Monday, September 10, 2012

.. रित्याएरै लेखे


'फुलाउँन'
हुत्तिएका, 'पलहरुलाई'
'
जीन्दगी', आज रित्याएरै लेखे,

'खुलाउँन'
छोपिएका, कथाहरुलाई
'शब्द', आज जुटाएरै लेखे,

'चुलाउँन'
भास्सिएका, रहरहरुलाई
'हृदय', आज खुलाएरै लेखे,  

'उठाउँन'
सुतेका, पलहरुलाई
'सम्बन्ध', आज टुटाएरै लेखे

'भुलाउँन'
'
उछिट्टिएका', मनहरुलाई
'
अतीत' आज  छुटाएरै लेखे,
 
खैर, 'डुलाउँन'
'
उनकै' वरिपरि,
'
सुवास',  आज फुटाएरै लेखे,
 
'फुलाउँन'
हुत्तिएका 'पलहरुलाई'
'
जीन्दगी' आज रित्याएरै लेखे,

Wednesday, August 15, 2012

भष्ट्रचारीलाइ जेल कि शूली ?


हिन्दु धर्ममा 'कर्म' लाई मानिसको सबै भन्दा ठुलो 'धर्म' मानिन्छ । र, भनिएकै छ चाहे सानो होस् वा चाहे ठुलो होस् श्रमको कुनै मूल्य हुँदैन, पसिना हुँदैन, रंग हुदैन र रुप हुँदैन । 'काम गर फलको आश नगर' हामी सबैमा विदितै वा भनौँ हामी सबैको मुखमा झुण्डिएकै उक्ति हो तरपनि नेपाली राजनीतिका नेताहरु र समाजका कैयौ व्यक्तिहरुमा भने यो उक्ति ठिक उल्टो छ 'काम नगर, फलको आश धेरै गर' । सक्छौँ लुट, नसके फुट (जर्जरा भद्रगोलको स्थिति पैदा गर) र मान, प्रतिष्ठा, सम्पत्तिका लागि सत्तासिन हुन पुन: चलखेलमा जुट चाहे त्यो पारिवार भित्र होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस्, चाहे त्यो राजनीतिक, सांगठनीक वा अन्य कही । 

सुरुवातमै माथिका पङ्त्तिहरु कर्म (काम) बाट किन शुरु गरिरहेको छु भने मानिसले जीवन समयमा जस्तो कर्म (काम) गर्दछ, अन्तत्वगोत्वा त्यहीअनुरुप फल प्राप्त गर्दछ । र, शायद त्यसैको उपज होला भष्ट्रचारीको खेमामा परेका अर्का यी नयाँ भष्ट्रचारी खुम बहादुर खड्का ।

नेपाली राजनीतिमा समय अघि र अहिले 'उल्लु' न हामी न यी भष्ट्रचारीहरु नै थिए र, छन् । भन्नाले ती समयमा न्यायिक निकाय 'गौण' थियो, 'मौन' थियो कारण कागजी प्रकृयामा मोलमोलाइ हुन्थे । पैसा हुत्तिन्थे, कदम बीचमै तुहिन्थ्यो र यी भष्ट्रचारीहरु (अन्य पनि छन् जस्को कर्तुत उजागर हुन बाँकी नै छ) सैयौँले एकलौटी लुड्याइरहेका थिए । र, त भृर्तहरिको भनाइलाइ जगदिश घिमिरेले अन्तर्मनको यात्रामा उहिल्यै लेखेकै थिए - कहिले सत्य, कहिले असत्य, कहिले कठोर कहिले मधुर बोल्ने, कहिले घातक कहिले दयालु, कहिले लोभी कहिले दानी, सधैँ खर्चिरहने र निरन्तर प्रचुर आम्दानी पनि भइरहने राजनीति वेश्या जस्तै बहुरुपी हुन्छ । ती बहुरुपमा 'भष्ट्रचारी' को रुप पनि त समाविष्ट भएकै हुन्छ ।   

खैर, अब प्रसङ्गतिर लागौँ । प्रथमत: 'भष्ट्रचारीलाई किरा परोस्' भन्ने नारा टिसर्टमा लेखिएको र सकृय युवा तथा सामाजिक अभियन्ताहरुले गरेको अभियानहरुमा समय अघि देखेको/सुनेको थिए । र, सोचेको पनि थिए- साँच्चै एक दिन भष्ट्रचारीहलाइ किरा पर्ला त ? यदि त्यसो हुँदो हो त किरा होइन जेल नै परेको राम्रो । परे पनि, पर्नेवालामा पनि छन्, अवश्य पर्छन नै । जनतासंग प्र.म.को भलाकुसारीमा सुशासन तथा भष्ट्रचार शुन्यशिलताको लागि प्रतिवद्ध छु भनेका प्र.म.को बोलि बोलिमै सिमित रह्यो । कार्यान्वयनमा शुन्यता रह्यो र भष्ट्रचारको विगविगि भने शतप्रतिशतशिलतामा रहेको पाइयो । आखिरी सब्बै राजनीतिज्ञको राजनीति त कुहिएकै आलुको बोरा भित्रै न हो ? वास्तवमै भन्नुपर्दा भष्ट्रचार राजनीतिक दल भित्रै मौलाएको छ र यसैको असर अन्यत्र जहितही रहेको छ । त्यही राजनीतिज्ञ देशको सर्वोच्च पदमा पुग्छ । सांसद, मन्त्री बन्छ अनि भष्ट्रचारको अन्त्य होइन भष्ट्रचारको रोग फैलाउँछ । उदाहरण: जो कोहीलाई दिनै परेन देखि नै रहँनु भएको छ र अझै देख्न बाँकी नै छ । भनेपछि सतही रुपमै बुझ्न सकिन्छ नेपाली राजनीतिमा भष्ट्रचार बढ्नुको मुल कारण भनेकै शक्ति र सत्ताप्रतिको मोह हो । त्यसो नहुँदो हो त अलि कम हुन्थ्यो कि ? भन्ने प्रश्नको लागि उत्तर दिन सकिने कुनै आधार भने छैन । तरपनि सत्य चै के हो भने नेपाली राजनीतिमा स्वच्छ छवि भएको व्यक्ति कमै छन्, र छैनन् नै भन्दा पनि हुन्छ । किनकी ती सबै प्राप्ति को एउटै मूलमन्त्र भनेको 'पैसा' हो, उपाय 'भष्ट्रचार' ।

हुनत भष्ट्रचार कुनै नौलो कुरो भने होइन । हाम्रो जस्तो अल्पविकसित तेस्रो धर्वीय देशहरुमा भष्ट्रचार दिनप्रति दिन बढ्दो अवस्थामा छ । भष्ट्रचार नेपालमा मात्र होइन विश्वका कुनै पनि राष्ट्रमा ठुलो वा सानो अनुपातमा भएका छन् । हाम्रै छिमेकी मुलुक भारत मै देख्न सक्छौँ । शायद भष्ट्रचार ठुलै परिणाममा हुने भएकैले होला भष्ट्रचार विरुद्धमा अन्ना हजारे र रामदेवको अभियान तीव्ररुपमा जारी छ । भनेपछि निष्कर्षमा के आँकलन गर्न सकिन्छ भने उच्च नेतृत्व तहका नेताहरुकै भष्ट्र मति भएपछि राष्ट्रमा भष्ट्रचार हुने नै भयो । यसमा कसैको दुइमतै छैन ।

अन्त्यमा, उप्काउँन खोजेको विषयमा के थियो भने समाजमा रहेको कुनै एक नागरिकले कानून विपरित कुनै काम गर्दा न्यायालयले फौजदारी मुद्दा चलाई घट्नाको प्रकृति हेरी सानो ठुलो बिगो संगै जेल चलान गर्दछ । तर, यहाँ राष्ट्र, राष्ट्रियता र आम जनताको भविष्य बनाउँने नेतृत्वदायी जिम्मेवारी बोकेका नेतृत्वतहबाटै भएका यस्ता भष्ट्रचारको मुद्दामा गरिएको दण्ड भने अत्यन्तै कम रहेको पाइन्छ उदाहरणमा हिजोको सुनुवाइलाइ लिन सकिन्छ । वास्तवमै यस्ता भष्ट्रचारीहरुका लागि कानूनमै मृत्युदण्डको सुनुवाइ राख्नु पर्ने हो तर मृत्युदण्डको सन्दर्भमा नेपालको ऐन कानुनमा केही तोकिएको वा राखिएको छैन । तर सामाजिज सद्भाव, सहिष्णुता, सह-कार्य, सुशासन कायम गर्दै राष्ट्र विकासको महत्वपुर्ण पदभार सम्हालेका उच्च पदाधिकारीहरुबाटै यस्ता चरित्रहिन कार्य हुन्छ भने तपाई आफै भन्नुस यी भष्ट्रचारीहरुलाइ जेल कि शूली ?    

Sunday, August 12, 2012

युवाका कुरा


सन् २००० देखि बर्षेनी अगष्ट १२ को दिन अर्न्तराष्ट्रिय युवा दिवस मनाँइदै आएको छ । यस वर्ष पनि 'युवा दिवस' विगत वर्ष झै विश्वभरिका युवासँ'साथ साथ, संगै संगै' को सहकार्य अभियानमा छ । र, नारामा भनिएकै छ "सुन्दर विश्व निर्माणका लागि युवा संगको सहकार्य ।"

विश्वका प्राय: सबै देशले विकास र परिवर्तनलाई आत्मासाथ गर्न युवाशक्ति परिचालन र सहकार्य अत्यन्तै आवश्यक छ, भनिरहँदा नेपालमा भने युवा को अवस्था कस्तो छ ? राज्यले युवाशक्तिको सहि परिचालन र सदुपयोग साच्चै गर्न सकेको छ कि छैन ? भन्ने यावत प्रश्नहरूमा हज्जारौँको प्रस्ट उत्तर छ जो कोहिला सोध्दा उत्तर थुकका छिट्टा भन्दा पहिले ठोक्किन आइपुग्छ भने जस्तो युवाशक्तिको सदुपयोग छैन । देशमा युवाको अवस्था अष्पष्ट र जटिल छ । सहि तरिकाले म्बोधन हुन सकेको छैन । नाजुक,  पीडादायिक छ। 

आज 'अर्न्तराष्ट्रिय युवा दिवस' मनाइरहँदा लेख्न मन लागेको कुरा के हो भने देशमा नेताको कुरा, पत्रकारको कुरा, कलाकारको कुरा, नागरिक समाज तथा अगुवाइको कुरा, उद्यमीको कुरा (केहि राम्रा) पनि छन्तर धेरै जसो अर्थहिन, स्वादहिन र वेकम्माको तीतो यथार्थका छन् । र पनि संचार क्षेत्रमा हरेकदिन अर्थात् पत्रपत्रिका टेलिभिजनमा हेडलाइन भईरहेका छन् । तयहाँ सकरात्मक सन्देश सहित हज्जारौँ युवा छन् जो देशका लागि केहि गर्न मरिमेटेर पसिना बगाइरहेका छन् । ती जमातको प्रयत्न र कामको कुरा कहाँ छ ? को सुन्छ ?  सुनाउँने को छ ?  , देशमा केहि गर्ने मनसायका युवा के गर्दै छन् ?  युवाशक्तिको सदुपयोग तथा संचालन गर्न स्थापना भएका सम्बन्धित  निकाय र संयन्त्र के गर्दै छ ? हालसम्मको प्रगतीको अवस्था कस्तो छ ? भन्ने विषयमा आम युवाहरूला न जानकारी छ, न त्यस्ता कुनै लक्षित कार्यक्रमको अवसर नै । यसर्थ, यस विषयमा स्पष्टरुपले सम्बोधन हुनु अत्यन्तै आवश्यक रहेको देखिन्छ । देश विकास तथा अर्थतन्त्रको धरोहर मानिने युवाशक्ति देशमा निष्कृय तथा लुप्त अवस्थामा छ । सबैमा सर्वविदितै छ अवसरको प्रस्फुटन छ, युवाशक्तिको सदुपयोग । युवाशक्तिलाइ बेवास्ता गरेर देश विकासको सपना देख्नु-देखाउनु घुमिफिरि कुरो उही हुन आउँछ नेताले देशको समग्र अवस्थालाई नबुझी भाषणमा स्वीजरल्याण्ड बनाउँछु भने जस्तै । तसर्थ  "युवासँग कुरा होइन काम गर, युवालाई प्रयोग र सम्मान गर ।"  युवाका कुरालाइ पनि प्राथमिकतामा राखि सहकार्य तथा समन्वय गर्दै अगाडी बढ्दा बृहत्तर विकासमा जोड पुग्ने हुनाले राष्ट्रलाई ऐतिहासिक उचाईतिर लम्कन अवश्य सहयोग पुग्नेछ ।

, त्यस्ता सहकार्यमा युवालाइ लक्षित गरी स्वरोजगारका कार्यक्रम संचालनमा ल्याइनु पर्छ । एउटा भनाई छभोको पेटले न शान्ति आउँछ, न क्रान्ति नै सफल हुन्छ । त्यस्तै युवाशक्तिको सदुपयोग नगरि देश विकास कसरी सम्भव छ ? देश विकास र अर्थतनत्रको सबलिकरणको लागि स्वरोजगारका कार्यक्रम तथा देशमा औद्योगिकरणको वातावरण सिर्जना गर्नुपर्छ  । खेर गइ रहेका युवा शक्तिलाइ उत्पादनशिल क्षेत्रमा प्रयोग गर्नुपर्छ । शिक्षित तथा अशिक्षित दुवै प्रकारका वेरोजगार युवाहरुलाइ क्षमता अनुरूपको अवसर उपलब्ध गराउन विभिन्न व्यवसायिक कार्यक्रम, तालिम तथा आर्थिक सहयोग गर्न सरकारले नीति तथा कार्यक्रम बनाइ संचालन गर्नुपर्छतब न देशको द्रुतर विकासमा युवाको महत्वपूर्ण भूमिका देखिन्छ । तर बिडम्बना  ठुलो मात्रामा एकातिर प्राकृतिक स्रोत खेर गैरहेको छ भने झण्डै ० लाख भन्दा बढी युवाशक्ति विदेशमा श्रम बेच्न बाध्य छन र चौमासिक रुपमा ३/३ लाख युवाशक्ति विदेशिने क्रम जारि छ । भनेपछि देशमा युवासँगको सहकार्य र युवाशक्तिको सम्बोधन हुन नसकेको कुरा घाम झै छर्लङ्ग बढ्दो राजनीतिक अस्थिरता तथा संक्रमणले कैयौँ युवाविद्यार्थीहरू दलगत हतियार भएका छन् । युवाशक्तिको समुचित सम्बोधन हुन नसक्नाले विविध क्षेत्रमा विकृति, विसंगती,  एक अर्काप्रतिको बढ्दो वितृष्णा, असहयोग मनमुटा जस्ता विसंगतीहरू बढ्दो रुपमा देखिएको छ ।

अब, समाधान के ? भन्दैगर्दा कुमालेको कलात्मक हातले बनाइएका माटोका सुन्दर भाडा झै युवाहरूलाई अवसर दिने वातावरण सिर्जना गर्नुपर्छ । हरेक क्षेत्रमा युवाशक्तिको पहुँचलाइ विस्तार गर्ने, क्षमता वृद्धि गर्ने हो भने विश्वका युवाहरूले गर्न सक्ने काम के नेपाली युवाले गर्न सक्दैनन् ? अवश्य गर्न सक्छन् । यहाँ कार्यक्षमता प्रदर्शन गर्न सक्ने धेरै जुझारु युवाहरू छन् । तीनिहरुको प्रयत्न तीखो छ तर सम्बन्धित निकायबाटै तीन्लाइ बोधो बनाउँने काम भइरहेको छ । अनि कसरी देशको विकास हुन्छ र हुन्छ युवाको सदुपयोग अब राज्यले युवाको कुरा सुन्नु पर्छ । केहि गर्न चाहाने युवाहरूलाई वातावरण दिनुपर्छ र आम युवाको कुरालाइ सहि गलत केलाएर पथप्रदर्शकको भुमिका माथिल्लो तहबाट भएमा सुन्दर नेपाल निर्माणको लागि युवासगको सहकार्यले सार्थकता पाउनेछ

Monday, July 23, 2012

किन Common Sense Economics पढ्नै पर्छ?


हामी सब्बैलाई थाहा छ, समय मुल्यवान् छ । तरपनि समयको परिधिमा रहि एक कुशल पेशेवर अर्थशास्त्री या अर्थशास्त्रको बारेमा यथेष्ट जानकारी बटुल्न न त  हामि धेरै भन्दा धेरै समय नयाँ नयाँ Term  सिक्नको लागि खर्चिन्छौँ, न सुत्र, तालिका या अर्थशास्त्रसंग सम्बन्धित महत्वपुर्ण बुँदाहरुको लागि नै । हामी के चाहान्छौँ ? भन्नाले कुनै वस्तु तथा सेवाप्रति हाम्रो इच्छा, चाहाना, आकांक्षा के छन् ? वास्तवमा ती नै अर्थशास्त्र भित्रका विषयवस्तुहरु हुन् । तसर्थ यस्ता स-साना वस्तु तथा सेवाप्रतिको व्यक्तिगत छनौटले नै अर्थशास्त्र भित्रको जटिल विषयवस्तुलाई बुझ्न मद्दत गर्दछ र अर्थशास्त्रमा समाविष्ट विभिन्न बिषयवस्तुहरुलाई विश्लेषणात्मक तरिकाबाट स्पष्टरुपमा बुझ्न सहयोग पुग्ने हुनाले, अर्थशास्त्रप्रति आम उपभोक्ता तथा सर्वसाधारण व्यक्तिहरुमा सामान्य धारणा र बुझाइमा स्पष्टता ल्याउनु नै Common Sense Economics पुस्तकको मुख्य उद्देश्य रहेको छ ।

आजको दिन सम्म हामीले अर्थशास्त्रको बारेमा जति बुझेका छौँ । निश्चय नै यस पुस्तकको अध्ययनबाट अर्थशास्त्रसंग सम्बन्धित रहेका विभिन्न क्षेत्रहरुलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमतामा परिवर्तन ल्याउँछ । यहि पुस्तक मार्फत अर्थशास्त्रलाई बुझ्ने पहिलो चरणमा प्रवेश गर्दै छौँ भने पनि यसले अर्थशास्त्रको साधारण आधारभुत सिद्धान्तबाट अर्थशास्त्रलाई सजिलै जानकारी गराउँदछ र साथ साथै साधारण अर्थ र परिभाषाबाट नै अर्थशास्त्रका सिद्धान्तहरुलाई बुझ्न सकिने विश्लेषण रहेको पुस्तकमा पाइन्छ । यी विशेषताको कारणले गर्दा नै अर्थशास्त्र सम्बन्धि अवधारणाहरुमा तर्कपुर्ण सोचाइहरु राख्न, देखा परेका सवालहरुलाई स्पष्टरुपमा केन्द्रिकृत गरी सम्बोधन गर्न, त्यस्ता अवस्थाको विश्लेषण गर्न, अन्य क्षेत्रहरुमा देखिएको विभिन्न समस्याहरुको प्रभावकारी समाधानका लागि गरिने कार्यान्वयनको पाटोलाई सशक्त बनाउँन र व्यक्तिगत विश्लेषण गर्ने क्षमताको विकास गर्नका साथै अर्थशास्त्रमा प्रयोग हुने स्वस्थ भनाइ (Term/Sound Arguments)  र अर्थशास्त्रमै प्रयोग हुने Nonsense Matter हरु बीच भएका भिन्नताहरुलाई बुझ्ने  क्षमताको विकास गर्न यस पुस्तकले टेवा पुर्याउँदछ ।

अर्थशास्त्र र वाणिज्यका विद्यार्थी, शिक्षक तथा यस संग सम्बन्धी सम्पुर्ण निकाय, व्यक्ति, समुह, संघ-संगठन र यसमा विशेष चासो राख्ने जो कोहिका लागि Common Sense Economics  उत्तिकै उपयोगी र महत्वपूर्ण छ । विशेषत: अर्थशास्त्रका विद्यार्थीका लागि  D. Gwartney ले भनेकै छन् - ३० वर्षको लामो अध्यापन पश्चात मैले कष्ठपुर्ण तरिकाले दुइवटा कुराहरु सिके: १) विद्यार्थिहरु अर्थशास्त्रमा पढाइने महत्वपुर्ण वुँदाहरु/तत्वहरुमा चुकिरहेका हुन्छन् कारण उनीहरु सम्बन्धीत विषयलाई प्रमाणित गर्न प्रयोग गरिएका सुत्र, तालिकिकरण, ग्राफमा धेरै व्यस्त रहन्छन् जुन जान्नु आवश्यक छैन् । र २) विद्यार्थीहरुले कलेजमा अध्यापन गराइने अर्थशास्त्रको बिषयहरुको बारेमा स्पष्टरुपमा बुझेका हुँदैनन् । तसर्थ यस पुस्तकले विद्यार्थीहरुलाई पनि अर्थशास्त्रको बारेमा धेरै जानकारी गराइ अर्थशास्त्रप्रति गहन विश्लेषणात्मक क्षमताको विकास गराउँछ ।

व्यवसायी तथा नीतिनिर्माण तहमा जो कोही हुनेहरुका लागि पनि यो पुस्तक अत्यन्तै जानकारीमुलक छ । यद्यपी, चाहे कोही कुनै सरकारी या नीजि सम्बन्धित क्षेत्रमा विज्ञ, अनुभवि हुँदाहुँदै पनि समयको अन्तरालमा अर्थशास्त्रका स-साना तत्वहरुमा भएको परिवर्तनबाट समग्र अर्थतन्त्रको क्षेत्रमा पर्ने असर, समस्याहरु र तीनका परिणामहरुलाइ एकै ठाउँमा राखेर कसरी समाधान गर्न सकिन्छ? तीनका कारण, सिर्जित जटिल अवस्था र समाधानका बारे यथेष्ट जानकारी यस पुस्तकबाट पाउँन सकिन्छ । 

निश्चय नै जो कोही आफ्नो जागिर (काम, दायित्व र जवाफदेहिता) को बारेमा सचेत रहन्छ । तर बुझ्नै पर्ने कुरा यो हो कि देशमा लागु भएका राजनैतिक/सरकारी नीति नियमहरुले व्यक्तिगत कृयाकलाप र समग्र राष्ट्रिय कृयाकलापहरुमा कसरी प्रभाव पार्छ । र, अर्थशास्त्रको बारेमा बुझ्नु यसकारण महत्वपुर्ण छ, यदि राष्ट्रमा सहि राजनैतिक संगठन भएको खण्डमा देशका नागरिकहरु आर्थिक कृयाकलापहरुको बारेमा बिना सचेत, बिना चिन्तन, बिना साधारण आर्थिकक्रियाकलापहरुको प्रभावको बारेमा जानकारी नरहँदा नरहँदै पनि कुनै क्षेत्रको साँघुरो अवस्थामा रहेर पनि समृद्धिको लागि सक्दो सहयोग र काम गरिरहेका हुन्छन् । 

र, अन्त्यमा Common Sense Economic ले त्यस्ता Basic Principle हरु जसले अर्थतन्त्र र अर्थशास्त्रसंग सम्बन्धित विभिन्न क्षेत्रहरुमा कसरी काम गर्छ भन्ने बारेमा वर्णन गरेको छ, जुन हामीले सजिलै बुझ्न सक्छौँ । र, एकै समयमा कुनै राष्ट्र समृद्धिको अवस्थामा रहेको हुन्छ, कुनै Idle को अवस्थामा भने कुनै अवोन्नतीको अवस्थामा हुन्छ, किन र कारण के हो ? अध्ययन पश्चात अवश्य जानकारी अवगत हुन्छ र विश्लेषण गर्न सकिन्छ । र, भन्न मन लागेका कुरा: आर्थिक कृयाकलापमा एक सचेत नागरिकको भुमिका निर्वाह गर्न, वृहत विश्लेषणबाट राजनैतिक तथा व्यक्तिगत छनौट र नाफा आर्जन गर्न, Basic Economic Principle  हरु बुझ्न तथा थाहा पाउँन, धन उपार्जन गर्ने तरिका थाहा पाउँन, आर्थिक तथा व्यवहारिक बजारिकरणको अवस्था थाहा पाउँन, समृद्ध राष्ट्र निर्माणको लागि अर्थशास्त्रको भुमिकाबारे यथेष्ट जानकारी थाहा पाउँन एक चोटि Common Sense Economics पढ्नै पर्छ ।
(अध्ययनका लागि पुस्तक दिनुभएकोमा सुरथ दाजुप्रति कृतज्ञता र Common Sense Economics  पुस्तकमा आधारित रहि लेखिएको हो ।)  

Friday, July 13, 2012

Building the better world: partnering with youth

समाज परिवर्तनशिल छ । परिवर्तनशिल समाजका सचेत वर्ग भनेकै आजका 'युवा' हुन् । व्यक्ति, समाज, राष्ट्र र विश्वको विकास र उन्नतीको चाहनालाई मुर्त रुप दिन 'युवासंगको सहकार्य' नीतान्त आवश्यक छ । आजको घडिमा कुनै पनि व्यक्ति, समाज र राष्ट्रको समग्र समृद्धि र सम्पन्नताको सहायता युवा शक्तिमा निर्भर छ र यस्का लागि युवा शक्तिलाई वैज्ञानिक ढंगले परिचालन गर्न सकेको खण्डमा विद्यमान देखा परेको वैमनश्यता र निराशाको अवस्था स्वत: फाटेर जान्छ ।

राष्ट्रको सिमा क्षेत्र भित्र रहेको स्रोत तथा साधनको उत्पादन, समुचित सदुपयोग तथा व्यवस्थापन गर्न न त कुनै सरकारी, गैर सरकारी या भनौँ सम्बन्धित निकायबाट पारित भएका प्रतिवेदनका ठेलीले नै गर्छ न ठुला ठुला विज्ञप्ति र भाषणले । संसारका जत्ति पनि समृद्ध र सम्पन्न मुलुकहरु छन् ती आफै विकसित भएका छैनन् । युवासंगको सहकार्य, क्षमता र सकारात्मक सोचको समन्वयको कारणले भएका छन् । भन्नाको तात्पर्य यो हो कि आशा, अपेक्षा र सम्भावनाहरुलाई वास्तविकतामा परिणत गर्न, समृद्ध, समुन्नत र न्यायपूर्ण राष्ट्र र संसार बनाउनको लागि कुनै पनि मुलुकले युवासंगको सहकार्य तिर ढिलो चाँडो दृष्टिगोचर गर्नैपर्छ ।

हामी सब्बैमा अवगत छ । बर्षौ हज्जारौँ युवा शक्ति विदेश पलायन भएका छन् । बढ्ने क्रम दिन दुइ गुणा रात चौ गुनाको क्रममा छ । बढ्दो राजनैतिक अस्थिरता, बढ्दो वेरोजगारको अवस्था, पेशामुखि प्राविधिक शिक्षाको अभाव संगै नातावाद र कृपावादको बढ्दो अराजकताको कारणले देशमा कैयौँ दक्ष सिपयुक्त युवाशक्ति अल्पमतमा परि खेर गैरहेका छन् । अनि हामी चै गरिविलाई सष्टांग नमस्कार गरिरहेका छौँ । वास्तवमै गरिविको रेखाबाट उक्लिने हो भने समृद्धिको टापुतिर लम्कने हो भने राष्ट्रको विकासको मुल प्रवाहमा युवा शक्तिलाई समाहित गरि सर्वाङ्गिन विकासको गतिमा तीव्रता ल्याउनु अपरिहार्य छ । युवासंगको सहकार्य नीतान्त जरुरी छ ।

इतिहासको पानालाई पल्टाएरै हेर्ने हो भने पनि हरेक सफलतामा युवाको सकृय सहभागिता रहेको पाइन्छ । चाहे कैयौँ जनआन्दोलन भनौँ या सामाजिक सद्भावका लागि शान्ति दिप प्रज्वलन । तसर्थ राष्ट्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सहभागि गराउन सकिने, राष्ट्रको चौतर्फि विकासका सन्दर्भमा जस्तै: कृषि उत्पादन, व्यवसाय र औद्योगिक क्षेत्रमा पेशामुखि बनाउने मार्ग चित्र सहितको राष्ट्रिय कार्ययोजना तयार गर्नुपर्दछ । विविध धरोहरबाट सम्पन्नता भएर पनि विपन्नताको उदोगति तिर जानुमा हाम्रै त्रुटि रहेको छ । हामीले श्रमलाई चिनेनौँ, पसिनाको मुल्य थाहा पाएनौँ । युवाको उर्जालाई चिनेनौँ । जल र थलमा भएका खनिजपदार्थको सदुपयोग गर्न जानेनौँ । चिन्ने र जान्ने को थिए त ? कोहि थिएन ? जब सम्म हामीमा निहित श्रम र सिपलाई ३६५ दिनै प्रयोग गरेर बाँच्न र केही उब्जाउन जान्दैनौँ तब सम्म कोहि छैन् र केहि हुनेवाला छैन् । सानो मुलुक भुटान विद्युत वेचेर आम्दानी गरिरहेको छ, आर्थिक उन्नति गरिरहेको छ । हामी यहाँ जलमा ढल मिसाइ बगाइ रहेका छौँ भनेपछि हाम्रो युवाशक्ति र स्रोत साधन प्रतिको चिन्तन कति निर्दयी छ स्वत: स्पष्ट हुनजान्छ ।

अन्त्यमा, भन्नै मन लागेका कुरा: कृषिप्रधान देशमा कृषिको काम गर्न युवा हिचकिचाउँछ । आधुनिक प्रविधियुक्त खेति प्रणाली त परै जाओस् कृषकले समयमा विउ, विजन र मल पाउँदैनन् । विदेश पलायन भैसकेका र हुने क्रममा रहेका युवा शक्तिलाई व्यवस्थापन गर्ने कुनै निकाय र अवस्था छैन् । दिनानुदिन राजनीति अस्थिरता बढ्दो छ, नेतृत्व तहमा उहि पुरानै सोँचको स्थिरता छ । युवाशक्तिलाई राजनीतिक हतियार बनाइएको छ । भनेपछि यस्तो अराजक स्थलमा अलिकति नवीन सोच राखि युवासंग सहकार्य गरेर युवालाई उत्पादनमुखि बनाई देश विकास तिर लम्के कत्ति राम्रो हुन्थ्यो होला? हजुर (तपाई) को सोच के छ? शुभ कार्यमा ढिलाई किन? भविष्य सुनिश्चित छ ।