Saturday, December 5, 2015

कर्म

हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।   

चरित्र र चित्र दुवैको दृष्य छुटट्याउन आँखाले सक्दैन तर मष्तिष्कले ।

उसैउसै मन अस्थिर छ, पटक-पटक ।

लाग्दैछ जिन्दगी उकालो र ओरालोका दुई गोरेटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका छन् कैयौँ बटुवाहरू ।
०००००

"यो बाटो कता पुग्छ दाई ?", अपरिचित कसैले सोध्छ ।

"कागत्यानी मन्दिर", म छोटो उत्तर दिन्छु ।

"मान्छे किन अलमलिन्छ ?", तत्काल आफुले आफैलाई प्रश्न गर्छु ।

भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु ।

विशाल आकाशमा उड्डै गरेका ठुलठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले कहिल्य नविराउने बाटा र तीनका चालकहरूलाई सम्झिन्छु।

अपार समुन्द्रमा तैरिने ठुल्ठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले नबिराउने बाटाहरू र तीनका क्याप्टेनहरूलाई सम्झिन्छु।

तर, मान्छेले मात्र बेलाबेला किन विराउँछ आफ्नै बाटो ? र, ठम्याउँनै नसक्ने गरी भुल्छ आफ्नै गन्तव्य/लक्ष्यका बाटाहरू  ।   
आजभोलि यस्ता अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक-पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।

एकदिन चियादोकानकै एक दाईसँग जिस्किदै सोधेथे
"मान्छेहरू बेलाबेला किन अनयासै अल्मलिन्छन् र विर्सिन्छन् बाटाहरू?"

मेरो प्रश्नलाई ख्यालै नगरि ती दाई निकैबेर मज्जाले हाँसेका थिए ।

"तिमी मान्छे हिड्ने गोरेटो बाटोको कुरा गर्दैछौँ वा जिन्दगीका लक्ष्यहरूको बाटोको ?", म निकैबेर मौन हुनपुगेथे दाईको प्रतिप्रश्न सुनेर ।

साँच्चि, कुन बाटोको कुरा गर्दै थिए म ।

केहि क्षणको मौनतापछि एकाग्रतालाई चिर्दै "दुवै", मसिनो स्वरमा म बोलेथे ।

भट्टिभित्र रक्सि पिउनु व्यक्तिको अनुशासन हो ? उहाँले मलाई उल्टै प्रश्न गर्नुभयो ।

होला, मैले हो र होइनको बीचमा मुण्टो विस्तारै हल्लाए त्यसक्षण ।

स्मोकिङ्ग जोनमा चुरोटको धुँवा उडाउनु व्यक्तिको धर्म हो ? उहाँले फेरि अर्को प्रश्न गर्नुभयो ।

होला, चुरोटको धुँवा उडाउँदै मैले मुण्टो उसैगरी हल्लाए ।

उसैगरी गोरेटो बाटाहरू बिराउनु पनि मान्छेहरूको नितान्त व्यक्तिगत अनुशासन हो, धर्म हो । यहि अनुशासन र धर्मकै कारणले गर्दा व्यक्ति गन्तव्यको खोजिमा सँधै तल्लिन भइरहेको हुन्छ । र, अन्ततः एकदिन उलसे चाहेको गन्तव्यमा अवश्य पुग्नेछ ।  
ऊ आजै तिमीलाई कसैले गन्तव्य सोधेछ ।  

ऊँहाले भर्खरै उत्तर सुझाउनु भयो वा प्रश्न । तैपनि मैले उसैगरी मुण्टो हल्लाइरहे ।

उहाँ चर्किलो आवाजमा भन्दै हुनुहुन्थ्योमनले इछ्याएको र मनले चाहेको बाटोहरू भने कहिल्यै नभुल्नु । कहिल्यै ती बाटाहरूमा नअलमलिनु । यो तिम्रो अनुशासन र धर्म क्षेत्राधिकार बाहिरको कुरा हो । उहाँ मलाई यसरी भन्दैहुनुहुन्थ्यो मानौँ म जिन्दगीका तमाम् लक्ष्यहरू भुलेर समय बर्बाद गर्दै छु । म आफुले आफैलाई भुल्दै छु । आफ्नो अस्तित्वलाई मेटाउन जाँदैछु ।  
मनले चाहेको लक्ष्यका बाटोहरू भनेको व्यक्ति स्वं भन्दा माथिको धर्म हो, अनुशासन हो । जब मनले इच्छ्याएका बाटाहरू विर्सिएर अरूले इछ्याएको बाटो हिड्न थाल्छौँ । ठान्नु, घनाजंगलहरूमा हराउँदैछु र विनाकारण मेटाउँदैछु आफ्नै अस्तित्व ।

म त्यसदिन दाइको कुरासुनेर ट्वा भए । गोलि लागेर ढलेको लाश झैँ गुपचुप निकैबेर भइरहे ।

ऊहाँ मैले सोधेको प्रश्नमा के भन्दै हुनुहुन्थ्यो, म बुझे झैँ टाउको हल्लाउँदै थिए ।  

कुनापट्टीबाट एक हुल केटाकेटीहरूको आवाजले म झसङ्ग हुनपुगे ।

कुनापट्टी खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटोलाई देखे । लाग्यो ऊ पनि यो अजिबोगरिब दुनियाँबाट आफ्ना तमाम् मनका लक्ष्यहरूलाई भुल्न चाहान्थ्यो । उसको चुरोट तनाईले मलाई उल्टै भाउन्न गराइरहेको थियो । ऊ यति हतारहतारमा धुवाँ पिइरहेको थियो । मानौँ, ऊ मनका पीडाहरूलाई धुँवाका कसले पुर्न चाहान्थ्यो ।

बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा विशुद्ध सोच थियो जुन क्यानभासमा घण्टौँ हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र म पनि थिए ।
०००००

उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक चलाउँदै छिन्, दिदी ।

चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा फुर्को हेरेर रमाइरहेको थिए । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।

साउनी भन्न भुलेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई "दिदी मिठो चिया पिउ" भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु र झसङ्ग हुनपुग्छु— "पाको र अनुभवी त मान्छे कर्मले हुँने रहेछ, उमेर र सोचले मात्र कहाँ भइदो रहेछ ।"  

म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुलठुला सोँचहरूलाई त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै नदिई गुपचुप कोठातिर हानिन्छु ।

No comments:

Post a Comment