Tuesday, September 18, 2012

'अतीत' संगै सम्झँदा यी तस्बीरहरु

कुरो बर्ष अघिको, विद्यालय थुम्की कटेर जानुपर्थ्यो । झन्डै २ घण्टा । १ घण्टा उकालो, ३० मिनेट तेर्सो जुन गाँउ हुँदै जानुपर्थ्यो, र थुम्की देउराली पुगिन्थ्यो । दिनहुँ देउरालीमा सतिबेरको पाति चढाएर ३० मिनेटको ओरालो जंगल छिचोलेपछि बल्ल विद्यालय पुगिन्थ्यो । यसरी ४ वर्ष सम्म केवल पढ्नको लागि हिडेर घण्टौँ समय र हज्जारौँ कोश दुरी पार गरिएछ । आज सम्झिँदा गोडामा डरको काउकुती लाग्छ । त्यतिबेला सानो र डल्ले थिए, र पनि कहिल्यै झगडा नगरि विद्यालय जान्थे । सानो कदको डल्ले 'म' ती भुसतिग्रे दाजुहरुसंग दिनहुँ कसरी हिँडे हुँला ? सम्झदा, आज पत्यार लाग्दैन् । प्रथमत: सानो छँदा हिड्न विद्यालयले सिकायो । नहिडे समयमै नपुगिने । पुग्दा, पसिना सुक्न नपाउँदै शिक्षकको चुटाइ । अनि हुर्रिनुपर्थ्यो । 
...
हुर्रिनु मेरो लागि नौलो कुरो थिएन । कति हुर्रियो, हिडियो, कुदियो र घुमियो कुनै लेखाजोखा छैन् । कुले र विर्खेसंग पहरेपानीको ओडारे, बाख्रे भीर र सुलिथुम्काका कुना, काप्चा, पाँखा, पखेरा खुब चाहारिन्थ्यो । विशेषत: जंगल बढी । मथिङ्गलमा एउटा घट्ना अझै ताजा छ, डफ्काको सुनकोशि भङ्गालोमा बिर्खेको करमा डाइभ हान्ने हुँदा भंगालोले कुच्याउँदै लगेथ्यो, कुले नहुँदो हो त त्यति बेलै च्याट हुन्थे । धन्न ! कुलेले बँचायो ।
...
०६४ सालमा फलामे गेट प्रथम डिभिजनमा तोडे पछि पढ्न शहर हानिए । शहरमा मेरो एक्लो तर खुम्चिएको बसाइ थियो । जागिर थिएन । पैसा कम थियो । साथीहरु पनि कम थिए । पैसा दर्शन गर्न दाजुको तलबी महिना कुर्नुपर्थ्यो । पाएको रकम महिना नबित्दै कता सकिन्थ्यो पत्तो हुदैन्थ्यो ।
... 
दुख:सुख शहर छिरेको तेस्रो बर्ष अन्त्यतिर जागिर गर्दै पढ्न थाले । पहिल्यै पनि नगरेको भने होइन, गरिन्थ्यो तर पार्ट टाइम । जति पैसा, सन्तुष्टि र अवसरहरु अहिल्यै छ, त्ससमा, त्यतिबेला थिएन । यसर्थ, शहर वरिपरिकै कुनै स्थानमा घुम्न जानु, कतै बाहिर लामो यात्रामा निस्कनु र साथिभाइसंग जमघट तथा रमाइलो त्यति सहज र सम्भव थिएन, भएतापनि अत्यन्तै न्यून र सिमित व्यक्तिसंग थियो । सम्भवत: कारण अर्को पनि थियो । देखेर, अनुभव तथा व्यावहारिक जानकारबाट प्राप्त गरिने शिक्षा हामी बसेको समुदायका लागि एउटा भिन्न पाटो थियो । प्राय: जो कोहि यसतर्फ सहमत र आकर्षित थिएनन् । सबैको रोजाइ प्रथमत: राम्रो अध्ययन रहेकाले म पनि यसबाट सजिलै असमत रहन सक्दिनथे ।
...
उमेरका हदमा भर्खर विसौँ वसन्त पार गरे । आफैले केहि गर्नुपर्छ भन्ने विश्वास म मा छ, जो कोहि संग हुन्छ र भोलिका दिनसम्म रहिरहन्छ या रहँदैन भन्नेकुरा आफुमा भर पर्छ । यो नियति र समयले बताउने कुरा पनि हो । सधै सबैका लागि समय दाहिने रहदैन । खटपटको स्थिति जो कोहिको जिन्दगीमा चलिरहन्छ । शायद, म पनि यो सौभाग्यबाट कसरी उम्कन सक्छु र,  
...
आज, निरन्तरताको जागिरले बर्षदिन नाघ्दैछ । कार्यालयको लागि अझै म काँचो छु । सरहरुको लागि बच्चै । हो पनि ! सिक्दै छु । पढ्दै छु । जति जाने, जति सिके, जति घुमे ती सम्पूर्ण यो उमेरमा मलाइ कार्यालयले दियो । सरहरुले दिए, सिकाए । र कार्यालयबाटै झण्डै ३० जिल्ला घुम्ने अवसर पनि पाए । कामको सिलसिलामा जिल्ला जाँदा अग्रज सरहरुसंग धेरै उठबस भयो । धेरै कुरा सिके तर साँचो मनले भन्ने हो भने अंग्रेजी बोल्न र लेख्न अझै सिकेको छुइन, जानेको छु तर नगन्य ।        
...
र, आज यी किन लेखिरहेको छु भन्दा कार्यालयबाट जिल्ला भ्रमणमा निस्कदा क्यामेरामा कैद भएका धेरै त्यस्ता तस्बीरहरु छन् जुन आफ्नो अतीत सम्झे झैँ सम्झन लायक छन् । ती स्मृतिमा सधैँ बसिरहन्छन्, अतीत बसे झैँ । रोचक छन् । नयाँ छन् । अतीत झैँ सुन्दर छन् । र त म भन्छु, विगतका आफ्नो अतित नसम्झने शायद को नहोला? र त यो लेख्दै छु तीनै मन परेका तस्बीर र अतीतहरु...  
अचम्मको हुरि: महिना अगाडी विराटनगर जाँदा संयोगले यो हुरिको साक्षात्कार गर्ने मौका मिल्यो, त्यो पनि अचम्मले । छिनै अघि घाम चर्किरहेको थियो । गन्तव्यतिर हामि कुदिहरेका थियौँ । फाँटमा मानिसहरु काम गर्दै थिए । चहलपहल जताततै उत्तिकै थियो । तर अचानक घाम बादले छेकियो । पानि छिट्टाउन थाल्यो, वातावरण छिनमै रातझै अन्धकारमय भयो । र हुरि चल्न थाल्यो । उत्तरबाट दक्षिण बहेको बालुवा उडाउँने सानो हावाले ठुलै रुप लियो । तलको फोटोमा हेर्नुस् त छिनमै हावाको करामत...




मन बहलाउने भेडेटार: १४२० मि. उचाइमा रहेको भेटेटारको बारेमा मैले भनिरहनै पर्दैन, जो कोहिलाइ यथेष्ट जानकारी छ । वास्तवमै भेडेटार मन बहलाउने अत्यन्तै रमणिय स्थल छ । २ खुड्किलो तल धरान गर्मिले सेकिरहँदा भेडेटार पहाडी हावाले शीतलताको ओत पाइरहेको हुन्छ । अझ रोचक त के छ भने भेडेटार टावरबाट नजर डुँलाउदा आधा पूर्व खर्लप्पै देखिन्छ । फेदमा रहेको धरान बजार बगैचा झैँ लाग्छ, तराइ फुटबल खेल्ने मैदान झैँ सम्म र उत्तरमा रहेको झुरुम्म धनकुटा बजार । माथि बसन्तपुर टाकुरातिर हेर्दा राताम्मे फुलेको गुरासले पहाड रंगाए झैँ लाग्छ । 
प्यास लाग्यो तर पानी छैन्:  वास्तवमै, सिन्धुलि गढी दरबार जीर्ण अवस्थामा रहेछ । के जीर्ण भन्नु, इट्टा र माटो मात्रै बाँकी छन्, दरबार बनेको स्थानमा जग छ, दरबार छैन् । रोचक चै के छ भने उतिखेर लडाइकाबेला पुर्खाले पानि खान बनाएका कुवा भने संरक्षित छन् । अन्य धेरै सामग्रीहरु पनि संरक्षीत नै छन् तर विशेषत: कुवा । यहि कुवाको पानि पिएर पुर्खाले युद्ध जितेको कथन बा'का मुखबाट सुनिन्थ्यो तर आफै पुग्दा कुवामा माटो र कमिला थिए । घुम्न जानेलाइ प्यासले पिरोल्छ, तर कुवामा भने पानि छैन । 




झुप्रो 'रहर' होइन ना कि रहर 'शहर': उदयपुरको लेखानी गा.वि.समा खिचेको यो घरको तस्बीर मेरो लागि अत्यन्तै घत लाग्दो छ । 'घरबारै' छाडेर शहर पसेका घरधनी परिवारका लागि 'शहर' पक्कै रहर थिएन होला ना कि जीर्ण घर ।


उपचारका लागि शहर फिर्दै: घुर्मीबाट कटारीबजार झर्दै गर्दा बाटामा गुड्दै गरेको यो ट्रक दुर्घटनामा टुटेका आफ्नै पार्टपुर्जाहरु बोकेर उपचारका लागि शहर फिर्दै थियो । वास्तवमै, फोटो खिच्नेलाइ के था र ! यस्को दु:खका कथा?
सोलु-सल्लेरी: योङ्ग स्टार क्लबको आँगनबाट देखिएको सदरमुकाम सोलु-सल्लेरी र संगै योङ्ग स्टार क्लबकै बिशाल तथा सुन्दर भवन । पात्ले मुन्तीरको पहिरो अनि फाप्लु विमानस्थल ।






ठुला कुरा गरिल्याउँछन्, खै ! 'ठुला भनौदा'लाइ हामी पनि हेरम:  सोलुखुम्बुको केरूङ्ग गाउँमा संचालन गरिएको कार्यक्रम झ्यालबाट नियाल्दै एक महिला । सोहि कार्यक्रम डिल र आँगनबाट बालबालिका प्रसन्न मुद्रामा आफ्नै पोजमा हेर्दै थिए । 




मेरो प्यारो ओखलढुंगा: तस्बीरमा कैद भएको ओखलढुंगा बजार । बिडम्बना सदरमुकाममा बिजुली छैन् । तार टागिएको छ, पोल गाडिएको छ तर बत्ती बल्दैन । र, कविवर सिद्धिचरण श्रेष्ठको घर भएको स्थानमा आफ्नै सालिक । माथिल्लो कान्लामा ओखलको ढुंगा ।  


वर्षभरिको खाना: खोटाङ जाँदै गर्दा देखिएको, घर अगाडी राखिएको मकैको कुन्लो, लाखे ! मान्छेलाइ खाने छुइन, किराले खान्छ भनेर संरक्षण गरिएको होला? 
फेरी तरे भोजपुर:  जरायोटारस्थित अरुणनदीमा राखिएको फेरी । र 'जस्ते बजार' भोजपुरको सदरमुकाम भोजपुर । 


 ..र यो पनि: खोटाङ्गको हलेसी मन्दीर नजिकै रहेको गुफा,
(फोटो प्रतिलिपि अधिकार लेखकमा) 

No comments:

Post a Comment