Tuesday, May 21, 2013

इतिहास-२ (गोरखा दरबार संग्रालय)

शाहवंशीय गोरखा राज्य स्थापना पूर्वको गोरखाको संक्षिप्त इतिहास
नेपालको प्रामाणिक इतिहास अहिले भन्दा १५०० वर्ष अघिदेखि अर्थात् लिच्छविकालदेखि रहेको पाइन्छ । लिच्छविकालका अभिलेखहरू र तात्कालिक अरू ऐतिहासिक प्रमाणबाट प्राचीनकालमा नेपाल राज्य ठूलो थियो भन्ने कुरा सिद्ध भइसकेको छ ।
गोरखामा लिच्छविकालका दुईवटा शिलालेख पाइएका छन् । राजा शिवदेव (द्धितिय) र उनका छोरा राजा जयदेव (द्धितिय) का ती शिलालेखबाट लिच्छविकालदेखि नै गोरखाको विशिष्ट स्थान रहेको देखिन्छ ।
नेपालको धेरै भू-भागमा र हाल भारत अन्तर्गतका कुमाउँ गढवालमा तथा पश्चिमी भोटमा समेत आफ्नो राज्य फैलाउन सफल भएका सिँजाका मल्लहरूको शासन अन्तर्गत केही काल गोरखा रहेको पाइन्छ । सिँजाका मल्लहरूको राज्य टुक्रिएपछि गोरखा केही समय डोटी राज्य अन्तर्गत, केही समय यक्ष मल्लको शासन अन्तर्गत र केही समय मुकुन्द सेनको शासन अन्तर्गत पनि रहेको पाइन्छ । मुकुन्द सेनको शासन अलि कमजोर भएपछि उठेका स्थानीय शासक अन्तर्गत रहेको गोरखालाई आफ्नो अधिकारमा ल्याई द्रव्य शाहबाट गोरखामा शाहवंशको स्थापना भएको पाइन्छ ।

शाहवंशीय गोरखा राज्यको स्थापना
मुकुन्द सेनको प्रभाव कम हुँदै गएपछि गोरखाका स्थानीय शासकहरूको रजाइँ चल्यो । तर गोरखाका सबै बासिन्दा उनीहरूको शासनबाट त्यति सन्तुष्ट हुन सकेका थिएनन् । गोरखाको पश्चिमपट्टि रहेको लमजुङ्गका राजा यशोब्रह्म शाहका छोरा राजकुमार द्रव्य शाह शुरुदेखि नै महत्वकाङ्क्षी स्वभावका थिए । आफु जेठो नभएको कारणले लमजुङ राज्यमा पनि द्रव्य शाहको खास चल्थेन । यस कारण कुनै नयाँ राज्य जिती त्यसमा आफ्नो अधिकार स्थापना गर्न पाए हुन्थ्यो भन्ने विचार थियो । यता गोरखाका प्रभावशाली मानिसहरू गणेश पाँडे र नारायणदास अर्ज्याल द्रव्य शाहको सम्पर्कमा आए । द्रव्य शाहबाट सर्वप्रथम लिगलिगमा आफ्नो अधिकार जमाइ लिगलिगबाट अघि बढ्दै वि.सं. १६१६ भाद्रमा गोरखा विजय गरे । यसरी गोरखामा शाह वंसको राज्यको स्थापना भएको हो ।

शाहवंशको संक्षिप्त इतिहास
लमजुङका राजा यशोब्रह्म शाहका छोरा राजकुमार द्रव्य शाहबाट वि.सं.१६१६ मा गोरखा राज्यको स्थापना गरे । द्रव्य शाहपछि क्रमश: पूर्ण शाह, छत्र शाह राजा भए । छत्र शाहको स्वर्गारोहण पछि उनका छोरा नहुनाले उनैका भाइ राम शाह राजा भए । राम शाहपछि क्रमश: डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह राजा भए ।  राजा पृथ्वीपति शाहका जेठा छोरा वीरभद्र शाहको युवराज छँदै स्वर्गारोहण भएकोले पृथ्वीपति पछि वीरभद्रका छोरा नरभूपाल शाह राजा भए । नरभूपाल शाहपछि श्री ५ बडमहाराजधिराज पृथ्वीनारायण शाह राजा भए । उनीले नेपाल एकीकरणको अभियान प्रारम्भ गरे भने वि.सं. १८३१ मा उनको स्वर्गारोहण पश्चात् छोरा प्रतापसिंह शाहबाट राजगद्दी सम्हाले । तिनै शाह वंश राजाहरूको विवरण:

१. राजा द्रव्य शाह (राज्यकाल वि.सं. १६१६-१६२७ आसन्न)
तल्लो दरबार संग्रालय, गोरखा
लमजुङ्गका राजा यशोब्रम्ह शाहका छोरा राजकुमार द्रव्य शाहबाट सर्वप्रथम लिगलिग विजय गरी आफ्नो विजय अभियान शुरू गरे । राजा द्रव्य शाहले यस कामका लागि पाँडे, पन्त, अर्ज्याल, खनाल, राना र बोहरा यी ६ थरको सहयोग लिए । त्यसैले पछि यिनीहरू ६ थरी कहलाइएका थिए । गणेश पाँडे र नारायणदास अर्ज्यालले विजय अभियानमा राजा द्रव्य शाहलाई विशेष रूपमा सघाएका थिए । वि.सं.१६१६ मा गोरखालाई विजय गरी राजा द्रव्य शाहले गोरखा राज्यको स्थापना गरे । गोरखाको पस्लाङ्गमा राजा द्रव्य शाहको राज्याभिषेक भएको थियो भन्ने जनश्रुति रहेको छ । राजा द्रव्य शाहको शुभराज्याभिषेक वि.सं. १६१६ भाद्रमा नारायण दास अर्ज्यालद्धारा सम्पन्न गरिएको थियो । त्यस पछि राजा द्रव्य शाहले क्रमश: सिरानचोक र अजिरगढ जितेर आफ्नो राज्यलाई पश्चिममा चेपे र पूर्वमा बूढी गण्डकीसम्म विस्तार गरेका थिए ।

२.राजा पूर्ण शाह (राज्यकाल वि.सं.१६२७-१६६२ आसन्न)
तल्लो दरबार संग्रालय, गोरखा
राजा द्रव्य शाहपछि उनका छोरा पूर्ण शाह गोरखाका राजा भए । राजा द्रव्य शाहबाट विजय गरेकोले लिगलिगामा लमजुङ्गले आक्रमण गर्दा राजा पूर्ण शाहले त्यसलाइ जोगाउन निकै मेहनत गर्नुपर्यो । साथ साथै गोरखा राज्यलाई बढाउने काम पनि राजा पूर्ण शाहबाट भयो । यसैक्रममा राजा द्रव्य शाहबाट गोरखाको उत्तरी भेगको अजिरगढसम्म मात्र आफ्नो राज्य पुर्याएकोमा राजा पूर्ण शाहबाट त्यसलाई बढाएर बारपाकसम्म पुर्याए । यसपछि राजा पूर्ण शाहबाट सल्यान, खरी, मैदी र धादिङ्ग समेत जितेर आफ्नो राज्यलाई त्रिशूलीसम्म विस्तार गरे ।

३. राजा छत्र शाह ( राज्यकाल वि.सं. १६६६ आसन्न)
तल्लो दरबार संग्रालय, गोरखा
राजा पूर्ण शाहपछि उनका जेठा छोरा राजा छत्र शाह गोरखाका राजा भए तर उनको राज्यकाल छोटो समय मात्र रह्यो । यसैले गर्दा धेरै काम गर्न पाएनन् । बुबा पूर्ण शाहबाट जितेको बारपाकको एक भाग सिमजुङ्गमा उठेको विद्रोहलाई भने छत्र शाहले शान्त पारे । उनी उत्साही भए र उनले नेपाल खाल्डोमा आक्रमण गरी त्यसलाई जित्ने लक्ष्य लिए । वि.सं.१६६६ मा राजा छत्र शाहले नगरा बनाउन लगाए र हात्तीमा चढी दुईतिर नगरा झुण्ड्याइ लड्न जाने लक्ष्य लिए । तर चाँडै नै उनको स्वर्गारोहण भएकोले उक्त इच्छा पूरा हुन सकेन । 
अघिल्लो दुइ पोष्ट पढ्नको लागि तलको यो लिंकमा जानुहोस् । 

No comments:

Post a Comment