Sunday, May 13, 2012

नयाँ सुधारको आवश्यकता


अर्न्तराष्ट्रिय बिमान स्थल भित्रको पसाइ मेरो लागि पहिलो पल्ट थियो । यो भन्दा पहिल्यै म छिरेकै थिइन । भित्रि वातावरणको दृश्यावलोकन रोमाञ्चकपूर्ण तथा उत्साहपुर्ण होला भन्ने मेरो मनसपटलले आंकलन गरेको थियो तर दृश्यावलोकन अघि मैले सोचेको विमानस्थल र पछिको प्रत्यक्ष दृश्यावलोकनबाट प्रत्याभुत भएको विमानस्थल निकै फरक थियो । जब ती अव्यवस्थित अवस्थाका दृश्यहरु देखे मेरो मन धमिलो भयो । पोखरामा सामान पठाउनु पर्ने भएकाले नै अर्न्तराष्ट्रिय विमान स्थलको प्रत्यक्ष साक्षात्कार गर्ने मौका जुरेको थियो ।  

विशाल प्रवेश द्धार देख्दा साच्चै हामीमा यो स्तम्भ झै विशाल कला र कौशलको निपूण व्यक्तिहरु धेरै छन्, हामी कला र कौशलले धनी छौँ भन्ने भान जो कसैलाई हुन्छ । श्री ५ वीरेन्द्र स्वर्ण प्रवेश द्धार अंकित उक्त स्तम्भले केही पल मेरो पनि ध्यान तेतैतिर खिच्यो । दायाँ वायाँ नियाल्दै फेरि म गन्तव्य तिर लम्के । जाँदै गर्दा वाया पट्टी गल्फ खेल्न बनाइएको सुन्दर मैदान, सँगै जोडिएको बगैचा सहितको सानो घर देख्दा पश्चिमेली शहर झै लाग्यो तर बाटोको जीर्ण अवस्था, अलि परको स्थानमा सुकेका घाँसको चाङ्, फोहोरको डंगुर देख्दा कतै गल्ली पो छिरे जस्तो लाग्यो । शायद केहि महिना अगाडि त्यसरीनै चाङ् लागेका घाँसमा आगलागि भएको हुनुपर्छ, धन्न ठुलो कुनै क्षति तथा जोखिम मोल्नु परेन । त्यो भन्दा पनि बेजोडको रमिता त ट्यक्सी राखेको मैदानमा देखे जहाँ आगमन यात्रुलाई यो र त्यो ट्यक्सी भन्दै तानातान गर्दै थिए ।

एक मात्र अर्न्तराष्ट्रिय विमान स्थलको अवस्था त यस्तो छ भने बाहिर रहेको मार्ग, जीर्ण पुल, पुलेसा, पार्क र निर्माणाधिन आयोजनाहरु अव्यवस्थित हुनु स्वभाविक हो । यहि बाटो भएर प्रधानमन्त्री देखि सरकारी निकायका पदाधिकारीहरु यात्रा गर्छन् तर यस्को व्यवस्थापन तथा मर्मत तिर भने कसैको ध्यान केन्द्रीत नरहेको प्रष्टै हुनजान्छ । न त अनुगमन तथा निरीक्षण गर्ने संस्थाले नै यसतर्फ ध्यान केन्द्रीत गरेको छ । विमानस्थल जस्तो महत्वपूर्ण स्थानमा प्रणालीगत नियमन नहुनु, जिम्मेवारी तथा व्यवहारिक प्रयत्न नदेखिनु सम्बद्ध निकायको जटिल समस्या हो । तसर्थ थुप्रै आर्थिक संकलन तथा आवातजावत गर्ने स्थानको सुरक्षित व्यवस्था र मर्मत संभारका लागि विमानस्थलका पदाधिकारी तथा सम्बन्धीत निकायले धेरै सुधारात्मक कार्य गर्नुपर्ने देखिन्छ । 

1 comment: