Tuesday, September 2, 2014


कुनैबेला...

नदि झैँ
पलपल बगिरहन्थ्यो—खुशी

घाम झैँ
हरपल छाइरहन्थ्यो—न्यानोपना

बादल झैँ
क्षणभर उडिरहन्थ्यो— उल्लास

एउटा—
प्रेमिल पृथ्वीभित्र

मैले कहिल्यै ठानिन—
पिउदै जाँदा उनको मादकता
एकदिन वेहोश हुनेछु
र, भुल्नेछु आफ्नै अस्तित्व

विलिन हुनेछु—
एकदिन निर्दोष शीतका थोपाहरू  झैँ

फगत
एउटा कठोर हृदय

जहाँ— पोखाए जिन्दगीकै महङ्गा खुशिहरू
र, खर्चिए अमुल्य क्षण

शायद,
यहि होला— आत्मिय हुनुको कठोर सजाय

Wednesday, August 13, 2014


बादलहरूले
छेक्दै गरेको जुन

अचेल
हेर्दै— टोलाउँछु  

किनकि
सपनाहरूको
खुट्किला बनाउँदै
एकदिन पुग्नुछ— त्यहि जुन नजिक

र, पन्छाउनुछ
जुनलाई झैँ— सपना छेक्ने बादलहरू

अनि,
निस्फिक्री मुस्कुराउँनुछ
जुन झैँ— पटकपटक

Sunday, July 20, 2014


दुनियाँमा
रिस कसलाई उठ्दैन ?

भर्खरै—
एक मुठ्ठी  पिपलका पात
हावाले झार्यो र कुच्याउँदै उडायो— टाढाटाढा

भन्— दुनियाँमा
रिस कसलाई उठ्दैन ?

Wednesday, July 2, 2014


फगत: एक गहिरो प्रेम

ऊ भन्थी—
खोला पछ्याउँदै जाँदा...

एकदिन
समुन्द्र भेटिन सक्छ
र, भेटिन सक्छ
त्यहाँ— 'अतृप्त मोतिहरूको गहिराई'

म भन्थे—
मन पछ्याउँदै जाँदा...

एकदिन
कसैको मुटु भेटिन सक्छ
र, भेटिन सक्छ
त्यहाँ— 'अतृप्त मायाको गहिराई'

फगत
एक अर्काको विश्वास गर्दै
गहिराईमा डुब्ने— दुवैले निश्चित गर्यौँ

तर,
अफशोच्
अन्ततः गहिराईबाट दुबैको लाश उत्रियो...

फगत
एक गहिरो जिन्दगी

फगत
एक गहिरो प्रेम

Sunday, June 29, 2014


आफ्ना—
केहि प्रिय सपनाहरू 
मेटाएर

मैले उसकै
अप्रिय कहानी 
लेख्नु छ

ऊ— 
फगत जिन्दगीमा
संयोगले भेटिएको
एक पात्र थियो
भनेर...

Saturday, June 28, 2014

आजभोलि
खुशिका क्षण 

हराउँदैछ— 
शहरका प्रत्येक
गल्लि र चोकबाट

हैन— अत्याउँदै  मुटु
दिनहुँ—  लुटेर खुशी

शहरका
तीनै गल्लि र चोकबाट

बतास झैँ— 
त्यो मोरी हराउँछे कता ?

Tuesday, June 24, 2014


बेलाबेला
समय एक बोरा खुशी बोकि
प्रत्येकको जिन्दगीमा
चुपचाप आउँछ

तर, अपशोच
समयको त्यहि चाल
 पत्तै नपाई

धेरैको जिन्दगी—
आँशुमा डुब्छ