Sunday, April 29, 2012

क्रान्ति एक, संघर्ष अनेक 'आमा'


साथिको Happy Birthday मा हात परेको माक्सीम गोर्खीको चर्चित पुस्तक 'आमा' पढेर सके । यस पुस्तकका बारेमा व्यक्तिगत समीक्षा भन्दा पनि पृष्ठमा उदृत भएका मजदुर क्रान्तिका वाक्यांश तथा टुक्का मन छुने थिए । मजदुर सर्वहारावर्गको ऐतिहासिक महत्व बोकेको पुस्तकले त्यस समयका रुसी मजदुरहरुको यथार्थता उजागर गरेको छ । त्यस समयका उपल्लो दर्जाका रुसी तानाशाही व्यक्तिहरुले मजदुरवर्गहरुलाई गर्ने शोषण, उत्पीडन र कठोर जीवनयापनलाई पुस्तकमा गोर्खीले कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।
'पेलागेया निलोभ्ना' साधारण मजदुर नारी जो यस पुस्तकको मूख्य नायिका अर्थात 'आमा' । उपन्यासको शुरुमा निलोभ्नाको दैनिकी जीवन हजारौँ रुसी मजदुर नारीको भन्दा फरक थिएन । कारखानामा कठोर परिश्रम, बेलुका रक्सीवाज पतिको गालिगलौज र पिटाई हुन्थ्यो । यस्ता कृयाकलाप देखिरहेका उनको छोरा 'पाभेल' समयको कालान्तरपछि हजारौ मजदुरहरुलाई यस तानाशाही बन्दनबाट मुक्त गराउन क्रान्तिकारी बन्न पुग्छ, आमा पनि छोराको यस अभियानलाई सफल बनाउन साथ दिन तयार हुन्छिन् । यसरी पुस्तकमा गोर्खीले मानिसले कसरी बाँच्नुपर्छ? मान्छेका लागि स्वतन्त्रता चाहिन्छ? न्याय चाहिन्छ? परिश्रमको मोल, जीवन जीउनुको अर्थ जस्ता मानवीय नैतिक आचरणलाई प्रस्ट्याएका छन् । मजदुरहरुको क्रान्तिलाई दृढता र नैतिक स्वच्छतामा परिभाषित गरेका छन् । प्रत्येक पात्रहरुको व्यक्तित्व, जीवनी, उनीहरुले चालेको क्रान्तिको कदमहरुलाई बीसौँ शताब्दीको सजग रुसी मजदुर झै श्रेष्ठतम् गुणहरुले प्रतिबिम्बित गराएका छन् । रुसी मजदुर क्रान्तिलाई सफल बनाउँन मजदुरहरुको एकात्मक शक्तिका लागि गरिएका अनेक संघर्षलाई मुख्य नायिका 'आमा' र उनको छोरा 'पाभेल' को भुमिका संस्मरणिय रहेको छ ।  
पुस्तकमा उदृत भएका महत्वपुर्ण वाक्यांश/टुक्काहरु
(पुस्तकका विभिन्न पानामा उदृत भएका यी वाक्यांशहरु जम्मा गरि लेखिएको हो ।)
१. को सँग कुरा गर्दैछस् भन्ने सधैँ याद गर, तैले मान्छेहरुबाट सावधान हुन सिक्नुपर्छ । मानिसहरु एक दोस्राप्रति घृणा गर्छन् । उनीहरु लोभी हुन्छन्, एक दोस्राको डाह गर्छन्, जानीजानी अर्कालाई दु:ख दिन्छन् । यदि तँ उनीहरुलाई साँचो कुरा बताउँछस भने उनीहरुले तेरो घृणा गर्न थाल्नेछन्, तँलाई बिताउने छन् ।
२. ज्ञानले मान्छेलाई मुक्ति दिन सक्छ, ज्ञानले मान्छेलाई बल दिँदैन् । हाम्रो हृदयले हामीलाई बल दिन्छ, दिमागले होईन् ।
३. सबै कुराको लागि पैसाको जरुरत हुन्छ, जन्मन पैसा चाहिन्छ, मर्न पनि ।
४. किसान धनी भए 'बाबुसाहेब' बन्छ, धनी गरिब भयो भने 'किसान' बन्छ । मजदुरीले कसैलाई पनि जोगी बनाउँन सक्छ ।
५. मान्छेको दिमागमा दुम्सी हालिदिनुपर्छ ताकि दिनरात उस्को दिमाग कोट्याइरहोस् ।
६. मान्छेहरुलाई आफ्नो शक्तिमाथि विश्वास छैन भने ऊ कठिनाईहरु देखि तर्सन्छ ।
७. क्रान्तिकारी भइयो भन्दैमा कसैले बन्दुकसँग भिड्ने आँट गर्न सक्दैन, यो कुनै ठट्टा होईन....।
८. मान्छेको वेदनाबाट शिक्षा लिन सिक्नुपर्छ तब सच्चा क्रान्तिकारी होईन्छ ।
९. मान्छेहरुले तपाईको जुन मोल राखेका छन्, के तपाई त्यही मोल स्वीकार गर्नुहुन्छ । हामीले आफैले आफ्नो मोल राख्नुपर्छ । तपाईको मोल, तपाईको गुणको मोल हो ।
१०. सही लाडाई गलत शान्तिभन्दा बेस हुन्छ ।
११. युवा हृदयको लागि सच्चाई सधैँ बढी नजिक हुन्छ ।
१२. परिश्रमिले धन सञ्चय गर्छ, सु:खको सृजना गर्छ र त्यसको उपयोग गर्न समर्थ हुन्छ ।
(माक्सीम गोर्खी-'आमा')

No comments:

Post a Comment