास र परिवर्तनको बाटो भने खराब प्रणली हुँदै कमाउतन्त्रको जर्जजरताबाट ग्रसित मनोदशाले निर्देशित भएकै हो । अब चेतना भया !






















Wednesday, December 16, 2015

डिग्री

"शिक्षा जीवनको सार हो", बकाइनाको सिर्कनाले तर्साउदै सरले सबैलाई रटाए ।

मैले कुनापट्टीबाट चिम्सो आँखा तन्काउदै बोर्डमा लेखेको बाङ्गाटिङ्गा अक्षर सानो स्वरमा सुस्तरी पढे ।

सर चिच्याउँदै हुनुहुन्थ्यो
"हो, शिक्षा जीवनको आधार हो र हौँ तिमीहरू आधार यो देशको र भविष्यको ।" 

पढाइको निर्धो फुच्चे, एकाएक काला दात देखाउँदै ङिच्च हास्यो ।

म पनि फिस्स मुस्कुराए उसका काला दात देखेर ।

पछाडिबाट कोट्याउँदै मसिनो स्वरमा उसले अचानक जटिल प्रश्न गर्यो
"देश र भविष्यको आधार हामी कसरी भयौँ ? शिक्षा जीवनको सार कसरी भयो ?"
                           
फुच्चेको अप्रत्यासित प्रश्न सुनेर म निकैबेर ट्वा भए ।

मलाई न फुच्चेको प्रश्नको उत्तर आउथ्यो । न "शिक्षा जीवनको सार हो, होइन", थाहा थियो ।  

मलाइ यत्ति थाहा थियो
वाल्यावस्थामा स्कुलमा सबैभन्दा बढी मिल्ने साथि भने ऊ पक्कै थियो ।
०००००

२५ वर्ष पछि...

मैले व्यवस्थापनमा डिग्री पास गरे ।

फुच्चेले खाडीमुलुकबाट अनगिन्ती भोइगाइ र बुझाइहरूले जिन्दगी, समाज र देशलाई हेर्ने व्यवहारिक सोचमा पास गर्यो ।

विश्वविध्यालयले मेरो हातमा सर्टिफिकेट थमाइदियो ।

कम्पनीले उसको हातमा थोपाथोपा पसिनाको पैसा थमाइदियो । देशले परदेशीनुको अर्थ ।

ऊ विदेशबाट फर्किएर गाउँमै बाख्रापालन गर्दै छ । पुराना विर्सिएका मठमन्दिर मर्मत गर्दै छ । भत्किएका पाटी, पौवा र चौताराहरू बनाउँदै छ । मर्मत गर्दै छ उसैउसै पुरिएका कुवाँ, धाराहरू ।

"हामीले गाउँमै केहि पौरख गर्नुपर्छ", ऊ गाउमै केहि गर्न सकिने सपना युवाहरूलाइ देखाउँदै छ ।

सुन्दैछु "ऊ खाडीमुलुकबाट भोगाइ र बुझाइका अनगिन्ती डिग्री लिएर फर्केको छ ।"
०००००

म शहरमा छु । पढ्दै छु । वर्षमा एक-दुइपटक गाउ जान्छु । सरर एकपटक गाउ डुल्छु अनि फर्किन्छु ।

शहरको दैनिकी उस्तै पुरानो छ, विर्सिएका पुराना गाउँका पुराना दुःखका कथा जस्ता ।

डिग्री हातमा लिएर भौतारिएका हज्जारौँ युवाहरूको दुर्दशा चोकचोकमा छ । म उसैउसै रूमल्लिरहेको छु, यतैकतै विर्सिएका पुराना गल्लिहरू झैँ ।

"डिग्री बिक्रीमा", कसैले कतै इन्जिनियरको डिग्री (सर्टिफिकेट) बिक्रीमा राखेको सुनेको थिए । देशको स्थिति देख्दा साच्चै हो कि झै मनमा पर्छ ।  

खैर नहुन पनि सक्छ तर वास्तविकता त्यस्तै छ ।

चोकचोकका च्यादोकानहरूमा वेरोजगार अनुहारहरू अक्षरको बिल्ला चुरोटको धुवासँगै उडाइरहेका छन् । र, उडाइरहेका छन् डिग्री जिन्दगी ।

कैयौ डिग्रीहोल्डरहरू खाडीमा जान बाध्य हुँदैछन, गइरहेका छन् ।

म पनि त एकदिन जान बाध्य हुनेछु । गर्व त मलाई पनि छैन् डिग्री पास गरेकोमा ।

हिजो भर्खर ४१ औँ दिक्षान्त समारोहमा स्कार्फमा फोटो खिचाए । फेसबुकमा राखे । बाधाइ ओइरियो ।

"बाआमा गाउतिर धन्य भए रे !", फोनमा कसैले सुनायो । तर, म मनमनै धन्य हुन सकिन ।  

बा'ले गाउँबाट बुझेको डिग्री र मैले शहरमा बुझेको डिग्रीको यथार्थ फरक छ ।

डिग्री पास गरेर मैले अक्षर चिने । आफ्नै देश चिन्न सकिन । देशले पनि कहाँ चिन्न सक्यो र मलाइ ?

देशमा रोजगारीको अवसर छैन । पेट्रोल छैन । ग्यास छैन । हरेकथोकको हाहाकार छ । वर्तमान र भविष्य दुवै अन्धकार छ।
०००००

उबेला बाले थोरै पढे । तर, धेरै पढे भोगाइहरू ।

गाउँले जीवन पढे । र, पढेपाखापखेराका जिन्दगीहरू ।

आमाले चुलोचौका पढ्नुभयो । गाइगोठमा भैसी, गाइबाख्राहरूको संगत पढ्नुभयो । गाउले भोगाइहरू पढ्नुभयो । र, जिन्दगीको अर्थ घाँस दाउरामा देख्नुभयो र उसैगरी बुझ्नुभयो ।

बा-आमाले उसैगरी उस्तै गाउले जीवन पढाउन चाहनु भएन । र, मलाइ पढ्न पठाए शहर ।

मैले शहरबाट "क,ख,ग.." र "A, b,c, d.." पढे । देश पढिन । इतिहास पढिन । गाउँ पढिन । बा-आमाको भोगाइहरू पढिन ।

मैले सगरमाथाको उचाइ पढे । बुझाइको उचाइ पढिन । अक्षरको सार पढिन । सीप सिकेर गर्ने अवसर पढिन ।

गौतम बुद्ध जन्मेको थाहा पाए ।

थाहा पाए पृथ्वीनारायण शाहाको बहादुरी । लुम्बीनि थाहा पाए । थाहा पाए अनेकौँ ऐतिहासिक मठमन्दिर र दरबारहरू । हिसाब थाहा पाए । अंग्रेजी थाहा पाए । साहित्य र विज्ञान पनि थाहा पाए । तर, कहिल्यै थाहा पाइन "गाउका पुराना ती विर्सिएका मन्दिरहरू । मेरै बा-आमाको गरिबी र कहिल्यै थाहा पाइन दुर्गम दुःखहरू ।

मलाइ पढाइएन गाउले जीवनका व्यथाहरू । नेपाली गरिब हुनाको कारण ।  नेपालीहरू परदेशिनुको कारण । नेपालमै सम्पदा, संस्कृति, प्रकृतिको सम्भावना, व्यवसायिकता र व्यापार ।  

अरू नै पढाइरहे । मैले पढिरहे "सिकेका ज्ञानहरू कसैले खोस्न सक्दैनन् ।" र त मैले ज्ञानका अक्षरहरू चिनिरहे, सिकिरहे र पढिरहे ।

मैले कहिल्य सिक्ने यत्न गरिन पुस्तका अक्षर बाहेकको समाज ।

मैले कहिल्य सिक्नै पाइन सिपमुलक शिक्षा, विषयगत सार र जिवन भोगाइका अर्थ ।

बस् मैले त भविष्य बनाउने तरिका २४ घण्टा रटिरहे ।

उसैगरी भविष्य कै लागि फुच्चेले पनि खाडीमुलुकमा शरिर घोटिरह्यो

हो— आज उसले भोगाइ र बुझाइको डिग्री बोकेर बनाउँदै छ रे विर्सिएको पुरानो आफ्नै गाँउ ।

यसै साल मैले पनि त विश्वविध्यालयबाट डिग्री पास गरे ।

हो, बा मैले डिग्री गरे । अब, केहि दिनपछि म भने खाडीमुलुक जादैछु...


Tuesday, December 15, 2015

पछि होइन, अघि बढौँ

होसंविधान बन्यो, अझै देश बनेन

देश सँधै पीडामै घस्रियो । राजनीतिक अस्थिरताले हामी कसैलाई छाडेन । राज्य देशलाई स्वीजरल्याण्ड बनाउछु भन्दै कर असुल्छ । जनताहरुबाट सबथोक लिन्छ । तर फिर्तामा केहि पनि दिदैन । घरको धारामा प्रशस्त पानी दिदैन । बिजुली दिदैन । ग्याँस, पेट्रोल, डिजेल थोरैथोरै दिन्छ । यातायातको सुविधा भनेजस्तो छैन । सञ्चार क्षेत्रको अवस्था त्यस्तै नाजुक छ । शिक्षाको झन् कुरै नगरौँ ।

केहि महिनादेखिको नाकाबन्दीको मारमा लाखौँ विद्यार्थीको भविष्य अन्धकार हुँदैछ । शिक्षा क्षेत्र नाजुक बन्दै छ । यस्तो परिस्थिति देशमा बन्दैगर्दा नेपाल झन् पछाडि राष्ट्र संघले प्रकाशित गरेको विकास कार्यक्रम प्रतिबेदको समाचार पढेर खासै मन दुखेन । यो स्वभाविक हो र सत्य । एकपटक नेता, वुद्धिजिवी, नागरिक समाज, विद्यार्थी सबैले एकपटक मनन गर्दै सोचौँ नेपाल अगाडि केमा चै छ ?

सबैमा स्पष्ट छदेश बन्द, हड्ताल, लठैतिकरण, अस्थिर राजनीति, दुरुपयोग, भष्ट्रचार, ग्रस्त प्रशासन प्रणाली, नातावाद र कृपावादको समग्रतामा भने अगाडि पक्कै छ । गरिबीको अवस्था दुरदराज र केन्द्र

मा उस्तै छ । भुकम्प गएको महिनौसम्म पनि पिडित पालमै छन् । प्राधिकरण योजना कोर्दै छ । सरकार चाइनाबाट आयातित अनुदानको तेल आसेपासे र आफ्नै कानमा हालेर बसको छ । अति विपन्न र मजदुरीको घरमा चुलो बलेको छैन । १० वर्ष द्धन्द्धले देश सिनित्त पारेर स्वीजरल्याण्ड र बफर स्टेट बनाउँछु भन्दै कुर्लिने डा. साप नयाँ शक्तिमा अभ्यस्त छन् । तराई जाडो याममा पनि बलिरहेको छ । नाकाबन्दीको चिसोले न तराइका नेतालाई गम्भिर बनाएको छ, न सरकारले सकस अनुभुति गरेको छ । सरकार सर्वाधिकार हुँदै जनतालाई समस्याहरुको सञ्जालमा न्याक्दै छ । वर्षौदेखिको अस्थिर राजनीतिक वातावरण र विभिन्न राजनीतिक आन्दोलनले देश निकै समय निमोठिदै आएको छ । विगत केहि वर्षदेखि देशको आर्थिक वृद्धिदर न्यून छ । कृषि क्षेत्र आफै सुकेको छ । पर्यटनमा लगानीमैत्री वातावरण बन्ने आश्वासन कुहिरोमा हराएको काग झैँ बनेको छ । रोजगारीको अवसर छैन भन्दा फरक पर्दैन । शिक्षित वर्ग दिनानुदिन विदेशीने क्रम जारी छ । ब्रेनड्रेनको समस्याले विकराल रुप लिदै छ ।

अब चिन्तन गरौँविगतको यस्तो अवस्थाको मुल्यांकनले नेपाल झन् पछाडि नधकेलिएर तथ्यत रुपमा अगाडि बढ्छ त? जरुर बढ्दैन । होनिश्चित सिमा तथा भुगोलभित्र बसेपछि पक्कै देशसँग आम मानिसको मानवीय जिवनको अपेक्षा, शिक्षा, स्वास्थ्य, राम्रो आम्दानी हुनु स्वभाविक हो । २१ औँ शताब्दिमा चमत्कारी विकासको आयाम विश्वले छुँदैगर्दा हाम्रो देश भने यी कुराहरुमा चुक्दै जानु दुखद कुरा हो । देशले काचुली फेर्छ भन्ने नेताहरुले जनताका यी अत्यावश्यक साधारण आवश्यकता पुरा गर्न नसक्नु लाजैमर्दो र असक्षम नेतृत्वको संकेत हो । सुचकांक र UNDP को रिपोर्ट हेर्ने हो भने देशका मान्छेहरु कसरी बाँचिरहेका छन्, स्पष्ट देखाउँछ । एउटा भनाई छ'हुँदै नभएपछि गुम्नेको के डर ?' यहाँ त प्राकृतिक, सांस्कृतिक, सामाजिक सम्पूर्ण तवरले भरिपुर्ण भएर पनि गुम्ने डर रह्यो यसर्थ, अतिवादको पराकष्टमा देश र जनता कहिलेसम्म ? अब त केहि गरौँ।   
प्रकाशितः पाठकमञ्च, कान्तिपुर (२०७२/९/१)

Saturday, December 12, 2015

कृषिप्रधान देशको बेहाल

भनिन्छ'राज्य व्यापारि भयो भने जनताहरू भिखारी हुन्छन् ।'

हो खुल्ला अर्थतन्त्र भन्दै ब्रह्मलुट गर्ने पुँजीवादि र विकसित राज्यको लागि यो गतिलो पेच हो । तर, तीतो यथार्थ हाम्रो जस्तो देशमा अर्थतन्त्रको मेरूदण्ड ठानिने कृषि क्षेत्रको विकास र विस्तारलाई जोड नदिई 'कृषिप्रधान देश' भन्ने तर राज्य कृषि व्यापारि बन्न उन्मुख नहुने र जनताहरूलाई कृषि भिखारीबाट समुन्नत नबनाउने नीति/कार्ययोजना ल्याउने अल्पविकासित देशमाथिको पनि यथार्थपरक गतिलो झापड हो ।

करिब-करिब ६० प्रतिशत भन्दा बढी नेपालीहरू कृषि क्षेत्रमा आश्रीत भएको देशमा १० अर्बको धान उत्पादन घट्यो समाचारले स्तब्ध बनायो । लामो राजनीतिक अस्थिरता, संक्रमण, विपद र नाकाबन्दी लगायतका समस्यालाई कारकको रूपमा औल्याउने आलटाल परिपाटि उहि पुरानै र दुखद कुरा हुन् ।

कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर र जीडिपीमा ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रले स्पष्ट रूपमा कृषिप्रधान देश भएको बताउछ, त्यसमा कुनै शंकै छैन तर विडम्बना कृषिज्य उत्पादन वार्षिक अर्बौको आयात गर्ने देश कसरी कृषिप्रधान देश भयो ? तथ्यगत विरोधाभास रहदारहदै पनि लाजको सीमालाई कृषिअर्थतन्त्रको पारदर्शि खोल ओढाएर जनताहरूलाई भोकभोकै भकारी हेरेर मुख मिठ्याउने अवस्था सिर्जना हुनुले कृषिप्रधान देश भएको अर्थ्याउदैन् ।

हो, देशमा अपार स्रोत-साधनको उपलब्धता छ । पर्यटनको सम्भावना उस्तै छ ।  उर्वर भुमि प्रशस्त छ तर हलो (प्रविधि), हली (दक्ष जनशक्ति), सिंचाई, यातायात र बजार जस्ता आवश्यक पूर्वाधारहरूको विकास हुन नसक्नुले कृषि अर्थतन्त्र धराशयमा छ । बेरोजगार युवाहरू कृषि उत्पादन र खेतिमा आकर्षित छैनन् तर खाडि मुलुक जाने हतारमा छन् । तर, कृषि क्षेत्रको उत्थान, विकास र विस्तारमा काम गर्दै आएका सम्बन्धीत मन्त्रालय, निकाय लगायत विकास समिति भने भाषण र प्रतिवेदन निकाल्नमै सिमित भएको देखिन्छ । कृषि उत्पादनलाई बजारिकरण, निर्यातमुखि र व्यवसायिक बनाउन जोड दिने, प्रविधिको उच्च प्रयोग जस्ता कार्यलाई ध्यान दिएर वार्षिक १० औँ अर्बको उत्पादन भए बल्ल कृषि प्रधान देश भन्न सहाउथ्यो ।

प्रकाशितः पाठकमञ्च, कान्तिपुर (०७२/८/२५) 

Wednesday, December 9, 2015

दिल्ली होइन, बालुवाटार दौड

अधिकारको लडाई भन्दै ३ महिनादेखि भइरहेको तराई आन्दोलन अन्ततः दिल्ली दरबारमा ल्याण्ड हुनपुग्यो । देशको आन्तरिक मामिलामा जस्तोसुकै दलगत द्वेष-तुष भएपनि बालुवाटर वार्ता कम, लैनचौर हुँदै दिल्ली दौडधुपले मधेश आन्दोलनको सार्थकतामाथि प्रश्न चिह्न खडा गरेको छ ।

मधेश आन्दोलनका केहि माग जायज छन् । सबै मागलाई नेता, विज्ञ लगायत नागरिक अगुवाले नाजायज भनेका छैनन् । केहिले केहि मुद्दामाथि उम्लो ठडाए होलान्, ती वस्तुगत सारका विज्ञ विचार होइनन्, उत्तेजनाका भार मात्र हुन् । तर, आन्तरिक मामिलामा राज्यको भुमिकालाई विर्सेर, सरकारसँगको वार्ता तथा छलफललाई महत्व नदिएर दिल्ली दौडिने परिपाटि सार्वभौमराष्ट्र र नेपाली जनभावना विपरित कार्यलाई न तराइवासी आन्दोलनकारी नेपालीहरूले नै स्वीकार्छन्, न पहाड-हिमालका नेपालीहरूकै लागि स्वीकार्य छ । हो, तराईका केहि जायज माग र पीडाहरू छन् । समाधान गर्ने बालुवाटार टेवल टकबाट हो, दिल्ली दौडधुपबाट होइन ।

नाकाबन्दीले देश ग्रसित छ । लाखौँ विद्यार्थीहरूको भविष्य धरमरको स्थितिमा पुगिसकेको छ । जताततै अभाव र समस्याहरूको आवाज गुञ्जिरहेको बेला सारा नेपालीहरूको आशा तथा मधेशी दाजुभाईहरूकै आत्मालाई लत्याइ दिल्ली दौडिनु उचित हैन । आन्दोलनका प्रतिनिधित्व गरेका महन्थ ठाकुर लगायतका नेपाहरूले दिल्ली वार्तामा भएको वास्तविकतालाई सारा तराईबासिमाझ जानकारी गराउनुपर्छ । कुन हकअधिकारका लागि महन्थ ठाकुर लगायतका नेता दिल्ली उडे? नत्र यिनीहरूको लडाई तराबासीको हक, अधिकारको लागि नभई शत्तासिनको लागि लिडे दौड प्रतियोगितामै सिमित नहोला भन्न सकिदैन् ।

पटकपटक भारतीय नेता भन्दै छन् तपाइहरूको आन्दोलन आन्तरिक हो, मिलाउनुहोस् । यदि आन्तरिक मामिला हो भन्ने जस्तोसुकै मुल्यमा सरकार र आन्दोलनकारीबीच वृहत बहस गरी मधेश आन्दोलनलाई सम्बोधन नगरी लिडेरूपमा दिल्ली उडन किन? के छ दिल्लीमा जो बालुवाटारमा छैन, हुँदैन । यदि अधिकारको लडाई ह  भने अधिकार राज्यले दिने-लिने हो, दिल्लीले होइन । हाम्रा सरकार तथा मधेश आन्दोलनकारी तथा नेतागणहरूले यो साधारण सत्य बुझ्न जरूरी छ । राज्य र तराईबासीबीचको मनोवैज्ञानिक दुरी कम गरेर समस्याको समाधान चाँडो सुल्झाउन बालुवाटार दौडिने यत्न गरौँ महोदय । कतिदिनसम्म तराई लगायत पुरै देशलाई बन्धक बनाई समस्याको जर्जरमा राख्ने ? के तराईमात्र हक अधिकारले बञ्चित भएको हो? के पहड-हिमालका आफ्नै कथा-व्यथा छैनन् । हो, तराईले केहि पीडा सदियौदेखि भोगेको छ । उसो त १२८ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरूलाई तराईक्षेत्रको हक, अधिकार र पहिचानको महत्व नहोला? आन्दोलन गर्ने महन्थ ठाकुर लगायत सबै नेताहरू गत निर्वाचनमा हारेकाहरूबाट मात्र संविधानका विविध पक्षमा असहमति र अधिकारबाट बञ्चित भएको क रा मुखरित हुनु जायज होइन । तराईको लडाई महन्थ ठाकुर लगायत आन्दोलन समर्थन गर्ने मधेशी नेताहरूको मात्र होइन, सो क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरूको पनि हो । यसर्थ, जायज तराईबासीहरूको मागलाई वार्ता संघर्षबाट सम्बोधन गर्ने वातावरण बनाउदै सरकार तथा आन्दोलनकारी दुवै लचक हुन जरूरी छ । वार्तामा आउनु अगावै मेरो गोरूको बाह्रै टक्का नगरी माननीयज्यूहरू ! देशलाई निकास दिनुपर्छ भन्ने अठोट बोकेर बालुवाटार दौडौ र सरकार पनि तराई झर्नु जरूरी छ । साच्चै, तराईका नेपाली दाजुभाई दिदीबहिनीहरूको हक, अधिकार तथा पहिचान लगायत सदियौदेखि राज्यबाट हेपिएका, मिचिएका, चेपिएका हुन र समाधानको बाटोतिर लाग्ने हो भने बालुवाटार छिर, दिल्ली दरबार होइन । 

प्रकाशितः- पाठकमञ्च, कान्तिपुर (२०७२/८/२३) 

Saturday, December 5, 2015

कर्म

हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।   

चरित्र र चित्र दुवैको दृष्य छुटट्याउन आँखाले सक्दैन तर मष्तिष्कले ।

उसैउसै मन अस्थिर छ, पटक-पटक ।

लाग्दैछ जिन्दगी उकालो र ओरालोका दुई गोरेटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका छन् कैयौँ बटुवाहरू ।
०००००

"यो बाटो कता पुग्छ दाई ?", अपरिचित कसैले सोध्छ ।

"कागत्यानी मन्दिर", म छोटो उत्तर दिन्छु ।

"मान्छे किन अलमलिन्छ ?", तत्काल आफुले आफैलाई प्रश्न गर्छु ।

भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु ।

विशाल आकाशमा उड्डै गरेका ठुलठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले कहिल्य नविराउने बाटा र तीनका चालकहरूलाई सम्झिन्छु।

अपार समुन्द्रमा तैरिने ठुल्ठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले नबिराउने बाटाहरू र तीनका क्याप्टेनहरूलाई सम्झिन्छु।

तर, मान्छेले मात्र बेलाबेला किन विराउँछ आफ्नै बाटो ? र, ठम्याउँनै नसक्ने गरी भुल्छ आफ्नै गन्तव्य/लक्ष्यका बाटाहरू  ।   
आजभोलि यस्ता अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक-पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।

एकदिन चियादोकानकै एक दाईसँग जिस्किदै सोधेथे
"मान्छेहरू बेलाबेला किन अनयासै अल्मलिन्छन् र विर्सिन्छन् बाटाहरू?"

मेरो प्रश्नलाई ख्यालै नगरि ती दाई निकैबेर मज्जाले हाँसेका थिए ।

"तिमी मान्छे हिड्ने गोरेटो बाटोको कुरा गर्दैछौँ वा जिन्दगीका लक्ष्यहरूको बाटोको ?", म निकैबेर मौन हुनपुगेथे दाईको प्रतिप्रश्न सुनेर ।

साँच्चि, कुन बाटोको कुरा गर्दै थिए म ।

केहि क्षणको मौनतापछि एकाग्रतालाई चिर्दै "दुवै", मसिनो स्वरमा म बोलेथे ।

भट्टिभित्र रक्सि पिउनु व्यक्तिको अनुशासन हो ? उहाँले मलाई उल्टै प्रश्न गर्नुभयो ।

होला, मैले हो र होइनको बीचमा मुण्टो विस्तारै हल्लाए त्यसक्षण ।

स्मोकिङ्ग जोनमा चुरोटको धुँवा उडाउनु व्यक्तिको धर्म हो ? उहाँले फेरि अर्को प्रश्न गर्नुभयो ।

होला, चुरोटको धुँवा उडाउँदै मैले मुण्टो उसैगरी हल्लाए ।

उसैगरी गोरेटो बाटाहरू बिराउनु पनि मान्छेहरूको नितान्त व्यक्तिगत अनुशासन हो, धर्म हो । यहि अनुशासन र धर्मकै कारणले गर्दा व्यक्ति गन्तव्यको खोजिमा सँधै तल्लिन भइरहेको हुन्छ । र, अन्ततः एकदिन उलसे चाहेको गन्तव्यमा अवश्य पुग्नेछ ।  
ऊ आजै तिमीलाई कसैले गन्तव्य सोधेछ ।  

ऊँहाले भर्खरै उत्तर सुझाउनु भयो वा प्रश्न । तैपनि मैले उसैगरी मुण्टो हल्लाइरहे ।

उहाँ चर्किलो आवाजमा भन्दै हुनुहुन्थ्योमनले इछ्याएको र मनले चाहेको बाटोहरू भने कहिल्यै नभुल्नु । कहिल्यै ती बाटाहरूमा नअलमलिनु । यो तिम्रो अनुशासन र धर्म क्षेत्राधिकार बाहिरको कुरा हो । उहाँ मलाई यसरी भन्दैहुनुहुन्थ्यो मानौँ म जिन्दगीका तमाम् लक्ष्यहरू भुलेर समय बर्बाद गर्दै छु । म आफुले आफैलाई भुल्दै छु । आफ्नो अस्तित्वलाई मेटाउन जाँदैछु ।  
मनले चाहेको लक्ष्यका बाटोहरू भनेको व्यक्ति स्वं भन्दा माथिको धर्म हो, अनुशासन हो । जब मनले इच्छ्याएका बाटाहरू विर्सिएर अरूले इछ्याएको बाटो हिड्न थाल्छौँ । ठान्नु, घनाजंगलहरूमा हराउँदैछु र विनाकारण मेटाउँदैछु आफ्नै अस्तित्व ।

म त्यसदिन दाइको कुरासुनेर ट्वा भए । गोलि लागेर ढलेको लाश झैँ गुपचुप निकैबेर भइरहे ।

ऊहाँ मैले सोधेको प्रश्नमा के भन्दै हुनुहुन्थ्यो, म बुझे झैँ टाउको हल्लाउँदै थिए ।  

कुनापट्टीबाट एक हुल केटाकेटीहरूको आवाजले म झसङ्ग हुनपुगे ।

कुनापट्टी खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटोलाई देखे । लाग्यो ऊ पनि यो अजिबोगरिब दुनियाँबाट आफ्ना तमाम् मनका लक्ष्यहरूलाई भुल्न चाहान्थ्यो । उसको चुरोट तनाईले मलाई उल्टै भाउन्न गराइरहेको थियो । ऊ यति हतारहतारमा धुवाँ पिइरहेको थियो । मानौँ, ऊ मनका पीडाहरूलाई धुँवाका कसले पुर्न चाहान्थ्यो ।

बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा विशुद्ध सोच थियो जुन क्यानभासमा घण्टौँ हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र म पनि थिए ।
०००००

उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक चलाउँदै छिन्, दिदी ।

चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा फुर्को हेरेर रमाइरहेको थिए । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।

साउनी भन्न भुलेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई "दिदी मिठो चिया पिउ" भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु र झसङ्ग हुनपुग्छु— "पाको र अनुभवी त मान्छे कर्मले हुँने रहेछ, उमेर र सोचले मात्र कहाँ भइदो रहेछ ।"  

म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुलठुला सोँचहरूलाई त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै नदिई गुपचुप कोठातिर हानिन्छु ।