Tuesday, June 2, 2015


जिन्दगी गाडीको पाङ्ग्रो भइदिए...

कहिलेकाहि
यसो सोचिहेर्छु

जिन्दगी—
गाडिको पाङ्ग्रो भइदिए
कुद्थ्यो होला— 'रोडैरोड'
पुग्थ्यो होला— 'जताततै'

कहिलेकाहि
जिन्दगी पन्चरै हुँदापनि
कमसेकम टालेर त जिउथे होला
मान्छेहरू पटकपटक

Tuesday, March 3, 2015

शक्ति मुठभेडको चित्रण



भनिन्छ— राजनतीतिमा नेतृत्वको अन्तिम लक्ष्य भनेकै शक्ति हो । जब सम्म कुनै राजनीतिक योद्दा नेतृत्व तहमा अर्थात् शक्तिमा पुग्दैन तबसम्म दलीय स्व-निर्णय र कार्य असम्भव छ । त्यसै एउटा राजनीतिक चक्रव्युको पर्दापन हो नाटक— उम्बुगल्याण्डको मुठभेड ।

राजाको अप्रत्यासित मृत्यु पश्चात मुगल्याण्ड राज्यमा (मन्त्रिस्तरीय) मन्त्रिहरूबीच हुने पदीय खिचातानीलाई नाटकमा कलात्मक रूपमा देखाइएको छ । राज्यको निर्णायक पदमा को हुने भन्ने संकट उत्पन्न भएपछि मन्त्रिहरूको राजनीतिक चलखेल र खिचातानिको वास्तविकता प्रस्तुत गरिएको छ ।

नेपाली राजनीतिमा विगतका केहि वर्षदेखि देखिएको खिचातानिको प्रष्ट पर्दापन हो मुगल्याणड्को मुठभेड । समय अनुरूप नेपाली राजनीतिको बाटो र त्यसले निम्याउँदै गरेको अनिश्चित वातावरणलाई नाटकले समेटेको छ।

नाटका पात्रहरूले जिवन्त तुल्याउन शतप्रतिशत प्रयत्न गर्दागर्दै पनि वाचन शैलि र पात्रहरू बीचको तादम्यता  खस्किएको छ । पात्रहरू बीचको तालमेल त्यति सन्तोष जनक छैन र नाटक समय लामो भएको दर्शकलाई अनुभुत हुनजान्छ । तरपनि नाटक नेपाली राजनीतिक परिवेश अनुरूप शसक्त छ । एउटा उच्च कोटिको राजनीतिक सन्देश नाटकमा पाईन्छ । नाटकद्वारा राजनीतिक परिवेश चित्रण गर्न खोजिएकोले नेपाली राजनीतिमा चासो राख्ने जो कोहिका लागि  हेर्नैपर्ने नाटक बनेको छ— उम्बुगल्याण्डको मुठभेड ।

भारतीय लेखक बिजय तेन्दुल्करद्बारा लिखित नाटकलाई आशान्त शर्माले नेपालीमा मञ्चन गरेका हुन् । अनामनगरस्थित मण्डला थिएटरमा लागिरहेको यो नाटक १ महिनासम्म चल्नेछ । विशेषत: मुगल्याण्ड राज्यको राजनीतिक मुठभेडमा आधारित यस नाटकमा प्रमोद अग्रहरी, सिर्जना सुब्बा, शारदा अधिकारी, लक्ष्मी बर्देवा लगायतका अन्य नाटककारहरूको अभिनय जिवन्त रहेको छ । एक्टर्स स्टुडियोको प्रस्तुती रहेको यस नाटकमा दर्शकलाई अन्तिम समयसम्म बाधेर राख्ने सामर्थ्य छ ।  

Saturday, February 28, 2015



पहाड चिरेर उदाउँदै गरेको
विहानी घाम हौँ— "तिमी"

बादल पन्छाउँदै चियाउँने
आकाशको याम हौँ— "तिमी"

नसोध मलाई
भगवानको के कुरा ?

तारा झरेर बन्दै गरेको  
पवित्र धाम हौँ— "तिमी"

प्रेमको ग्रन्थमा लेखिने
एउटा पवित्र नाम हौँ— "तिमी"

Sunday, November 30, 2014

जब
मान्छे— मैले दुख पाए
त्यहिभएर— सुख कमाए

मैले दुख सहे
त्यसैले— आज खुशी पाए

भन्छ भने...

त्यो मान्छे
इमान्दार हो

किनकी,
खुशी र सुःख
जिन्दगीमा निशुल्क पाउने 
चिठ्ठा होइन 

Monday, November 24, 2014


एकदिन
सम्बन्धको उचाइमा

प्रेमको—
जुन फूल फुल्न सक्छ

ठान्नु— त्यो फुल
कसैले चुढ्नेछ

यो सत्य
तिमीले बुझ्नुपर्छ 

Saturday, October 18, 2014

स्मृतिमा पोहोरको तिहार

उत्साह कम्ति थिएन,  खुशी उत्तिकै । जताततै माला र फुल । घर रङ्ग्याउने र पिलपिले बत्ति टाग्ने काममा छिमेकीबिच होडबाजी नै चलेको थियो । कोहीपनि घर सजाउनमा अल्छे देखिन्नथे । बाटोमा हिड्दैगर्दा प्रत्येक घरमा भलाकुसारी गरेको आवाज छर्लङ्ग सुनिन्थ्यो । प्रदेश गएका छोरा, नाती, भाइभतिजा सबै जम्मा भएका होलान् ? म मनमनै सोच्दै हिँड्दै थिए ।

हिजो मात्र गाउँ झरेको थिए । उता शहरमा कम्ता हर्षोल्लास थिएन । मान्छेहरूको चहलपहल उस्तै थियो । पट्का उत्तिकै पट्किन्थे तर यता भने गाउँ सुनसान थियो । अस्ति भर्खर घरै अगाडी गाडी पल्टेर दर्जनौ मान्छे पाँखामा छरप्रस्ट देखेका गाउँले अझैँ त्रसित थिए । मान्छे त के ? सिङ्गो गाडि नै धुजाधुजा भएथ्यो रे ! धन्न,  दुईचारजना हामफालेर बाचेछन् ।

तिहारको चहलपहल र हतारो गाउँभरि सबैमा देखिन्थ्यो । कोही किनमेल गर्न बेसीटार बजार हिडेको भन्थे, कोही दिदीबहिनी लिन, कसैका दाजुभाइ बेसीटारमा भर्खर गाडिबाट ओर्ले रे— फोन आयो । दुई हुल फुच्चेहरू बेतोडले छेवैबाट हुईकिए ।

ल हेर ! सिकेदाई कि छोरी त माला उन्न सक्ने भईसकिछे । कसका लागि उनेकी है ! मोरी, तेरी आमाले भाइ जन्माकी छैन न  त । घरमा त एक्लै हो । खै ! बा-आमा । कार्किबारे काकिले सम्झेँथे भन्दे है । गाउँ नै थर्किने गरी ठुल्ठुला स्वरले कराउँदै पसलकी काकी उकालो लागिन् । भारी ठूलै थियो । तिहारका लागि पसलका सामान लेराएको होला । मैले अनुमान लगाए ।
०००००

गाउँ सानो । हेर्दा चुटुक्क परेको । पहिलापहिला चाँडपर्व आउँदा शहरको भन्दा कम्ता रमाइलो हुन्थेन । ५२ घरधुरी । दुई टोल— तल्लो टोल, माथिल्लो टोल । एउटै बाजेका सन्तान रे ! पहिलापहिला खुब मिल्थे रे ! पर्दामर्दा गाउँनै जुट्थे रे ! तर आजभोलि भने पहिलेको जस्तो एकता थिएन ।

खै ! किन हो कुन्नी ? कसैले कसैलाई गन्दैनथे । त्यति राम्रोसँग कोही कसैसँग बोल्दैनथे । बाटामा भेटेकालाई बोलाउन खोज्यो चिडिँएर हिड्थे । एकै बाजेका सन्तान भएरपनि ठुस्केर मुन्टो बटार्दै बाटो तताउँथे ।

दुई घर माथि भलायखर्कमा बिजुली बलेछ, हाम्रोतिर आएन । हाम्रो टोलका लागि आएको बिजुलीका खम्बा समयमै लिन नजाँदा अन्तैकाले लगेछ । गाउँका दाजुभाई पुन: पहल गर्न कोहि गएनन् । को जाने ? युवा सबै विदेशमा छन् ।  बुढाबुढीले के गर्न सक्थे ?

धारामा पानी नआएको दुई महिना भईसकेछ । पानी बनाउँन पनि कोहि गएनछन् । पल्लो टोलका सबै मिलेर बनाएछन् । तिमीहरूलाई पानी दिदैनौँ भन्दै हाम्रोतिर आउने पाइप काटेर ठेडी ठोस्देछन् । अनि कहाँबाट आउथ्यो— पानी ।

वर्ष अघि गाविसको बजेटबाट डोजरले बाटो खनेथ्यो । सबैले बेसीटारबाट जिल्ला सदरमुकाम जाने छोटो बाटो भन्थे । शुरूका दुई चार महिना गाडि मज्जाले गुड्यो । तर, आजभोलि केका गाडि गुड्नु ? कमिला तक हिड्न छाडेछ । बाटाभरी घाँस उम्रेछ । ठाँउ-ठाँउमा डिल भत्केर थुम्का जम्मा भएछ । मर्मतका लागि पुन: जिल्लामा पहल गर्न गएनछन् । त्यही मौका छोपी पारीपट्टीका गाउँलेहरूले जिल्लामा पहल गरेर डाँडापारीबाटै बाटो छिचोलेछन् । अहिले उतैबाट गाडि जिल्ला सदरमुकाम जादो रहेछ ।
00000

'आठ बजिसक्यो— हैन, अझै सुतिराख्छस् ।  के कुम्भकर्ण भ'को ? उठ कान्छा, चिनि सकिएछ । बिहानबिहानै चिया पिउन पाइएन । जा— पसलमा गएर लेरा ।'

छेवैमा आएर आमा मलाई उठाउँदै हुनुहुन्थ्यो । उठ्ने मन नहुँदानहुँदै म उठे र पसलतिर लागे । मकै घारी छिचोलेर कान्ला उक्लिदै गर्दा पदमलाई भेटे तर ऊ ठुस्केर गयो, नमज्जा लाग्यो ।

खै ! के भएछ कुन्नि ? सानामा कम्ता जम्थ्यो यसको र मेरो जोडी । आज के भयो ? किन बोलेन ? म निराश मुद्रामा त्यहाँबाट पसलतिर हान्निए ।

"यो सबको भाइभतिज हो । यसको बास उठाउँन पाइन्छ । अस्ति भैंसी बेच्यो । हिजो मकै । आज  घरको ढोका बेचेछ । लिनेले बुझ्नु पर्दैन् । यसको आमा छैन् । बाउँ यो जन्मिनु अघि नै मरे । एक्लो छ, मुर्ख छ । बुद्धि एकरत्ति छैन् । यस्तालाई फकाएर सामान लिनुहुन्छ । आज जसले यसको सामान लिएको छ । म त्यसको ढाड नखुस्काइ कहाँ छोड्छु र..." 

हो— हल्ला गर्दै दुई ग्रुप ग्वार्रर्रर्रर्र मथिल्लो टोलबाट डाको छाड्दै तलतिर छेवैबाट कुदे । म झस्किए । डरले शरिर काप्यो, फर्केर हेर्न सकिन तर आवाज भने सुन्दै थिए । सत्तो सराप्नेमा पदमको काका नै रहेछन् । पदमले आजभोलि सामान बेच्दै रक्सि पिउँछ भन्ने सुनेको थिए तर पत्याएको थिइन । कुरो सत्य रहेछ,  भर्खर थाहा पाए । पोहोर सालसम्म केटो राम्रै थियो । अब त रक्सी नखाइ बस्न नसक्ने नै भएछ । त्यहि भएर पो अघि ठुस्केर हिडेको रहेछ । साथिहरूले कुरा त गरेका थिए— एक थोपा रक्सी घुट्क्याउन पाएन भने जाडोले काम छुटे झैँ काम्ने भएको छ ।

ल, विग्रेछ— पदमे ।
पसलतिर हानिएको म त्यही हुलतिर लागे । गाउँलेहरू सबै भेला भए । चर्का चर्कि बढ्ढै थियो । सामान लिनेमा पल्लापट्टी बडबा रहेछन् । पदमको काका र बडबा बिच भनाभन हुँदै थियो । कुरामा कुरो चल्दै जाँदा एकले अर्कालाई नानाथरी आक्षेप लगाउँदै थिए । कसले के भन्दियो कुन्नि रिसले तात्तिएका काका झ्याप्पै बडबाको घाटि न्याक्न पुगिहाले । छिनमै गाउँलेहरूबीच झडप हुन थाल्यो । वाइसेल र युथफोर्स झैँ दूई तीन गुटमा गाउँलेहरू छुट्टिए । एक गुटले अर्को गुटलाई रगतको नाता बिर्सेर पिट्न थाले । कोहिको बाउसँगको रिसिभि, कोहिको घाँस चोरेको,  कोहिको श्रीमतिसँगको झगडा, कसैको पधेँरोमा पानि थाप्न नदिएको, कसैको बाख्रा बारिमा पसेको र हर्जना तिर्नु परेको...  

लू ! आइज, तलाई नमारि छाड्दिन भन्दै एकअर्कामाथि मुड्कि बजार्न थाले । तैले धेरै भयो निउ खोजेको । यसरी आँखै आगाडि १९ दिने जनआन्दोलन झैँ गाउँलेदाजुभाइहरूबीच झडप भएको देख्दा म रनभुल्लमा परे । कस्तो रिसिबि ? के को रिसिबि ? किन रिसिबि ? केही बुझ्न सकिन । केहि वर्ष अघि कुखुरो मारेको, बाख्रा खेतमा पसेको, हर्जना तिरेको, भतिजको सम्पत्ति देखेर लुट्न खोजेको, पानी थाप्न नदिएको... यस्तैयस्तै सुनियो र देखियो पनि । न केहि बोल्न सके, न केहि सोच्न, न केहि गर्न । यस्तो हुलमुलमा बस्नु उचित नभएकाले म निरास मुद्रामा एक्लै घरतिर लागे । घण्टौँपछि झगडा साम्य भएछ । कसैको टाउको फुटेछ, कसैको नाख्रि । कोहि रमाउँदै पनि थिए रे...
00000

घर पुगेपछि आमाले झाको झार्नु भयो— किन गएको त्यहाँ ?  मर्न मन लाग्यो कि क्या हो । चिनी लिन बिहानै निस्केको मान्छे अ‍हिलेसम्म अत्तोपत्तो छैन । अब, खाना खाएर घाँस लिन जानु । कसैको घरमा जानु परेको छैन । आज देउसी खेल्ने दिन हो क्यारे ! कहिकतै जानु पर्दैन । बिहानको झगडा देखिस् नी ! आमा एकसुरमा मलाई कराउँदै थिए तर वास्ता नगरी म एक गिलास पानि पिएर ओछ्यानमा पल्टिए, एकछिनपछि भुसुक्कै निदाएछु । त्यसपछि कसरी दिन बिते पत्तै भएन । न पहिलेको जस्तो रमाइलो थियो, न देउसीभैलो नै खेलियो । पहिलाको जस्तो दाजुभाईबीचमा जुवा न तास । जति खेल्नु छ, जति रमाउँनुछ आफ्नै घर—  घर भन्दा बाहिर डरैडर... 

Thursday, October 16, 2014


कल्पिन्छु 

कल्पिन्छु—

आकाश र धर्तिलाइ भेट गराउने 
त्यस्तो ठाउँ कता छ ?

कल्पिन्छु—
बादललाई हावाबाट स्वतन्त्र गराउने 
त्यस्तो महापुरूष कता छ ?

कल्पिन्छु—
हो, म कल्पिन्छु

कैले— रूदैरूदै भोकले सुकाएको 
पेट सम्झि कल्पिन्छु 

कैले— 
भित्रि असिम इच्छाहरूलाई 
फकाएर कल्पिन्छु

कैले— 
कैयौँ रहरहरूलाई 
झुक्याएर कल्पिन्छु 

हो, म कल्पिन्छु... 

आफैलाई  शुन्यतामा
लुकाउन कल्पिन्छु

पटक-पटक
आफुभित्र आफैलाई
भेटाउन कल्पिन्छु

लाग्छ— 
आफ्नै अस्तित्व 
मेटाउन कल्पिन्छु

हो, म कल्पिन्छु...

तर
दुनियाँ अझैँ
कल्पना भन्दा कति धेरै तल छ

अनि
कहाँ भेटिन्छ— त्यो ठाउँ ?
कहाँ भेटाइन्छ— त्यो महापुरूष ?