Tuesday, August 11, 2015

भैरे गयाङ्ग

ग्यांङका कुनै भैरेलाई अंग्रेजी नआउने, पढे पो !

एकदिन फुच्चेले 'मिनिङ' पढे पछि काम लाग्ने सबैलाई वतायो । त्यसदिनदेखि टाक्कटुक्क सबैले मिनिङ कण्ठ गर्न थाले । जानेर वा नजानेर पढ्ने बानिको शुरूवात भैरे ग्यांङमा यहि हिज्जे कण्ठबाट थालनी भयो ।

भैरे ग्यांङमा फुच्चे, औवा, भुन्टे र म थियौँ । स्कुलमा अंग्रेजी मात्र नपढ्ने, नआउने । अरूमा खप्पिस । म दोश्रो थिए । गोले केटो फस्ट । फुच्चे, औवा र भुन्टे भने अक्षरका गरिब सन्तान थिए । म दिनहुँ यिनिहरूको संगतमा पिटाइ भेट्थे । प्राय: हातमा सिर्कनाका डाम हुन्थे । कैलेकाई कन्सिरीका भुत्ला उखालिन्थे ।

क्रिकेट मैदान जस्तो गोलो चौरीमा एल आकारमा स्कुल थियो । कक्षा ५ सम्म पढाइ हुन्थ्यो । स्कुल अगाडी ठुलो भैसि आहाल थियो । आहालको पुर्व र उत्तर पट्टि ठुला बरपिपलका रूख । दख्खिनमा फुटबल र भलिबल खेल्ने चौरी ।

मजाको फुटबल खेल्न केहि भैरे पेले भन्दा कम थिएनन् । बाउका नयाँपुराना सबै मोजा चोरेर ल्याउथे, कागज-प्लाष्टिक भर्थे । अनि, सुरू हुन्थ्यो— फुटबल ।

सबैभन्दा बढी फुच्चेले हात्तिछाप चप्पलका धेरै लोति चुडाल्यो । तर, खुट्टाबाट फुटबल खेल्ने शैलि कहिल्य चुडाल्न सकेन।

एकदिन फुटबल खेल्दै गर्दा अर्को भैरे उर्फ भुन्टेले हात भाँच्यो । तर, मजाको फुटबल खेलेर कसैको मन भाँच्न सकेन । त्यसदिन भुन्टेले रूदै फुटबलबाट सन्यास लिन धुलिखेलको हस्पिटल पुग्नुपर्यो ।

केहिदिनपछि हेडसरले थाहापाउनुभएछ— 'मजाको फुटबल खेल्न प्रतिबन्ध लगाइदिनुभयो ।' त्यसदिनदेखि भैरेहरूले बाउको मजा चोर्न छाडे । यता मजाको फुटबल इतिहास टुंगियो । त्यसैदिन नयाँ इतिहास शुरू भयो— बाउको मोजा नहराउने ।  
०००००

म रूख चढ्न डराउथे । आहालमा डाइभ हान्न खप्पिस । केटाहरू बादर भन्दा कम थेनन् । वरपिपलका जति हाँगा भाचिन्थे । सब ती झुण्डेर भाचिन्थे ।

औवा हाँगामा पिङ्ग झैँ मचिन्थ्यो । म भुइबाट कतापट्टि खस्ला ? आँकलन मार्थे । केटो किन खस्थ्यो ? झन्, अर्को हाँगामा बाँदरझैँ जम्प मार्थ्यो ।

पाकेका वरपिपलका गेडा औधि मिठा हुन्थे । स्कुलका खाजा हुन्थे सिजनमा । झण्डै, भैरे ग्यांङका केटाहरूले स्कुले जीवनभर आधा ट्रक भन्दा बढी खाए होलान् । रूखबाट टिपेर ल्याएका सप्पै मेरा लागि हुन्थे । फेदमा झोला रूग्ने काम मेरो जिम्मामा हुन्थ्यो ।   

एकदिन फुच्चेले पल्लो हाँगाबाट औवालाई भनेछ— 'हाम्रा हजुरबाका बाले रोपेका रे यी बरपिपल'

औवाका कन्सिरी तातेछ । झोक्किदै— 'भुत्रा नी होइन', भन्दिएछ ।

पल्लो हाँगाबाट फुच्चेले सट हान्ने भाथ्यो— 'तुन्द्रुङ्ग हाँगा मुन्तिर झुन्डियो'

औवाले तु फिल्मी स्टाइलमा फुच्चेलाई बचायो ।

वास्तवमा भैरे ग्याङ्गका कुनै भैरेलाई थाहा थिएन कसका हजुरबाले रोपेका थिए ती वरपिपल ।
०००००

भोलिपल्ट रूख चढ्दै गर्दा अचानक फुच्चे झोक्कियो— भुत्रानि ल्याइदिन्न । हिजो लड्याभा, 'मरिमरि हास्थिस् ।' अझै ! कुरा लाउथिस् होला बालाई । पर्दैन झोला रुङ्न, बोकेरै चढ्छु । खाने भए आफै चढ । 'जाठा ! हाम्ले चै आमाको पेटमा सिकेर आ हो र !', बाले चढ्नुहुन्न भन्दै गालि गर्थे । बा'को आँखा छल्दै आँटका हाँगा मच्याउथ्यौँ । खुरूक्क चढ ।

'फुच्चेका कुरा सुनेर एकछिन ट्वा भए ।'

'थुइक्क ! मुला, सानो कुरामा रिसाम्छस् ।'  हिजो त्यहिपनि तलाई केहि भएन । म रुन्चे स्वरमा बोले ।

'फुच्चेको मन के पग्लिन्थ्यो ?' डरले शरिरमा भरर काँडा मात्र उम्रिए ।

तत्क्षण सबै फुच्चेका साइडतिर पन्छिए । फुच्चेका कुरामा सहमत भए । कसैले नल्याइदिने भए । म एक्लो परे ।

त्यहिदिन मैले रूख चढ्न सिके । कालान्तरमा तिनिहरूभन्दा खप्पिस निस्के । कतै रूखका हाँगा लुछिए भेरै ग्याङ्गमा नाम जोडिएर आउन थाल्यो ।
०००००

प्राय: सधैजसो औवा र म टिफिन टाइममा घर भाग्थ्यौँ । फुच्चे र भुन्टे त्यति भाग्दैनथे । बारिका कान्ला उक्लिदै गरेको देखेपछि आश्विनी सरले डिलबाट बोलाउथे । हामी कान्लामा लुक्थ्यौँ, फर्केर जादैनथ्यौँ । फुच्चे र भुन्टे भने जान्थे ।  

भोलिपल्ट बनमारा सिर्कनाको चुटाइ भेटिन्थ्यो । उल्का दुख्थ्यो । बनमारा सिर्कनोदेखि उल्का डराउथ्यौँ तरपनि भाग्न छाडेनौँ । सम्भवत: बनमाराका सिर्कना जत्ति आमाले पनि शरिर चुमिनन् होला?

'एकदिन फुच्चेले आश्विनी सरलाइ कन्सिरीका भुत्ला उखाल्दिए, भाग्दैनन्', बताइदिएछ । कन्सिरीका भुत्ला उखाल्ने मान्छेदेखि दुवै खुब डराउथ्यौँ ।

गाउँमा ७४ वर्षका एक बडबा थे । भुराभुरीका कन्सिरीका भुत्ला उखालेर थुरथुर बनाउथे । ती बुढालाई देख्ना साथ हामी टाप कस्थ्यौँ । छेउमा कहिल्य पर्दैनथ्यौँ । फुच्चे एकदिन बुढाको ट्र्यापमा फसेछ । केहिबेरपछि रुदै आइपुगेथ्यो । हामि मज्जाले हासेथ्यौँ ।

माइलिकाकिको पसलमा बुढालाइ चाउचाउ किनेर खुवाएपछि फुच्चे बुढाको जिग्रि भयो । हेर्दाहेर्दै बुढाका मर्न लागेका गफ हामीसँग उराल्न थाल्यो । तर, हामी भने बुढाको छेउ कहिल्य परेनौँ । बुढालाई देख्नासाथ परैबाट कुलेलम ठोक्थ्यौँ । फुच्चे हाम्रा कन्सिरीका भुत्ला उख्लिएको हेर्न चाहन्थ्यो । ईख पालेथ्यो त्यसले । र त भन्दियो आश्विनी सरलाई ।

अर्को दिन स्कुल पुग्नासाथ आश्विनी सरले बोलाए । थाहा थियो— 'बुढाले बोलाउछन् भन्ने, किनकी हिजो टिफिनपछि भागेकै थियौँ ।'

अफिस कोठामा सुटुक्क पस्यौँ । आश्विनि सर झ्याल छेउ कुर्चिमा उङ्दै थिए । सरको हातमा बनमाराको सिर्काना थिएन । हामी अचम्ममा पर्यौँ ।

मैले औवाको कानमा खुसुक्क भने— 'बुढालाइ पिट्दापिट्दा अल्छि लागेछ, अब सम्झाउछ ।' त्यसदिन काला दात देखाउदै ऊ फिस्स मुस्कुराएथ्यो ।

बुढाले दुवैलाइ नजिकै बोलाए । सरासर गयौँ । बुढाका बढो अरमठ्ठेको हात रहेछ— 'नमज्जाले कन्सिरीका भुत्ला उखाले ।' दुवै क्वा ! क्वा ! रूदै कक्षाकोठामा फर्कियौँ । सबैले निकैबेर जिस्काइरहे । त्यसदिनदेखि कन्सिरीको भुत्ला सम्झेर भाग्न छाड्यौँ र टिफिनपछिका कक्षा नियमित पढ्न थाल्यौँ ।
०००००

चन्द्रकला मिस हुनुहुन्थ्यो । कालि थिइन् तर राम्री । हामी भैरेलाइ के कालि, के राम्री ? तर, उनका शरिरका प्रत्येक अङ्ग ठुला थिए । हामीलाइ ठुला लाग्थे । जब मिसलाइ देख्थ्यौँ, लजाउदै हास्थ्यौँ ।

'नाइटो झर्या छैन जिस्काउछौँ ।' मिस हाम्रो ग्यांङ्गलाइ सधै हपार्थिन । किन हपार्थिन ? ऐल्य बुझ्दैछु । 

मिस औधि बाठी थिईन् ।

एकदिन मेरो नयाँ कापि हरायो । म रूदै आश्विनी सरका पुगे । बुढाले उल्टै दुइ सिर्कना लगाइदे । म छिनमै चुप भए । अचानक झरिरहेका आशु थामिए ।

एकछिनपछि चन्द्रकला मिस कक्षाभित्र छिर्नुभयो । थाहाभयो— 'आश्विनी सरले कपि पत्ता लगाउन पठाएका रहेछन् ।'  

कक्षामा २० जना थियौँ । धेरै केटी थिए । सबै छिप्पेका । थोरै केटा थियौँ । सबै भुन्टे ।

मिसका हातमा उत्रैउत्रा २० वटा सतिबेरका काटी जत्रा सिन्का थिए । सबैका हातमा थमाउदै मिस बोल्नुभयो— 'जसले कपि चोरेको छ । भोलि आउदा त्यसको १ इन्च सिन्को बढेको हुन्छ । पहिलो घण्टीमै सिन्का लिन आउछु । भोलि पत्ता लाग्नेछ चोर ।' मिस यति भनेर फुत्त बाहिर निस्किनुभयो ।

त्यतिनैबेला अनुहारमा खुशि बेतोडले दौडिएथ्यो मेरो अनुहारमा । म फिस्स हाँसेथे । भोलि कापि भेटिने पक्का भएथ्यो र बच्ने भएथे बाउको पञ्जा झाप्पडबाट ।
०००००

भुन्टे, औवा, फुच्चे र म औधि मिल्थ्यौँ । स्कुल छुट्टि भएपछि बाटामा सँधै सँगै हुन्थ्यौँ । आजपनि सधैझै सँगै घर जादै थियौँ । दशजानी बाटाको गायोको बोट मुन्तिर अचानक फुच्चे रोकियो । हामी पनि टक्क उभियौँ । घाम महाभारतडाँडाबाट हाम्लाइ शंकालु आँखाले एकोहोरो गरि नियाल्दै थियो । हामि गायोको बोटमा छेलिएर शितल भएको ठाउमा थ्याच्च बस्यौँ ।

सन्नाटा चिर्दै फुच्चे बोल्यो— 'जाठ्ठी, कालिले भाच्या सिन्को बढ्छ भनि, भुत्रा नी बढ्दैन ।'

अतालिदै भुन्टे बोल्यो— 'बढ्यो भने ।'

'मा-कसम बढ्दैन', औवा गर्जियो ।

'कालि बाँठिछे । के गर्न आँटी ?' चोरेपनि नचोरेपनि सिन्को बढ्दैबढ्दैन । भाच्या सिन्को घण्टा बढ्छ । एक बढ्दैन । दुइ बढ्दैन । बढ्दैबढ्दैन ।  

फुच्चे र औवाले कापि चोरेकै थिएनन् । किन डराउथे ? सिन्को किन बढ्थ्यो ?  
०००००

भोलिपल्ट पहिलो घण्टीमै चन्द्रकला मिस कक्षाकोठामा पस्नुभयो । सबैले आ-आफ्नो सिन्को दिए । मिस बटुल्दै जानुभयो । भुन्टेले पनि दियो तर अरुको भन्दा १ इन्च छोटो । अन्तत: चोर पक्रियो । भुन्टेले कापि चोरेको रहेछ ।

चन्द्रकला मिसले कन्सिरी मुन्तिर दुइ झापड लगाइदिनुभयो । राता गाला बोकेर भुन्टे फुत्त कक्षाबाट निस्केर बेतोडले दौडिएथ्यो । केहि सेकेण्डमै कपि लिएर कक्षामा झुल्कियो ।
  
स्कुलपछाडी सतिबेरको बुट्टामा ढुंगामा थिचेर कापि राखेको रहेछ ।

'मा साले चोर', फुच्चे कड्कियो ।

हुन्देस् ऐल्य ! छुट्टि भएसी कुरा गरौँला । औवा बोल्यो । हामी चुपचाप भयौँ ।
०००००

चारजना मात्र बाटामा थियौँ । सबै घर गइसकेका थिए । स्कुल सुनसान भइसकेको थियो । सरमिस घरतिर झरिसकेका थिए । बाटामा हिद्दै थियौँ । त्यतिबेलासम्म कोहि बोलेका थिएनौँ ।

अचानक भुन्टे रूदै बोल्यो— 'हिजो तिमीहरूसँग छुट्टिएपछि घरमा पुगेर मिसले भनेको सम्झिए । चोरको सिन्को १ इन्च बढ्छ । कापि त मैले चोरेको थिए । विध्यानष्ट, तिमीहरूले थाहा पायौँ भने के भनौला भनेर बेलुका सुत्नै सकिन । बँच्ने उपाय अबेर सम्म सोचे तर फुर्दै फुरेन । सुत्नै लाग्दा आइडिया फुर्यो । मिसले दिएको सिन्को बराबरको अर्को सिन्को बनाए र सँगै सिरानीमुनि राखे । अनि, सुते ।

बिहान उठ्दा दुवै सिन्का जत्रातत्रै । ल बढेन । कालिले थाहा नपाउने भई भनेर खुशिले उफ्रिए । स्कुल आउदै थिए । बीच बाटामा आइपुगेपछि मन कुडियो । केहिगरि एकैचोट ह्वात्तै बढ्यो भने...'हुन्देस जे होला सोहि पर्ला । १ इन्च भाच्दिए ।'  

हामी गलल्ल हाँस्यौँ । ऊ पनि हास्यो ।

फुच्चेले सम्झायो— 'मुला सबथोक गर, चोर्ने काम नगर । चाहे अर्काको चाहे हाम्रो ।'

भुन्टेले कान समात्दै कहिल्यै नचोर्ने कसम खायो । सबै मुस्कुरायौँ अनि एकअर्कामा अंगालियौँ । त्यसदिनदेखि भुन्टेले कहिल्य चोरि गरेन । कक्षाकोठाबाट कसैको सामान पनि हराएन ।
०००००

ग्यांङ्गमा भुन्टे सामान चोर्न सिपालु थियो । फुच्चे फाइट खेल्न । औवा सन्काहा, निउ खोज्न । तुलनात्मक तिनीहरू भन्दा म सोझो थिए तर पढन्ते । ती जता जान्थे पछि लाग्ने मै हुन्थे । तर, परीक्षाका समयमा मात्र ती मेरा पछि लाग्थे।

गाउँमा 'भैरे ग्याङ्ग फेमस थियो ।' केटाहरू के गर्दैनथे ? राम्रो-नराम्रो । सबैसबै ।

एकदिन आश्विनी सरले २० सम्मको दुनोट २ एकान २, २० सम्म भन्नेलाइ २० रुप्पे दिने घोषणा गरे ।

एकछिनसम्म कसैले हात उठाएनन् । सबै चुपचाप रहे ।

रवि जुरूक्क उठेर भन्न तयार भयो । ग्यांङ्गका सबै भैरे ट्वाल्ल भयौँ । अस्तिभर्खर चन्द्रकला मिसले ३ एकान सोध्दा ठसठस कन्दै थियो । जाठ्ठाले कति चाँडो कण्ठ गरेछ । फुच्चे हाँस्दै बोल्यो ।

'आम्मा कसम यल्लाई आउदैन । बाजि ठोक्दिन्छु ।' फुच्चे फेरि कड्कियो ।

हामि खितखितायौँ । आश्विनी सर बम्किए । नपढ्ने ल्वादहरू । खिसी गर्छौँ । दुइ तीन सिर्कना ढाडमा बज्रिए । कन्सिरीका रौँ ठाडा भए । कान राता । साँस एकछिन रोक्केलारोक्केला जस्तो भो !

आश्विनी सर बोले— 'सुरू गर रबि'   

रबि— '२ एकान २', २ दुना ४....', भन्दै २ दशन २० । २० सम्मको दुनोट सकियो सर ।

फुच्चे हाँस्दै बोल्यो— 'भोलि कण्ठ गरेर भन्दे त सन्तोष ।'

आस्वीनी सरले ठुल्ठुला आँखाले निकैबेर मलाई हेरिरहे ।

Sunday, July 26, 2015

गोसाइकुन्ड उडान

कान्लो उक्लिएर अलिकति तेर्सो हिडेपछि गोरेटो बाटो छेकेर टागेको होर्डिङ्ग बोर्डमा होटेलको नाम टल्कियो ।

हामी तिनै एकैचोटी चिच्यायौँ—— "हिमचिम रेष्टुरेण्ट"

बासले बारेको सानो टहरो जस्तो होटेलको कुनापट्टी चुलाबाट दोर्जे केटो गुनगुनाउँदै थियो ।

स्यो-स्योको गन्ध नमिठो
शेर्पीनी दिदि क्या ! मिठो

हामी भर्खर धुन्चेबाट सिङ्गोम्पा पुगेका थियौँ । घाम टाउँकै माथि थियो । समय १२ मा चल्दै हुनुपर्छ । मैले अनुमान लगाए । ६ घण्टाको निरन्तर हिडाईपछि बल्ल होटेल भेटेथ्यौ ।
०००००

दशैको बेला । घर जान उर्लिएका मान्छेको बाक्लो चाप । काउन्टर वरिपरि टिकट लिनेको भिड ।
लाग्थ्यो—— "कुनै ठुलो महोत्सव हुँदैछ ।"

गाडी खचाखच हुनेमा कुनै शंका थिएन । सिट पाउने त झन् चान्सै थिएन ।

अनकनाउँदै तीनैजना काउन्टर अगाडी रोकिएको एउटा पुरानो बसमा ठेलमठेलमै चढ्यौँ ।

बसको अगाडिपट्टी लेखिएको थियो—— "हिमाल-पहाड-तराई, कोहि छैन पराई"

हामी पनि कहाँ पराइ थियौँ र ? खुट्टा राख्ने ठाउँ पाइहाल्यौँ, चढ्यौँ ।

चढेको केहि क्षणमा बस करिब ४० जना बोकेर हर्न बजाउँदै हुइकियो—— "धुन्चेतिर"

बल्ल मन चङ्गा जस्तै हलुङ्गो भयो ।

चिन्ताको अग्लो पहाड नाघेको बेला मान्छेको अनुहारमा जसरी खुशी दौडिन्छ, त्यस्तै बेजोडको खुशि अनुहारमा बेतोडले दौडियो । मैले आरामको लामो साँस ताने ।

बसको पछाडि भागमा उभिएको छु—— "म"

छेउमै उभिएर मोबाइलमा 'हे कविरा' सुन्दै गरेका दुई छन्—— "हेम र अनिश"
०००००

घटस्थापनाको अघिल्लो दिन हुनुपर्छ । फेसबुकमा अनिशको म्यासेज झर्यो । यसपालि गोसाइकुन्डको ट्रेक—— "ह्वाट यू से ब्रो"

मनमनै म्यासेज पढे र फिस्स मुस्कुराए ।

दुई दिन अघि थापेको तलब गोजिबाट सिनित्त भईसकेको थियो । एक टुक्रा काम नलाग्ने कागज सिवाय गोजिमा केहि थिएन ।

अनिशको म्यासेज पुनः एकपटक पढ्दै गोजिबाट त्यहि कागज निकाले । बाले टिपाएको गाउँको सिडिएमएको नम्बर थियो त्यो । एकपटक बालाई सम्झे । आमालाई सम्झे । साथिभाई सम्झे । गाउँघर सम्झे । गोसाइकुण्डको ट्रेक पनि सम्झे । अचानक मन त्यसैत्यसै चुस्स दुख्यो ।

फेरि अनिशकै म्यासेज आयो । "टुमरो, गोसाइकुण्ड ट्रेक, ह्वाट यू से ब्रो ।"

ऐले भने कन्पारो तातेर आयो । तैपनि अल्छि मान्दै रिप्लाई पठाए— "हेरम" ।

"के हेरम, खुरूक्क हिड्ने । पैसोसैसो छैन भने व्यवस्था गरौला ।" रिप्लाई पढेर मन ढुक्क भयो र अचानक शहरीभरी खुशी यसरी दोडिन थाल्यो मानौँ खुशी मापन गर्ने कुनै यन्त्र हुँदो हो त त्यसले आकाश छुन्थ्यो होला ।

जबजब म पैसाको अभावका पहाडले थिचिन्थे, सहयोग गर्ने उहि हुन्थ्यो । र यसपालिको गोसाइकुण्डको ट्रेकिङ्ग खर्च पनि उसैले व्यहोर्ने भयो । म खुशि थिए । किनकी केहि वर्षदेखि दशैमा ट्रेकिङ्ग जाने निरन्तरतामा मेरो उपस्थिति हुँदै थियो, म छुट्दै थिइन ।
०००००

बसले काठमाण्डौँ छाडेको घण्टौ भईसकेको थियो । विदुर पुग्न लागेका थियौँ । बस त्रिशुलि नदी मास्तिरको भिरमा हुइकिदै थियो । हेमले वमिट गर्यो । उभिन निको नमानेपछि हामि छततिर उक्लियौँ ।  

"वाऊ ! ह्वाट अ बिउटिफुल नुवाकोट ?"

"त्रिशुलीको सङ्ग्लो पानी, मनै बहलाउने,
त्यसैत्यसै बगे म त, कता समाउने ?"

निन्याउरो हेम एकाएक गुनगुनायो ।

"सैयौँ मान्छे वेपत्ता बनाउने त्रिशुलीमा मनमनै भएपनि नबग है केटा । के था पत्तै नपाई तँलाई पनि बेपत्ता बनाउला——मनमनै ।" म जिस्किए ।

"छ्या, भाइहरू जे पाए त्यहि नभन्नु न ! डर लाग्यो हौँ कुरा सुनेर ।"

छतको अघिल्तिरबाट अपरिचित शेर्पिनी केटीको आवाज सुनेर हामि त्यतै फर्कियौँ ।

"जिस्केको नी", एकैचोटी तीनैजनाले मुन्टो हल्लाउँदै हास्यौँ ।

"शेर्पिनी केटीले आँखा तर्दै निकैबेर हामितिर नमिठो मुस्कान फालीरही र हामि तीनै उसको नमिठो मुस्कानमा निकैबेर कठ्याङ्ग्रिरह्यौँ ।

कुरैकुराको सुरमा विदुर आइपुग्यो । शहरको पल्लो कुनामा पुगेर गाडी घ्याच्च रोकियो ।

खाना खुवायो र गाडि हुइकियो । के गाडी मात्र हुइकिन्थ्यो—— हामि पनि । उही उत्साह । उहि उमंग । उहि खुशि । उहि उत्सुकताका साथ हामी छतबाट नुवाकोट नियाल्दै धुन्चेतिर हानिदै थियौँ ।  

त्रिशुलिका विशाल फाँट । बाटै मुन्तिर नहरमा बगेको सेतो पानी । फुलबुट्टे पक्की घरहरू । झुरुप्प पहाडका फेदमा बनेका स-साना बस्ती । लाग्थ्यो— कुनै स्वर्ग भन्दा कमको दृश्य थिएन त्यो ।

अग्लो पहडाबाट झर्दै गरेको विशाल झर्नाले केहि बेर सबैको ध्यान खिच्यो ।

"विउटिफुल", छतको देब्रेपट्टीबाट एउटा कुइरे जोडजोडले चिच्यायो । झन् हामी नचिच्याउने कुरै थिएन ।
०००००

विदुरबाट झण्डै ५ घण्टाको यात्रापछि विशाल पहिरो गएको छेउको डाँडामा पुगेर गाडि रोकियो । पहाडै बगाएर राजमार्गमा सानो थुम्का खडा भएको थियो । सबै गाडीहरू जाममा लस्करै थिए ।

हामि ओर्लियौँ । पहिरो देख्यौँ । बस् मुटु नहल्लिने कुरै थिएन ।

"दिनहुँ यस्तो पहिरोमाथि गाडी हाक्ने चालकहरूको मटु चै मान्नैपर्छ ।" अनिशले डाइभरदाईहरूको मन जित्ने कुरा गर्यो । केहि डाइबरदाइहरू मुसुमुसु निकैबेर हाँसिरहे । 

धुन्चेबाट एक हुल आर्मी आए । बाटो खोल्न लागे । निकै समय लाग्ने थाहा पाएपछि हामिले हिड्ने सुर कस्यौँ । सबैले आ-आफ्नो झोला टिप्यौँ र त्यहाँबाट हिड्यौँ ।
०००००  

"धुन्चे, १२ किलोमिटर", जिब्रो टोक्दै अनिश फुसफुसायो ।

"असम् ट्रेकिङ्ग हुने भो", एकाएक हेम रौस्सियो ।

"१२ कि.मी", नट अ जोक साथि, भोलिको बसाई धुन्चे गर्ने भए ठिकै छ ।" पुच्छारमा मैले राय सुझाए ।   

"जे पर्ला सोहि टर्ला", अनिशले साहस देखायो । किनकी हामी तीनमा अनिश मात्र हिडाईमा निर्धो थियो ।
ऊसले हिड्ने साहास देखाएपछि मनोबल हाम्रो पनि उच्च भयो । हामी पिचको बाटैबाटो टुकुरटुकुर हिड्न थाल्यौँ र परिचित हुनथाल्यौँ— अपरिचित अनुहारहरूसँग, स-साना झुप्रा घरहरूसँग, चिसो हावासँग, घना जङ्गलहरूसँग र जताततै मधुर आवाजमा झरिरहेका झर्नाहरूसँग ।

"वाऊ ! आई थिङ्क, ईट्स कल्ड ह्याभेन", अनिश हात फिजाउँदै चिच्यायो ।

"ह्वाट, इट्स अ नेपाल ड्युड । सो, इन्ज्वय इट लाइक वुइ र इन ह्याभेन", हेमले अनिशलाई जिस्काउदै सानो दहमा फुत्त पस्यो ।

हैन के भन्छन् केटाहरू। "इट्स अ फस्ट रसुवा ड्युड । सो, उइ आर इन लाइक अ हेभेन अफ नेपाल", म जानिटोपलिदै झर्नाको छेउमा उभिएर सेल्फि खिच्न थाले ।  

"हाहाहा हामी तीनै मज्जाले निकैबेर हास्यौँ", सम्भवत: हाम्रो हाँसोमा कस्तुरीहरू पनी मज्जाले हाँसे होलान् । थुम्कापट्टीबाट डाँफेले हाम्रो मुस्कान देख्यो होला । कालिजका केहि बथानहरू हाम्रो हाँसो सुनेर तर्सिदै भागे होलान् । म त्यसैत्यसै कल्पिए ।  

ढुङ्गो छलेर झरेको बिशाल झर्नाले बनाएको अर्को ठुलो दहमा तीनै टक्क अडियौँ ।

"हेल्लो भन्दै एक जोडी क्यानेडियन हामीतिरै आए"

"यु अल गोइनङ्ग धुन्चे"

"एस, हामीले एकै स्वरमा बोल्यौँ"

"एण्ड यू अल्सो", अनिशले क्यानेडियनको मुखबाट 'एस' खस्न नपाउँदै सोधिहाल्यो ।

हामीलाई थाहा थियो । कुइरे देख्नासाथ यो हिमचिम हुन्छ भन्ने कुरा । किनकी तुलनात्मकरूपमा उसको अंग्रेजी हाम्रो भन्दा राम्रो थियो र मष्तिष्कमा जो बिबिसिमा काम गर्ने भुत सवार थियो उसको ।

लौ त, आजलाई उसले काम पायो । कहाँ ? बि.बि.सि.मा, होइन-होइन रसुवामा ।

हामी तीनबाट पाँच भयौँ । बाटाभरी क्यानेडियन जोडीले धेरै कुरा गरे । भुतको कथा सुनाए । क्यानडा र नेपालको बारेमा गफ पिटे । प्रेम कहानी सुनाए । धैरै देशको यात्रा वर्णन गरे । हामीले सुनिदिने कष्ट गर्दियौँ । र, अन्त्यमा उनीहरू यात्राभरका आत्मिय साथी बन्न पुगे । फेसबुकमा जोडिए । कन्ट्याक्ट साटासाट भयो । यतिसम्म कि क्यानडा गएको बेला उसको घर पस्ने निम्तो समेत पाइयो ।

कुनै दिन क्यानडा पुगियो भने पाहुना भएर बस्नलाई पिटरको घर पनि मिल्यो । धुन्चेले दुनियाभरको बास मिलाउने भयो । हामी एकअर्कालाई हेर्दै मुस्कुरायौँ ।  

कतिखेर चारवटा पहिरो छाडियो ? १२ किलोमिटर कसरी हिडियो ? केहि पत्तै भएन ।

"धुन्चे १ कि.मी.", बाटो मुन्तिर तितेपातिको झ्याङ्गनिर टागेको होर्डिङ्गबोर्ड देखेपछि बल्ल हामीले लामो साँस फेर्यौँ । त्यतिबेला बेलुकाको ९ बजेको हुनुपर्छ ।

"धुन्चे, हामी आइपुग्यौँ ।" हामी तीनै एकछिनसम्म मज्जाले चिच्यायौँ ।

हाम्रो चिच्याहट देखेर जोडी क्यानेडीयन छक्क परे । अनिशले अंग्रेजीमा सुझायो— हामीले आफैले आफैलाई स्वागत गरेको क्षण न थियो त्यो ।
०००००

भिरालो खर्क तर पहाडको फेदपट्टीको खोप्चातिर झुरूप्प स-साना पक्की घर । बानेश्वरबाट बबरमहल जत्ति लामो रोडको छेउछाउमा बनेका घर, भनौँ— बजार । रोड गाउँघरका आँगन जस्तो ।

हामी हतारिदै सस्तो र राम्रो हेटल खोज्न थाल्यौँ । ती जोडी क्यानेडिएन पनि हाम्रै पछिपछि थिए । हामी रोडको माथिल्तिर रहेको अन्नपूर्ण होटेलमा छिर्यौँ । क्यानेडियनहरू कता गए । थाहै भएन ।

"रूमको कति ?"

"सात सय", जुङ्गेवाला साउले चर्को स्वरमा भाउ तोक्यो ।

"६ सय दिन्छौँ" अनुहार चिम्स्याउँदै म बोले ।

"हुन्छ को मुन्टो हल्लाउँदै" जुङ्गेवाला साउले सहमति जनायो ।

हामी तीन डङ्ग्रङ्ग बेडमा पल्टेका मात्र के थियौँ ? अघिको क्यानेडियन बुढो झुल्कियो र मुस्कुराउँदै—— "हाउ मज कस्ट यू गिवेन फर दिस रूम"

"सिक्स हन्ड्रेड"

"ह्वाट, यो शहरकै सबैभन्दा राम्रो होटेल लाङ्गटाङ्गमा हामीले पर रूम ३०० सय रुपैया तिर्यौ", हिड तिमीहरूलाई पनि मिलाइदिउला", हामी ट्वा पर्यौँ । एकअर्काको मुखामुख गर्दै तुरून्त झोला प्याक गर्यौँ र त्यस होटेलबाट निस्कियौँ"

डराईडराई छिरेको लाङ्गटाङ्गको रूम हेरिसकेर पैसोको चाँजोपाँजो मिलेपछि तीनैजना दंगदास पर्यौ । हो पो रहेछ । कहाँ नेपाली मात्र आत्मिय र सहयोगि हुन्छन् । मान्छे न हुन् चाहे ती अमेरिकन हुन् वा क्यानेडियन । आत्मियता साटासाट भन्ने कुरा त संसारका कुनै पनि कुनाका मान्छेले गर्दो रहेछ । त्यो दिन हामीले थाहा पायौँ ।

हामी जोडी क्यानेडियनको व्यवहारप्रति आभारी थियौँ । र, त्यो भन्दा बढी खुशी । त्यस दिन हाम्रो बसाई त्यहि होटेलमा भयो । रात्रि भोजको साथि भए ती क्यानेडियन जोडि ।  
०००००

खोचबाट उक्लिएर हामी तिन टक्क उभियौँ ।

छर्लङ्ग देखियो—— "हिमाल डिस्ट्रिलरी पानीको फ्याक्ट्री"

गज्जप, तिनै जनाले एकअर्कालाई थम अप्स गर्दै अगाडी लम्कियौँ ।

हिलो बाटो कटेर पुल तर्नै लाग्दा एक भाई भेटियो ।

"भाई, गोसाइकुण्ड पुग्न कति समय लाग्छ ?" अनिशले सोध्यो ।

"के तालको मान्छे होला ? १ कि.मी. हिडेको छैन" हेम रन्कियो ।

"बेलुकासम्ममा पुग्नुहुन्छ", भाइले हिड्न नसक्ने आशय बुझेछ क्यार ! साहस थप्दिने काम गर्यो ।

"झोलुङ्गे पुलको बीचमा पुगेर फोटो ठोकौँ त जेठान", हेमले मलाई फोटो खिचिदिन आग्रह गर्यौ या अनुरोध । साइनो पो लगाउन खोज्यो कि ? म अलमलिए ।

खैर, मैले फोटोहरू कैद गर्न लागे । खोलाको । जंगलको । हेमको । अनिशको ।

"खोइ त मेरो", म कड्किए ।

"यी मोबाइलमा" अनिशले देखाउँदै बोल्यो ।

"पोज त दिनै पाइएन", म हाँस्दै बोले ।

नाकै ठोक्केला जस्तो खुट्किलाको बाटो १ घण्टा लगाएर छिचलेपछि बल्ल हामी पहिलो स्टेशन पुग्यौँ—— देउराली ।

"चिया पिउने ?" हेमले हामी दुईलाई सोध्यो ।

"हुन्छ", मैले मुन्टो हल्लाउँदै लामो सुस्केरा छाँडे ।

चिया पिएपछि हामि पुनः उकालो लाग्यौँ । बाटाभरि कोहि इजराइली साथि बने । केहि जर्मनी । टन्नै स्पेनिसहरू पनि साथि भए । हाम्रो हिडाइ विदेशीहरूको भन्दा तगडा थियो । बाटाभरि भेटेजति सबैलाइ पछाडि छाड्दै हिडिरह्यौँ । नयाँनयाँ साथि बन्दै गए ।

मध्यदिनतिर सिङ्घम्पा पुगेथ्यौँ । उही दोर्जेका खाना खाएर लाउरे बिनायकतिर उक्लिएथ्यौँ ।
०००००

हामि करिब ३८ सय मिटर माथि थियौँ ।

लाङ्टाङ्ग हिमाल सामुन्ने उभिएको थियो । सुर्यको मसिनो पहेला धर्साले लाङ्टाङ्गको टुप्पो टल्काइरहेको थियो ।

लामो साँस फेर्दै अनिशले हिड्न नसक्ने बतायो । त्यतिबेला समय ५M३० मा चल्दै हुनुपर्छ र हामी  लाउरेविनायक मुन्तिरको खोजमा थियौँ । होटल पुग्न अब मात्र केहि मिनेट लाग्न सक्थ्यो ।

"खानाको ३०० सय । कोठको छ सय ।" साउनी च्याट्ठिदै बोलि ।   

लाउरे विनायकको डाँडामा एउटै होटेल । झन् त्यसमाथि विदेशीको खचाखच । खैर, बस्नु त पर्यो । साउनीलाई फकाउँदै एउटा रूम पक्का गर्यौँ र साँझ नपर्दै खाना खाइवरि एक थर्मस तातो पानि लिएर कोठा छिर्यौँ । रातभरि सुत्न के सकिन्थ्यो ? चिसो उत्तिकै । त्यहिमाथि अक्सिजन नपुगे जस्तो हुने, टाउको चिट्चिट् दुखिरहने । बेलाबेला डराउँदै हामी एक अर्कालाई उठाएर सोध्थ्यौँ— लेक लाग्यो भने...
०००००

आँगनको डिलमा मुख धुँदा पानि उछिट्टिएर लाङ्टाङ्ग हिमालमा पुग्ला जस्तो । विश्वासै नलाग्ने आँखै अगाडी सेतो टलक्क टल्केको अग्लो हिमाल ।

"यति नजिकबाट त मैले हिमाल देखेकै थिइन?" अनिश खुशिले गद्गद् भयो ।

"ग्रुपमा एक फोटो खिचि हालौँ", होटलको दिदीलाई फोटो खिच्न अनुरोध गर्दै हामी डिलमा उभियौँ ।

होटेलबाट उकालो लाग्दा बिहानको ९ बज्यो ।

गोसइकुण्डपट्टिको थुम्कोबाट उदाउँदै गरेको घामको फुर्केले छातिपट्टिको भाग तातो बनायो । जाडोले मुटु कमाइरहेको बेला उकालो चढ्न केहि राहत मिल्यो ।

डरलाग्दा भिर । घोडेटो—गोरेटो—ट्रेकिङ्ग जे भने पनि मसिनो धर्सा जस्तो खुट्टा मात्र अट्ने साँघुरो बाटो । चिप्ल्यो भने कहाँ हो कहाँ ? विना नशा सुरमा हिड्नु पर्ने । बेसुरा देखाए ज्यान जोखिमा । थुम्का भने गज्जपका । उजाड थिए । हिउ नभएका तर लस्करै ।

"काठमाण्डौँ कता पर्ला ?" हेमले प्रश्न गर्यो ।

"यता हुनुपर्छ हातले देखाउँदै अनिश बोल्यो"

"अनि, रामेछाप नी ?" मैले सोधे ।

"रामेछाप, एकछिन रोक्किएर काठमाण्डौबाट पूर्व पट्टी ।" अनिश जिस्कियो ।

झण्डै ४ घण्टाको हिडाइपछि हामि गोसाइकुण्ड पुग्यौँ ।

घाम लागिरहेको थियो । सिरौटे चिसो हावा चलिरहेको । तलतलबाट झुरुप्प बाक्लो बादल गोसाइकुण्डतिर उक्लिदै गरेको । कुण्डबाट तुवालो जस्तो बाफ उडिरहेको । मनमोहक दृश्य थियो त्यो ।

हिउँ नभएका थुम्काले घेरिएको ४३५० मिटर उचाइमा रहेको गोसाइ कुण्डको पानी सङ्ग्लो थियो । स-साना पत्थरैपत्थरको जमिन । कुण्डको चुम्सोपट्टी रहेको ४ वटा जत्ति होटल । होटल भएकै ठाउँको दाहिनेपट्टी मन्दीर ।

बस् गोसाइकुण्डको क्यानभासमा यत्ति दृश्य अटाउथ्यो ।

एउटा होटेलमा खाना अडर गर्यौँ र लाग्यौँ कुण्डमा डुब्न ।

अनिश पहिले डुब्यो । डुब्यो के भन्ने फुत्त पस्यो, हिऊ झै जमेर फुत्त निस्कियो । हतारहतारमा कपडा लगायो । हेमले त्यसै गर्यो र मैले पनि ।

कति चिसो पानी ? हामी तीनै एकछिन कठ्याङ्ग्रियौँ ।

मन्दिरको दर्शन गर्यौँ । जल बोक्यौँ । होटेलको तात्तातो खाना र तेलमा तारेको पिरो खुर्सानी चिरिप्प पारेर करिब आधा घण्टाको बिश्रामपछि तल झर्यौँ ।

त्यहिदिन बेलुका धुन्चे पुग्यौँ र बियरले हल्का शरिर ततायौँ । भोलि त सवेरै बडादशमीको आशिर्वाद र टिकाथाप्न काठमाण्डौँ जो फिर्किनु छँदैथियो । 

Tuesday, June 2, 2015


जिन्दगी गाडीको पाङ्ग्रो भइदिए...

कहिलेकाहि
यसो सोचिहेर्छु

जिन्दगी—
गाडिको पाङ्ग्रो भइदिए
कुद्थ्यो होला— 'रोडैरोड'
पुग्थ्यो होला— 'जताततै'

कहिलेकाहि
जिन्दगी पन्चरै हुँदापनि
कमसेकम टालेर त जिउथे होला
मान्छेहरू पटकपटक