Monday, December 21, 2015

राज्यले भूमिका बिर्सन हुन्न

नक्कली भुकम्पपीडित बढेको समाचार दुखद हो । सुखद त राज्यको लज्जा यसमार्फत उदाङ्गिनु पनि राम्रो होइन । भुकम्पपोत्तर तथा पुननिर्माण प्राधिकरणको कार्ययोजना तथा प्रणालिमाथि अब प्रश्न उठ्नु स्वभाविक हो । जनताले भुकम्पपीडितको गलत तथ्यांक प्रेषित गरे, गलत कार्य हो । मतमतान्तरको कुरै रहेन  । तर, तीनै जनताबाट कर असुल्दै आएको राज्यले विगत केहि दशकदेखि त्यस्तो के सेवासुविधा दिदै आयो ? गाउँगाउँमा के योजना लगियो? जनता किन कठिन जीवनयापन गर्न बाध्य छन् । भाषण बाहेक गाउँ छिर्दा नेतासँगै के पुग्यो । उत्तर स्पष्ट छ ।

केहि हप्ताअघि पत्रपत्रिकामै पढियोमन्त्रीको आसेपासे भुकम्पपीडित कोटामा विदेश गए । पढ् गए । घुम्न गए । जान चै गए । विगत केहि वर्षदेखि समचारहरु आइरहेसांसद रातो पार्सपोर्ट खदिविक्रिमा समातिए । किर्तेकाम गर्दागर्दै विशिष्ट पदाधिकारीहरु कार्यालयबाटै समातिए । देशको आमुल परिवर्तको विगुल फुक्ने केहि नेताहरुलाई अख्तियारले शंकास्पदको सुचना पठायो । पालमुनि बसेकाहरुको लागि आएको विदेशी रकम थन्किए र हराए । पेट्रोल, डिजेल, ग्यास लगायतका इन्धनको सामानहरु डिसिस्टम कालो सञ्जालबाट बजारमा ल्याइयो । आयल निगम कमिशनको विटो निमोठ्दै घायल निगम बन्यो । अख्तियारले प्रमुखलाई छानविनको पत्र पठायो । भन्सार कार्यालयकै मिलेमतोमा तस्करी भएको थाहा हुनआयो । अनुदानको तेल छिरेको केरुङ्ग नाका समेत अछुतो नरहेको समाचार आइरहे । सशस्त्र प्रहरी प्रमुख आइजिपी किर्ते कार्यबाट निलम्बित भए । अब्बल विद्यार्थीहरुलाई राजनीतिमा लाग्न डा.सापले नक्कली आश्वासन छरे । भुकम्प गएको यतिका महिनापछि पालमुनि बासको दर्दनाक जीवनकथा पत्रपत्रिकामा छ्यालब्याल भए । सक्कली प्लस पछि बढेर नक्कली भनिएका भुकम्प पीडितहरु बढ्दो चिसो र नकाबन्दीको चेपमा नुनचामाल जोहोमै कठ्याङ्ग्रिए । सरकार प्रमुख बारपाकको भुकम्प पीडित बस्तीमा पुगेर तराईको आन्दोलनकारीलाई चिड्याउने वक्तव्य फ्याकेर बालुवाटारको न्यानो सिरक ओड्न आइपुग्यो । अब मनन गरौनक्कली कार्य गर्ने को ? उत्तर सम्भवतः सबैमा विदितै छ


यीयस्तै कार्यहरु संवैधानिक तथा जनसेवामा समर्पित पदधारण गरेका व्यक्तिहरुको गलत तथा कूआचरण, प्रणलीगत त्रुटी र हिजोदेखि देश बनाउछु भन्नेहरुबाट भएको नकरात्मक कार्यहरु सबैभन्दा बढि भागिदार रहदै आएको छ । अब यस विषयमा नयाँ शिराबाट बहस हुन जरुरी छ ।  नेतृत्व तहमा रहेका कैयौ कार्ययोजनाहरु जनता झुक्याउने नक्कली छन्, यो वास्तविक र आजको तीतो यथार्थ हो । जनता बाध्य, लाचारी र हीनताबोधको साँधमा उभिएर दर्दनाक जीवन यापन गर्न बाध्य छन् भने अर्कोतिर यस्ता समाचार आउनु र राज्यले आफ्नो भुमिका बिर्सिनुमा कुनै तात्विक अन्तर छैन । होदेश  संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । आन्दोलन र राजनीतिक संघर्षबाट यहाँसम्मको बाटो बनेकै हो । देशले संविधान पाएकै हो तर विकास र परिवर्तनको बाटो भने खराब प्रणली हुँदै कमाउतन्त्रको जर्जजरताबाट ग्रसित मनोदशाले निर्देशित भएकै हो । अब चेतना भया !






















Wednesday, December 16, 2015

डिग्री

"शिक्षा जीवनको सार हो", बकाइनाको सिर्कनाले तर्साउदै सरले सबैलाई रटाए ।

मैले कुनापट्टीबाट चिम्सो आँखा तन्काउदै बोर्डमा लेखेको बाङ्गाटिङ्गा अक्षर सानो स्वरमा सुस्तरी पढे ।

सर चिच्याउँदै हुनुहुन्थ्यो
"हो, शिक्षा जीवनको आधार हो र हौँ तिमीहरू आधार यो देशको र भविष्यको ।" 

पढाइको निर्धो फुच्चे, एकाएक काला दात देखाउँदै ङिच्च हास्यो ।

म पनि फिस्स मुस्कुराए उसका काला दात देखेर ।

पछाडिबाट कोट्याउँदै मसिनो स्वरमा उसले अचानक जटिल प्रश्न गर्यो
"देश र भविष्यको आधार हामी कसरी भयौँ ? शिक्षा जीवनको सार कसरी भयो ?"
                           
फुच्चेको अप्रत्यासित प्रश्न सुनेर म निकैबेर ट्वा भए ।

मलाई न फुच्चेको प्रश्नको उत्तर आउथ्यो । न "शिक्षा जीवनको सार हो, होइन", थाहा थियो ।  

मलाइ यत्ति थाहा थियो
वाल्यावस्थामा स्कुलमा सबैभन्दा बढी मिल्ने साथि भने ऊ पक्कै थियो ।
०००००

२५ वर्ष पछि...

मैले व्यवस्थापनमा डिग्री पास गरे ।

फुच्चेले खाडीमुलुकबाट अनगिन्ती भोइगाइ र बुझाइहरूले जिन्दगी, समाज र देशलाई हेर्ने व्यवहारिक सोचमा पास गर्यो ।

विश्वविध्यालयले मेरो हातमा सर्टिफिकेट थमाइदियो ।

कम्पनीले उसको हातमा थोपाथोपा पसिनाको पैसा थमाइदियो । देशले परदेशीनुको अर्थ ।

ऊ विदेशबाट फर्किएर गाउँमै बाख्रापालन गर्दै छ । पुराना विर्सिएका मठमन्दिर मर्मत गर्दै छ । भत्किएका पाटी, पौवा र चौताराहरू बनाउँदै छ । मर्मत गर्दै छ उसैउसै पुरिएका कुवाँ, धाराहरू ।

"हामीले गाउँमै केहि पौरख गर्नुपर्छ", ऊ गाउमै केहि गर्न सकिने सपना युवाहरूलाइ देखाउँदै छ ।

सुन्दैछु "ऊ खाडीमुलुकबाट भोगाइ र बुझाइका अनगिन्ती डिग्री लिएर फर्केको छ ।"
०००००

म शहरमा छु । पढ्दै छु । वर्षमा एक-दुइपटक गाउ जान्छु । सरर एकपटक गाउ डुल्छु अनि फर्किन्छु ।

शहरको दैनिकी उस्तै पुरानो छ, विर्सिएका पुराना गाउँका पुराना दुःखका कथा जस्ता ।

डिग्री हातमा लिएर भौतारिएका हज्जारौँ युवाहरूको दुर्दशा चोकचोकमा छ । म उसैउसै रूमल्लिरहेको छु, यतैकतै विर्सिएका पुराना गल्लिहरू झैँ ।

"डिग्री बिक्रीमा", कसैले कतै इन्जिनियरको डिग्री (सर्टिफिकेट) बिक्रीमा राखेको सुनेको थिए । देशको स्थिति देख्दा साच्चै हो कि झै मनमा पर्छ ।  

खैर नहुन पनि सक्छ तर वास्तविकता त्यस्तै छ ।

चोकचोकका च्यादोकानहरूमा वेरोजगार अनुहारहरू अक्षरको बिल्ला चुरोटको धुवासँगै उडाइरहेका छन् । र, उडाइरहेका छन् डिग्री जिन्दगी ।

कैयौ डिग्रीहोल्डरहरू खाडीमा जान बाध्य हुँदैछन, गइरहेका छन् ।

म पनि त एकदिन जान बाध्य हुनेछु । गर्व त मलाई पनि छैन् डिग्री पास गरेकोमा ।

हिजो भर्खर ४१ औँ दिक्षान्त समारोहमा स्कार्फमा फोटो खिचाए । फेसबुकमा राखे । बाधाइ ओइरियो ।

"बाआमा गाउतिर धन्य भए रे !", फोनमा कसैले सुनायो । तर, म मनमनै धन्य हुन सकिन ।  

बा'ले गाउँबाट बुझेको डिग्री र मैले शहरमा बुझेको डिग्रीको यथार्थ फरक छ ।

डिग्री पास गरेर मैले अक्षर चिने । आफ्नै देश चिन्न सकिन । देशले पनि कहाँ चिन्न सक्यो र मलाइ ?

देशमा रोजगारीको अवसर छैन । पेट्रोल छैन । ग्यास छैन । हरेकथोकको हाहाकार छ । वर्तमान र भविष्य दुवै अन्धकार छ।
०००००

उबेला बाले थोरै पढे । तर, धेरै पढे भोगाइहरू ।

गाउँले जीवन पढे । र, पढेपाखापखेराका जिन्दगीहरू ।

आमाले चुलोचौका पढ्नुभयो । गाइगोठमा भैसी, गाइबाख्राहरूको संगत पढ्नुभयो । गाउले भोगाइहरू पढ्नुभयो । र, जिन्दगीको अर्थ घाँस दाउरामा देख्नुभयो र उसैगरी बुझ्नुभयो ।

बा-आमाले उसैगरी उस्तै गाउले जीवन पढाउन चाहनु भएन । र, मलाइ पढ्न पठाए शहर ।

मैले शहरबाट "क,ख,ग.." र "A, b,c, d.." पढे । देश पढिन । इतिहास पढिन । गाउँ पढिन । बा-आमाको भोगाइहरू पढिन ।

मैले सगरमाथाको उचाइ पढे । बुझाइको उचाइ पढिन । अक्षरको सार पढिन । सीप सिकेर गर्ने अवसर पढिन ।

गौतम बुद्ध जन्मेको थाहा पाए ।

थाहा पाए पृथ्वीनारायण शाहाको बहादुरी । लुम्बीनि थाहा पाए । थाहा पाए अनेकौँ ऐतिहासिक मठमन्दिर र दरबारहरू । हिसाब थाहा पाए । अंग्रेजी थाहा पाए । साहित्य र विज्ञान पनि थाहा पाए । तर, कहिल्यै थाहा पाइन "गाउका पुराना ती विर्सिएका मन्दिरहरू । मेरै बा-आमाको गरिबी र कहिल्यै थाहा पाइन दुर्गम दुःखहरू ।

मलाइ पढाइएन गाउले जीवनका व्यथाहरू । नेपाली गरिब हुनाको कारण ।  नेपालीहरू परदेशिनुको कारण । नेपालमै सम्पदा, संस्कृति, प्रकृतिको सम्भावना, व्यवसायिकता र व्यापार ।  

अरू नै पढाइरहे । मैले पढिरहे "सिकेका ज्ञानहरू कसैले खोस्न सक्दैनन् ।" र त मैले ज्ञानका अक्षरहरू चिनिरहे, सिकिरहे र पढिरहे ।

मैले कहिल्य सिक्ने यत्न गरिन पुस्तका अक्षर बाहेकको समाज ।

मैले कहिल्य सिक्नै पाइन सिपमुलक शिक्षा, विषयगत सार र जिवन भोगाइका अर्थ ।

बस् मैले त भविष्य बनाउने तरिका २४ घण्टा रटिरहे ।

उसैगरी भविष्य कै लागि फुच्चेले पनि खाडीमुलुकमा शरिर घोटिरह्यो

हो— आज उसले भोगाइ र बुझाइको डिग्री बोकेर बनाउँदै छ रे विर्सिएको पुरानो आफ्नै गाँउ ।

यसै साल मैले पनि त विश्वविध्यालयबाट डिग्री पास गरे ।

हो, बा मैले डिग्री गरे । अब, केहि दिनपछि म भने खाडीमुलुक जादैछु...


Tuesday, December 15, 2015

पछि होइन, अघि बढौँ

होसंविधान बन्यो, अझै देश बनेन

देश सँधै पीडामै घस्रियो । राजनीतिक अस्थिरताले हामी कसैलाई छाडेन । राज्य देशलाई स्वीजरल्याण्ड बनाउछु भन्दै कर असुल्छ । जनताहरुबाट सबथोक लिन्छ । तर फिर्तामा केहि पनि दिदैन । घरको धारामा प्रशस्त पानी दिदैन । बिजुली दिदैन । ग्याँस, पेट्रोल, डिजेल थोरैथोरै दिन्छ । यातायातको सुविधा भनेजस्तो छैन । सञ्चार क्षेत्रको अवस्था त्यस्तै नाजुक छ । शिक्षाको झन् कुरै नगरौँ ।

केहि महिनादेखिको नाकाबन्दीको मारमा लाखौँ विद्यार्थीको भविष्य अन्धकार हुँदैछ । शिक्षा क्षेत्र नाजुक बन्दै छ । यस्तो परिस्थिति देशमा बन्दैगर्दा नेपाल झन् पछाडि राष्ट्र संघले प्रकाशित गरेको विकास कार्यक्रम प्रतिबेदको समाचार पढेर खासै मन दुखेन । यो स्वभाविक हो र सत्य । एकपटक नेता, वुद्धिजिवी, नागरिक समाज, विद्यार्थी सबैले एकपटक मनन गर्दै सोचौँ नेपाल अगाडि केमा चै छ ?

सबैमा स्पष्ट छदेश बन्द, हड्ताल, लठैतिकरण, अस्थिर राजनीति, दुरुपयोग, भष्ट्रचार, ग्रस्त प्रशासन प्रणाली, नातावाद र कृपावादको समग्रतामा भने अगाडि पक्कै छ । गरिबीको अवस्था दुरदराज र केन्द्र

मा उस्तै छ । भुकम्प गएको महिनौसम्म पनि पिडित पालमै छन् । प्राधिकरण योजना कोर्दै छ । सरकार चाइनाबाट आयातित अनुदानको तेल आसेपासे र आफ्नै कानमा हालेर बसको छ । अति विपन्न र मजदुरीको घरमा चुलो बलेको छैन । १० वर्ष द्धन्द्धले देश सिनित्त पारेर स्वीजरल्याण्ड र बफर स्टेट बनाउँछु भन्दै कुर्लिने डा. साप नयाँ शक्तिमा अभ्यस्त छन् । तराई जाडो याममा पनि बलिरहेको छ । नाकाबन्दीको चिसोले न तराइका नेतालाई गम्भिर बनाएको छ, न सरकारले सकस अनुभुति गरेको छ । सरकार सर्वाधिकार हुँदै जनतालाई समस्याहरुको सञ्जालमा न्याक्दै छ । वर्षौदेखिको अस्थिर राजनीतिक वातावरण र विभिन्न राजनीतिक आन्दोलनले देश निकै समय निमोठिदै आएको छ । विगत केहि वर्षदेखि देशको आर्थिक वृद्धिदर न्यून छ । कृषि क्षेत्र आफै सुकेको छ । पर्यटनमा लगानीमैत्री वातावरण बन्ने आश्वासन कुहिरोमा हराएको काग झैँ बनेको छ । रोजगारीको अवसर छैन भन्दा फरक पर्दैन । शिक्षित वर्ग दिनानुदिन विदेशीने क्रम जारी छ । ब्रेनड्रेनको समस्याले विकराल रुप लिदै छ ।

अब चिन्तन गरौँविगतको यस्तो अवस्थाको मुल्यांकनले नेपाल झन् पछाडि नधकेलिएर तथ्यत रुपमा अगाडि बढ्छ त? जरुर बढ्दैन । होनिश्चित सिमा तथा भुगोलभित्र बसेपछि पक्कै देशसँग आम मानिसको मानवीय जिवनको अपेक्षा, शिक्षा, स्वास्थ्य, राम्रो आम्दानी हुनु स्वभाविक हो । २१ औँ शताब्दिमा चमत्कारी विकासको आयाम विश्वले छुँदैगर्दा हाम्रो देश भने यी कुराहरुमा चुक्दै जानु दुखद कुरा हो । देशले काचुली फेर्छ भन्ने नेताहरुले जनताका यी अत्यावश्यक साधारण आवश्यकता पुरा गर्न नसक्नु लाजैमर्दो र असक्षम नेतृत्वको संकेत हो । सुचकांक र UNDP को रिपोर्ट हेर्ने हो भने देशका मान्छेहरु कसरी बाँचिरहेका छन्, स्पष्ट देखाउँछ । एउटा भनाई छ'हुँदै नभएपछि गुम्नेको के डर ?' यहाँ त प्राकृतिक, सांस्कृतिक, सामाजिक सम्पूर्ण तवरले भरिपुर्ण भएर पनि गुम्ने डर रह्यो यसर्थ, अतिवादको पराकष्टमा देश र जनता कहिलेसम्म ? अब त केहि गरौँ।   
प्रकाशितः पाठकमञ्च, कान्तिपुर (२०७२/९/१)

Saturday, December 12, 2015

कृषिप्रधान देशको बेहाल

भनिन्छ'राज्य व्यापारि भयो भने जनताहरू भिखारी हुन्छन् ।'

हो खुल्ला अर्थतन्त्र भन्दै ब्रह्मलुट गर्ने पुँजीवादि र विकसित राज्यको लागि यो गतिलो पेच हो । तर, तीतो यथार्थ हाम्रो जस्तो देशमा अर्थतन्त्रको मेरूदण्ड ठानिने कृषि क्षेत्रको विकास र विस्तारलाई जोड नदिई 'कृषिप्रधान देश' भन्ने तर राज्य कृषि व्यापारि बन्न उन्मुख नहुने र जनताहरूलाई कृषि भिखारीबाट समुन्नत नबनाउने नीति/कार्ययोजना ल्याउने अल्पविकासित देशमाथिको पनि यथार्थपरक गतिलो झापड हो ।

करिब-करिब ६० प्रतिशत भन्दा बढी नेपालीहरू कृषि क्षेत्रमा आश्रीत भएको देशमा १० अर्बको धान उत्पादन घट्यो समाचारले स्तब्ध बनायो । लामो राजनीतिक अस्थिरता, संक्रमण, विपद र नाकाबन्दी लगायतका समस्यालाई कारकको रूपमा औल्याउने आलटाल परिपाटि उहि पुरानै र दुखद कुरा हुन् ।

कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर र जीडिपीमा ३३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रले स्पष्ट रूपमा कृषिप्रधान देश भएको बताउछ, त्यसमा कुनै शंकै छैन तर विडम्बना कृषिज्य उत्पादन वार्षिक अर्बौको आयात गर्ने देश कसरी कृषिप्रधान देश भयो ? तथ्यगत विरोधाभास रहदारहदै पनि लाजको सीमालाई कृषिअर्थतन्त्रको पारदर्शि खोल ओढाएर जनताहरूलाई भोकभोकै भकारी हेरेर मुख मिठ्याउने अवस्था सिर्जना हुनुले कृषिप्रधान देश भएको अर्थ्याउदैन् ।

हो, देशमा अपार स्रोत-साधनको उपलब्धता छ । पर्यटनको सम्भावना उस्तै छ ।  उर्वर भुमि प्रशस्त छ तर हलो (प्रविधि), हली (दक्ष जनशक्ति), सिंचाई, यातायात र बजार जस्ता आवश्यक पूर्वाधारहरूको विकास हुन नसक्नुले कृषि अर्थतन्त्र धराशयमा छ । बेरोजगार युवाहरू कृषि उत्पादन र खेतिमा आकर्षित छैनन् तर खाडि मुलुक जाने हतारमा छन् । तर, कृषि क्षेत्रको उत्थान, विकास र विस्तारमा काम गर्दै आएका सम्बन्धीत मन्त्रालय, निकाय लगायत विकास समिति भने भाषण र प्रतिवेदन निकाल्नमै सिमित भएको देखिन्छ । कृषि उत्पादनलाई बजारिकरण, निर्यातमुखि र व्यवसायिक बनाउन जोड दिने, प्रविधिको उच्च प्रयोग जस्ता कार्यलाई ध्यान दिएर वार्षिक १० औँ अर्बको उत्पादन भए बल्ल कृषि प्रधान देश भन्न सहाउथ्यो ।

प्रकाशितः पाठकमञ्च, कान्तिपुर (०७२/८/२५) 

Wednesday, December 9, 2015

दिल्ली होइन, बालुवाटार दौड

अधिकारको लडाई भन्दै ३ महिनादेखि भइरहेको तराई आन्दोलन अन्ततः दिल्ली दरबारमा ल्याण्ड हुनपुग्यो । देशको आन्तरिक मामिलामा जस्तोसुकै दलगत द्वेष-तुष भएपनि बालुवाटर वार्ता कम, लैनचौर हुँदै दिल्ली दौडधुपले मधेश आन्दोलनको सार्थकतामाथि प्रश्न चिह्न खडा गरेको छ ।

मधेश आन्दोलनका केहि माग जायज छन् । सबै मागलाई नेता, विज्ञ लगायत नागरिक अगुवाले नाजायज भनेका छैनन् । केहिले केहि मुद्दामाथि उम्लो ठडाए होलान्, ती वस्तुगत सारका विज्ञ विचार होइनन्, उत्तेजनाका भार मात्र हुन् । तर, आन्तरिक मामिलामा राज्यको भुमिकालाई विर्सेर, सरकारसँगको वार्ता तथा छलफललाई महत्व नदिएर दिल्ली दौडिने परिपाटि सार्वभौमराष्ट्र र नेपाली जनभावना विपरित कार्यलाई न तराइवासी आन्दोलनकारी नेपालीहरूले नै स्वीकार्छन्, न पहाड-हिमालका नेपालीहरूकै लागि स्वीकार्य छ । हो, तराईका केहि जायज माग र पीडाहरू छन् । समाधान गर्ने बालुवाटार टेवल टकबाट हो, दिल्ली दौडधुपबाट होइन ।

नाकाबन्दीले देश ग्रसित छ । लाखौँ विद्यार्थीहरूको भविष्य धरमरको स्थितिमा पुगिसकेको छ । जताततै अभाव र समस्याहरूको आवाज गुञ्जिरहेको बेला सारा नेपालीहरूको आशा तथा मधेशी दाजुभाईहरूकै आत्मालाई लत्याइ दिल्ली दौडिनु उचित हैन । आन्दोलनका प्रतिनिधित्व गरेका महन्थ ठाकुर लगायतका नेपाहरूले दिल्ली वार्तामा भएको वास्तविकतालाई सारा तराईबासिमाझ जानकारी गराउनुपर्छ । कुन हकअधिकारका लागि महन्थ ठाकुर लगायतका नेता दिल्ली उडे? नत्र यिनीहरूको लडाई तराबासीको हक, अधिकारको लागि नभई शत्तासिनको लागि लिडे दौड प्रतियोगितामै सिमित नहोला भन्न सकिदैन् ।

पटकपटक भारतीय नेता भन्दै छन् तपाइहरूको आन्दोलन आन्तरिक हो, मिलाउनुहोस् । यदि आन्तरिक मामिला हो भन्ने जस्तोसुकै मुल्यमा सरकार र आन्दोलनकारीबीच वृहत बहस गरी मधेश आन्दोलनलाई सम्बोधन नगरी लिडेरूपमा दिल्ली उडन किन? के छ दिल्लीमा जो बालुवाटारमा छैन, हुँदैन । यदि अधिकारको लडाई ह  भने अधिकार राज्यले दिने-लिने हो, दिल्लीले होइन । हाम्रा सरकार तथा मधेश आन्दोलनकारी तथा नेतागणहरूले यो साधारण सत्य बुझ्न जरूरी छ । राज्य र तराईबासीबीचको मनोवैज्ञानिक दुरी कम गरेर समस्याको समाधान चाँडो सुल्झाउन बालुवाटार दौडिने यत्न गरौँ महोदय । कतिदिनसम्म तराई लगायत पुरै देशलाई बन्धक बनाई समस्याको जर्जरमा राख्ने ? के तराईमात्र हक अधिकारले बञ्चित भएको हो? के पहड-हिमालका आफ्नै कथा-व्यथा छैनन् । हो, तराईले केहि पीडा सदियौदेखि भोगेको छ । उसो त १२८ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरूलाई तराईक्षेत्रको हक, अधिकार र पहिचानको महत्व नहोला? आन्दोलन गर्ने महन्थ ठाकुर लगायत सबै नेताहरू गत निर्वाचनमा हारेकाहरूबाट मात्र संविधानका विविध पक्षमा असहमति र अधिकारबाट बञ्चित भएको क रा मुखरित हुनु जायज होइन । तराईको लडाई महन्थ ठाकुर लगायत आन्दोलन समर्थन गर्ने मधेशी नेताहरूको मात्र होइन, सो क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरूको पनि हो । यसर्थ, जायज तराईबासीहरूको मागलाई वार्ता संघर्षबाट सम्बोधन गर्ने वातावरण बनाउदै सरकार तथा आन्दोलनकारी दुवै लचक हुन जरूरी छ । वार्तामा आउनु अगावै मेरो गोरूको बाह्रै टक्का नगरी माननीयज्यूहरू ! देशलाई निकास दिनुपर्छ भन्ने अठोट बोकेर बालुवाटार दौडौ र सरकार पनि तराई झर्नु जरूरी छ । साच्चै, तराईका नेपाली दाजुभाई दिदीबहिनीहरूको हक, अधिकार तथा पहिचान लगायत सदियौदेखि राज्यबाट हेपिएका, मिचिएका, चेपिएका हुन र समाधानको बाटोतिर लाग्ने हो भने बालुवाटार छिर, दिल्ली दरबार होइन । 

प्रकाशितः- पाठकमञ्च, कान्तिपुर (२०७२/८/२३) 

Saturday, December 5, 2015

कर्म

हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।   

चरित्र र चित्र दुवैको दृष्य छुटट्याउन आँखाले सक्दैन तर मष्तिष्कले ।

उसैउसै मन अस्थिर छ, पटक-पटक ।

लाग्दैछ जिन्दगी उकालो र ओरालोका दुई गोरेटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका छन् कैयौँ बटुवाहरू ।
०००००

"यो बाटो कता पुग्छ दाई ?", अपरिचित कसैले सोध्छ ।

"कागत्यानी मन्दिर", म छोटो उत्तर दिन्छु ।

"मान्छे किन अलमलिन्छ ?", तत्काल आफुले आफैलाई प्रश्न गर्छु ।

भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु ।

विशाल आकाशमा उड्डै गरेका ठुलठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले कहिल्य नविराउने बाटा र तीनका चालकहरूलाई सम्झिन्छु।

अपार समुन्द्रमा तैरिने ठुल्ठुला जहाजहरूलाई सम्झिन पुग्छु र तीनले नबिराउने बाटाहरू र तीनका क्याप्टेनहरूलाई सम्झिन्छु।

तर, मान्छेले मात्र बेलाबेला किन विराउँछ आफ्नै बाटो ? र, ठम्याउँनै नसक्ने गरी भुल्छ आफ्नै गन्तव्य/लक्ष्यका बाटाहरू  ।   
आजभोलि यस्ता अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक-पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।

एकदिन चियादोकानकै एक दाईसँग जिस्किदै सोधेथे
"मान्छेहरू बेलाबेला किन अनयासै अल्मलिन्छन् र विर्सिन्छन् बाटाहरू?"

मेरो प्रश्नलाई ख्यालै नगरि ती दाई निकैबेर मज्जाले हाँसेका थिए ।

"तिमी मान्छे हिड्ने गोरेटो बाटोको कुरा गर्दैछौँ वा जिन्दगीका लक्ष्यहरूको बाटोको ?", म निकैबेर मौन हुनपुगेथे दाईको प्रतिप्रश्न सुनेर ।

साँच्चि, कुन बाटोको कुरा गर्दै थिए म ।

केहि क्षणको मौनतापछि एकाग्रतालाई चिर्दै "दुवै", मसिनो स्वरमा म बोलेथे ।

भट्टिभित्र रक्सि पिउनु व्यक्तिको अनुशासन हो ? उहाँले मलाई उल्टै प्रश्न गर्नुभयो ।

होला, मैले हो र होइनको बीचमा मुण्टो विस्तारै हल्लाए त्यसक्षण ।

स्मोकिङ्ग जोनमा चुरोटको धुँवा उडाउनु व्यक्तिको धर्म हो ? उहाँले फेरि अर्को प्रश्न गर्नुभयो ।

होला, चुरोटको धुँवा उडाउँदै मैले मुण्टो उसैगरी हल्लाए ।

उसैगरी गोरेटो बाटाहरू बिराउनु पनि मान्छेहरूको नितान्त व्यक्तिगत अनुशासन हो, धर्म हो । यहि अनुशासन र धर्मकै कारणले गर्दा व्यक्ति गन्तव्यको खोजिमा सँधै तल्लिन भइरहेको हुन्छ । र, अन्ततः एकदिन उलसे चाहेको गन्तव्यमा अवश्य पुग्नेछ ।  
ऊ आजै तिमीलाई कसैले गन्तव्य सोधेछ ।  

ऊँहाले भर्खरै उत्तर सुझाउनु भयो वा प्रश्न । तैपनि मैले उसैगरी मुण्टो हल्लाइरहे ।

उहाँ चर्किलो आवाजमा भन्दै हुनुहुन्थ्योमनले इछ्याएको र मनले चाहेको बाटोहरू भने कहिल्यै नभुल्नु । कहिल्यै ती बाटाहरूमा नअलमलिनु । यो तिम्रो अनुशासन र धर्म क्षेत्राधिकार बाहिरको कुरा हो । उहाँ मलाई यसरी भन्दैहुनुहुन्थ्यो मानौँ म जिन्दगीका तमाम् लक्ष्यहरू भुलेर समय बर्बाद गर्दै छु । म आफुले आफैलाई भुल्दै छु । आफ्नो अस्तित्वलाई मेटाउन जाँदैछु ।  
मनले चाहेको लक्ष्यका बाटोहरू भनेको व्यक्ति स्वं भन्दा माथिको धर्म हो, अनुशासन हो । जब मनले इच्छ्याएका बाटाहरू विर्सिएर अरूले इछ्याएको बाटो हिड्न थाल्छौँ । ठान्नु, घनाजंगलहरूमा हराउँदैछु र विनाकारण मेटाउँदैछु आफ्नै अस्तित्व ।

म त्यसदिन दाइको कुरासुनेर ट्वा भए । गोलि लागेर ढलेको लाश झैँ गुपचुप निकैबेर भइरहे ।

ऊहाँ मैले सोधेको प्रश्नमा के भन्दै हुनुहुन्थ्यो, म बुझे झैँ टाउको हल्लाउँदै थिए ।  

कुनापट्टीबाट एक हुल केटाकेटीहरूको आवाजले म झसङ्ग हुनपुगे ।

कुनापट्टी खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटोलाई देखे । लाग्यो ऊ पनि यो अजिबोगरिब दुनियाँबाट आफ्ना तमाम् मनका लक्ष्यहरूलाई भुल्न चाहान्थ्यो । उसको चुरोट तनाईले मलाई उल्टै भाउन्न गराइरहेको थियो । ऊ यति हतारहतारमा धुवाँ पिइरहेको थियो । मानौँ, ऊ मनका पीडाहरूलाई धुँवाका कसले पुर्न चाहान्थ्यो ।

बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा विशुद्ध सोच थियो जुन क्यानभासमा घण्टौँ हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र म पनि थिए ।
०००००

उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक चलाउँदै छिन्, दिदी ।

चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा फुर्को हेरेर रमाइरहेको थिए । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।

साउनी भन्न भुलेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई "दिदी मिठो चिया पिउ" भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु र झसङ्ग हुनपुग्छु— "पाको र अनुभवी त मान्छे कर्मले हुँने रहेछ, उमेर र सोचले मात्र कहाँ भइदो रहेछ ।"  

म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुलठुला सोँचहरूलाई त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै नदिई गुपचुप कोठातिर हानिन्छु ।

Tuesday, October 27, 2015

उडान

ड्याम मुनीको हरियो दहमा पसिनाले निथ्रुक्क भिजेको कपडा नफुकालि विकास झ्वाम्म हाम फाल्यो ।

निरज के कम ? हाम नफाल्ने कुरै थिएन ।

रमेश र म मात्र थियौँ किनारामा डुब्दै निस्किदै गर्ने ।

बबीको कुरै नगरौँ ? ऊ माछा झै पानी मुनिमुनि पौडिन खप्पिस थियो ।

घाँसे तर भिरालो भित्तोपट्टीबाट विशम भटाभट फोटो खिच्दै थियो ।

दहको छेउपट्टी कम्मर जतिको पानीमा शरिर डुबाएर रमेश र म पोज दिदै विशमलाई फोटो खिच्दिन आग्रह गर्यौँ ।

'थम अप्स' गर्दै विसमले भटाभट हाम्रो फोटो खिच्दियो । म र रमेश ङिच्च हास्दै त्यहि सानो दहमा फुत्त पस्यौँ ।

'आछ्छु, कस्तो चिसो पानी', म ठुल्ठुलो स्वरमा चिच्याए ।  

'बाँकी केटाहरू जंगलमास्तिरको गाउँतिर छिरेको हुनुपर्छ',  दहमा पुनः डुबुल्कि मार्दै मैले अडकल काटे ।

'हिजो गाउँ हुँदै उकालो लाग्दा सुकुटी प्लस छ्याङ्गको बास्ना आएको कुरा सुत्नेबेलामा चलेकको थियो', पक्कै त्यतै पसे होलान् ।

मैले मुख मिठ्याउँदै सुनाए ।
०००००

डिग्रीको पहिलो दिन । नेपाल कमर्श क्याम्पस छिर्दै गर्दा शरिरनै शिरिङ्ग भएथ्यो । शरिरमा एक किसिमको छुट्टै तरङ्ग पैदा भएथ्यो एक्कासि, शरिरमा भरर काँडा उम्रिएथे ।

म स-साना सपनाहरू बोकेर कलेज छिर्दै थिए । म ती सपनाहरूलाई सगरमाथा जस्तै अग्लो बनाउन चाहान्थे । पढ्न चाहान्थे । पास भएको डिग्रीको सर्टिफिकेट देखाउँदै बा-आमाको अगाडी चिच्याउँदै खुसी साट्न चाहान्थे ।

बाको सपना थियो 'छोरो गाउँकै पहिलो डिग्रीहोल्डर बनोस्', मलाई यहि कुराले बेलाबेला झस्काइरहन्थ्यो

लागिरहन्थ्यो— 'बा-आमाको खुशी यहि सर्टिफिकेटमा वर्षौदेखि अट्किरहेको छ । यहि सर्टिफिकेटका केहि अक्षरहरूमा मेरा बा-आमाका खुशिहरू टाँसिएका छन्, जुन मैले उप्काउनुछ ।'

धमिलो सम्झना छ । कक्षा ६ तिर शेखर सरले अंग्रेजी पढाउनु हुन्थ्यो । गाउँभरि शेखर सरले काठमाण्डौँबाट डिग्री पास गरेको हल्लिखल्लि थियो । उहाँ डिग्री पढेकै कारण फेमस हुनुहुन्थ्यो ।

म सोच्थे  'कुनै दिन काठमाण्डौँ गएर म पनि डिग्री पढ्नेछु र बालाई देखाउनेछु मेरो डिग्रीको सर्टिफिकेट ।'

त्यो मेरो वालापनको एउटा सपना थियो । म पछ्याइरहेको थिए तीनै सपनाहरू जसलाई मेरा बा-आमाले मेरो बढ्दो उमेरसँगै पछ्याइहरेका थिए । 

अनेक सपनामध्ये म यहि एउटा सपनाको लागि पहिलो पटक छिर्दै थिए नेपाल कमर्श क्याम्पस ।

गेटबाट छिर्दै गर्दा लामो कपाल, झुस्स दाह्री र मोटो चश्मा लगाएको जवान ठिटोलाई देखे, म जस्तै ।

मैले उसलाई मसिनो स्वरमा सोधे 'दाई, डिग्री फस्ट इयरको पढाई कता भइरहेको छ ?'

ऊ मेरो प्रश्न सुनेर मुस्कुराउँदै 'फष्ट इयरकै विद्यार्थी भएको वताउँदै', हात तेर्सायो ।

भेषको हात छुँदा वाल्यकालको दौतरीहरूको सुगन्ध आइरह्यो । लाग्दैथियो'वाल्यावस्थामा हराएको कुनै साथिलाई आज पुनः भेट्दै छु' ।
०००००

म भर्ना भएको थिइन । त्यो मेरो पहिलो दिन थियो । त्यसैले मैले उतिसाह्रो सुरूका दिनहरूमा साथि बनाउन ठिक थानिन् । तर, भर्ना भइसकेपछिका दिनहरूमा साथिहरू टन्नै भए । थोरै मिल्ने भए, धेरै हाइ-हेल्लो, मुस्कानमा कठ्याङ्ग्रिने किसिमका भए ।

शुरूशुरूका दिनहरूमा पढाई रोमाञ्चित थियो । म सँधै कक्षाको पुच्छारतिर बस्थे, रूचाउँथे । म कोर्सका किताव भन्दा उपन्यास, कथा कविता बढी पद्थे ।

'हेर्दै तिमी कति सोझो देखिन्छौ ?', एकदिन पछाडीपट्टिको बेञ्चबाट बबिले मलाई कुन्नि के सम्झेर सुनाउँदै थियो ।

'तर, मलाई लाग्दैन थियो कि म सोझो छु ।'

'हुनसक्छ', मैले सम्भावनाको मुन्टो हल्लाइदिएथे त्यसदिन ।

'म अनजान व्यक्तिहरूसँग त्यति बोल्न रूचाउदिनथे । लजालु स्वभावले पनि होला?', मैले मनमनै बबिको कुरामा लख काटे।  

पछिल्ला दिनहरूमा सबैभन्दा बढी प्रेम नजिकियो । मिल्ने साथि भयो । फुटबल खेल्ने शिलशिलामा निरज नजिकियो, ऊ आत्मिय भयो । विशम, विकास, उद्धव, प्रदिप, एडवर्ड, बबि, रेवन, युवक, अनुप, श्री, रमेश र अरू थुप्रै साथिहरू मैदानबाटै घनिष्ठ भए ।

आइतबारको दिन हुनुपर्छ । हामी सदाझै फुटबल खेलेर क्यान्टिनको समोसा हुसार्दै थियौँ । रमेश टुप्लुकियो । गफैगफमा रमेशले कतै घुम्न जाने कुरा राख्यो ? कुरा मात्र हैन साथिहरूमाझ प्रस्ताव नै राख्यो ।

हामी सबै सहमत भयौँ । तर कहाँ जाने टुंगो लगाउन घण्टौ घोत्लियौँ ।

विशमले चिया सुरूप्प पार्दै 'के घोत्लेको', म लग्छु तिमीहरूलाई वन नाइट स्टे ट्रेकिङ्ग, 'चिसो चिसापानी' 

एकछिनसम्म विशमको चिसो चिसापानीको झट्काले सबै ट्वा पर्यौ । ट्वामै सबैले अटेरो गरी 'हुन्छ' को मुन्टो सुस्तरी हल्लाए ।

सरकारले मस्यौदा संशोधनको लागि ४ दिनको सार्वजनिक बिदा दिदै थियो । यो भन्दा ठुलो मौका कुन हुनसक्छ ?

एक रात उतै बस्ने गरी सबैले जाने पक्का गर्यौँ ।
०००००

छ्वालिले बारेको सानो छाप्रो अगाडी पुगेर गाडी घ्याच्च रोकियो ।

'लौ ! बसपार्क आइपुग्यो सबै झर्नुहोस्', खलासी भाई ठुल्ठुलो स्वरमा चिच्याउन थाल्यो ।

हामी एकएक गर्दै ओर्लियौ । सबैले आ-आफ्ना भाडा तिर्यौँ । तर, विद्यार्थी कार्ड डिस्काउट भने कसैले मागेनन् ।

तेर्सो बाटो कटेर उकालो लाग्दै गर्दा विशमले विद्यार्थी कार्ड देखाउँदै 'फोक्कट ५ रूप्पे चट्, टोटल्ली ५०', चिन्ता पोख्यो ।

'ह्वाट, टोटल्ली साढे दुइ बोट्का छ्याङ्ग चट्', हल्का कञ्जुस चै हुनैपर्छ', निरजले लोभि प्लस फाइदाजनक राय सुझाउँदै कार्ड देखायो ।

'डिस्काउण्ट नमाग्दा ५० रूप्पे चट्, ट्रेकिङ्ग घाटामा', विकासले कार्ड देखाएर जिस्किदै सबैसँग पाँच सय उठाउन थाल्यो ।

आँखा झिम्काउदै विशमले 'ठिक' को मुन्टो वेस्सरी हल्लाइरह्यो ।

भट्टीजस्तो देखिने त्यहि छ्वालिले बारेको साधारण होटल अगाडी रहेको ठुलो पाइप छेवैनिरको डिलपट्टी लस्करै टक्क उभिएका सबैको टाउको हावा लागेको बेला धानको बोट लर्किए जस्तैगरी 'ठिक' को मुन्टो एकैतिर सपक्कै लर्कियो ।  

'साउनी छ्याङ्ग छ', ठट्टा गर्दै प्रेमले कालो निधार खुम्चाउँदै सोध्यो ।

'शरिर शित्तल नबनाइ के उकालो लाग्नु', आँखा सन्काउँदै बबि होटलभित्र सुत्त पस्यो ।

गाडीबाट ओर्लिनासाथ खाजा खाने होटल रमेश खोज्दै थियौँ । समय झण्डै १ बजेतिर चल्दै हुनुपर्छ । घाम टाउँकै मास्तिर देखिन्थ्यो, गर्मी उल्का ।

'लामो बाटो, हिड्नुपर्ने टन्नै', खाजा-नास्ता-छ्याङ्ग प्लस जे-जे खाने माथितिरै खाउला-जिस्किउँला छ्याङ्गको लीला यतै रच्ने हो भने पुग्न गाह्रो छ । विशमले विशाल चिन्ता सुनायो ।

'भनेको मान्छौ भने हिड्ने सुर कस केटाहो, भलाई यसैमा छ', अनुहार चिम्स्याउँदै विशम फेरि बोल्यो ।

'खाजै नखाई हिड्ने', होटलभित्र पसेको निरज फुत्त वाहिर निस्कदै पेट छाम्न थाल्यो ।

'खाजा प्लस रमाइलो' माथि गाउँतिरै गरौला । विशमले सम्झायो । आग्रह गर्यो । अनुरोध । सबै-सबै ।

अब नहिडेर भो !
०००००

हिड्दाहिड्दै म अचानक कुनै जंगलको विशाल कोलाजभित्र हराउदै गए ।

डिल खसेर बनेको मोडनिर रून्चे अनुहारमा युवकलाई देखे  ।

युवकको अमेरिका जाने सपना तुषारापात भएपछि ऊ सँधै रून्चे अनुहारमा देखिन्थ्यो ।

खैर, उसका अनेकौँ सपनाहरू थिए होलान् । मेरो जस्तै । म भावुक बन्दै गए ।

अम्रिकामा छोरो पढेको बा सुन्न चाहान्थे होलान् । मेरो जस्तै । म आफ्नै बालाई सम्झेर रून थाले ।

ऊ आफै चाहान्थ्यो होलान्यूयोर्क शहरका गगनचुम्बी महल जस्तै अग्लो बनाउन स्वप्लिन दुनियाँ जहाँ ठड्याउन सकियोस् स्वप्निल महलहरू । के म बा'को महत्वकाक्षाहरूलाई यसैगरी ठड्याउन सकौला । म भित्रभित्रै न्याकिदै गए ।

२७ तारिख, जुन दिन स्याड्बिज जस्तै फुलेकी मोटीको 'यू रिजेक्ट' को स्वरमा ऊ झसङ्ग भयो । एकाएक शरिर फतक्क गल्यो । अनुहारमा दौडिरहेको मुस्कान छिनभरमै निमेट भयो ।

हैट, कस्तो सपना, टाउको झटकार्दै सुस्तरी मैले मुण्टो दाहिनेपट्टी कोल्टाए ।

अचानक, बास्केट कोर्टमा कोहि अनजान ठिटो फुटलबको कलात्मक जादु देखाउँदै गरेको देखे ।

म मन्त्रमुग्ध भएर हेर्दै गए । ऊ विद्यार्थी भन्दा बढी प्रोफेसनल फुटबलर देखिदै गयो ।

सानोछदा म पनि फुटबलको सौखिन थिए । फुटबलप्रति अगाध प्रेम थियो । म जादुमय फुटबले अपरिचित ठिटोसँग बोल्न खोज्दै थिए

र, बोलाए— 'परैबाट हेलो', भन्दै ।

ऊ नजिक आयो । मैले कुरैकुरामा धेरैथोक भन्दै गए । ऊ सुन्दै गयो ।

'तिमी किन कुनै फुटबल क्लबमा आबद्ध भएर भविष्य बनाउन लागि पर्दैनौँ',

"गलत लक्ष्य पछ्याएर, गलत मार्ग हिड्दै छौँ' । हेक्का छ तिमीलाई",  मैले थर्काए ।

ऊ थर्किएन । ऊ चुपचाप मेरो कुरा सुनिरह्यो । मैले उसलाइ ठलठुलोस्वरमा चिच्याउदै भने 'म कुनैदिन रंगशालाहरूमा तिम्रो फुटबलमय कलाका सपनाहरू फक्रिएको देख्न चाहान्छु' ।

ऊ मसिनो स्वरमा बोल्यो— 'यहाँ सपनाहरू फक्रिने प्रतिकुल मौसम छ र?', मलाई उसको यो प्रश्नले निकैबेर स्तब्ध बनायो ।

टाउको अडेस लागेको डण्डिमा हात ठोक्कियो । ऐय्या ! म झल्यास् भए ।

'कस्तो सपना?' म चिच्याए ।

मलाई सुतेर देखिने सपनाहरू भन्दा विपनामा बुनिने सपनाहरू औधि सुन्दर लाग्छन् । भलै ती पुरा हुन वा नहुन तर सपना खुल्ला आँखाले देखिनुपर्छ भन्ने कसिलो विश्वास थियो तर साला आँखाले पनि कहिलेकाही वास्तविक सपना उसैगरी देखाउदो रहेछ । म छक्क परे ।

खैर, मैले भर्खरै सपना देखे । सपनामा युवक र विकासलाइ देखे । युवक र विकासका फक्रिन नपाएका सपनाहरू देखे । म विस्तारै सपनाबाट वाउरिदै उठे ।

५-३० भएको हुनुपर्छ । पानी दर्किरहेको थियो ।

म ओत लाग्ने ठाउँको डण्डीमा अडेस लागेर उङ्दै थिए । कति खेर निदाइछु पत्तै पाइन ।
०००००

ओत लाग्ने ठाउँ नभेटिएर हामी सबै आत्तिदै थियौँ ।  करिब-करिब ५ कि.मी. जतिको नाकै ठोक्किने उकालो चढिसकेपछि घनघोर जंगलको बीचतिर हामी फसेका थियौँ । साँझको झरि भएकोले पानी रोक्किने छाटकाट थिएन । केही साथिहरू तल गाउँतिरबाटै पछि परेका थिए ।

म, विकास, विशम, निरज र प्रेम सिमसिम पानीमा रूज्दै हिडिरहेका थियौँ । कोहि कसैसँग बोलेका थिएनौँ । जंगलको रूखका पातहरूमा झरेका थोपाहरूको संगीत स्पष्ट सुनिन्थ्यो । तपतपतप संगतीको मज्जा लिदै रूज्दै हिडिरहेका थियौँ ।

'भोकले पेट भित्र पस्यो, चाऊचाऊ छैन', प्रेमले धमिलो अनुहार चिम्स्याउदै मसिनो स्वरमा बोल्यो ।

'दशब्राह्र प्याकेट ड्राई फुड बोक्नुपर्थ्यो, ४ प्याकेट चाउचाउ को खाने', झरिले प्लान चौपट बनायो । झर्किदै ठुलठुलो स्वरमा निरज कड्कियो ।

उसको चर्किलो आवाज सुनेर सल्लाको रूखमा रूझेर बसेका एक जोडी सारौ कराउँदै उडे— 'टाढा-टाढा'

'न ओतलाग्ने ठाउँ आइपुग्छ', साला विसमले भनेको ओतलाग्ने कटेरो पुग्न वर्षौ लाग्छ कि क्या हो ! फेरि निरज झर्कियो ।

'ओत लाग्ने ठाऊ आइपुगे, कमसेकम आरामले खाजा खान पाइन्थ्यो', विकासले सान्त्वना दिदै सुस्तरी हिड्न आग्रह गर्यो ।

'हुन्छ को मुण्टो हल्लाउँदै सबैजना निरन्तर हिडिरह्यौ ।

आधि घण्टाको हिडाइपछि बल्ल टहरो देखियो । ओत लाग्ने ठाउँ भेटिएकोले हामी एकअर्कालाई हेर्दै मुस्कुरायौँ ।

प्रेम भने डिस्कोपट्टीबाट 'ए झरि भिझाइदे मेरो मन यसैगरी' जोडजोडले गुनगुनाउँदै थियो ।

'लौ ! अब आरामले बसिन्छ, निचारिन्छ भिजेको नाथे लुगा', जिङरिङ्ग परेको दाह्रि कनाउँदै विसम बोल्यो ।

'म भने डण्डिमा अडेस लागेर एकसुरमा घोरिन थाले । भिजेको शरिर आफै टकटकिदै सुक्न थाले । न्यानोपनमा कतिबेला भुसुक्क भएछु, पत्तै पाइन ।  
०००००

हतारहतारमा केटाहरू चाउचाउ प्लस चिउरा खान थाले । त्यतिनैबेला बबि, रेवन र रमेश आइपुगे । पानी बेजोडले परिरहेको थियो । समय गोधुलि साँझबाट रातमा ढल्दै थियो ।

'अब रूझ्न सकिन्न', चिसोले च्याप्पै समात्छ, बिसन्चो भइहालियो भने', चिन्ता पोख्दै नहिड्ने कुरा गर्यो विकासले ।

'विकासको चिन्तालाई ख्यालै नगरी विसमले बडेमानको चिन्ता छताछुल्ल पार्यो ।'

भुकम्पपछिको पहिलो ट्रेकिङ्ग, त्यसमाथि बस्ने होटलको टुंगो छ/छैन । रात झपक्कै पर्नथाल्यो ।

'साथिहरू मुटु चै दह्रो बनाइराखौँ', ऊ मुटु यसकारण दह्रो बनाउन खोज्दै थियो । मानौँ चिसापानीमा भत्किएका संरचना बाहेक अरू केहि छैन । जुन चिसापानी सुनेर आएका थियौँ । त्यो अब त्यहाँ रहेको छैन । र, हामी एउटा यस्तो भत्किएको संरचनाको ह्रासमाथि पुग्दै छौँ जहाँ हजारौँ सपनाहरू पुरिएका छन् । पुरिएका छन् घुम्ने आउने मान्छेहरूको आशा र अपेक्षाहरू ।

फेरि विसम बोल्यो 'हामीसँग दुईवटा छाता छ', तिमीहरू पानी रोक्किएपछि हिड्नु । सन्तोष र म विस्तारै उक्लिन्छौ र ठाउँठाउँको बस्तुस्थितिबारे म्यासेजमा जानकारी गराउछौ ।

अलिक चाँडै पुगे बस्ने-खाने होटल खोज्छौँ । नभेटिए छेउछाउको कुनै बस्तिमा बन्दोबस्त मिलाउँछौँ ।

सबैले हुन्छ को मुन्टो सुस्तरी निकैबेर हल्लाइरहे ।

दर्किरहेको पानीमा छाताको ओत लिदै त्यहाँबाट विसम र म खिन्न मन बोकेर निस्कियौँ ।
०००००

'देउराली', बिसम यसरी चिच्यायो मानौँ हामी सगरमाथाको टुप्पो नजिक पुग्दै छौँ ।

'सेतो ढुंगोमा पाती चढाउदै भगवानसँग 'खाना प्लस बास' निकैबेर मनमनै दुवैले मागिरह्यौँ । ।

खोजबाट उक्लिएर तेर्सो लाग्दै गर्दा एक दाई भेटिए ।

'दाइ, चिसापानीमा होटल छ नी ! भुकम्पले कि सबै खल्लास', मैले डर मिसिएको प्रश्न सोधे ।

'थोरथोरै छ तर धेरै मान्छे गएका छन् । बस्ने ठाउँ चै नपाउन सक्ला', आंशका यसरी पोख्दिए मानौँ अब रातभर रूझ्दै बस्नु पर्नेछ ।

'धन्यवाद दाई', लामो सुस्केरा तान्दै हामी ढुङ्गा बिछ्याएका खुट्किलाबाट छिट्छिटो ओर्लियौँ ।

जङ्गल सक्किनै लाग्दा खोजपट्टीबाट झ्याम्प केहि कालो वस्तु झर्यो । म तर्सिए । झन् विसम नतर्सिने कुरै थिएन ।

'हैट, कुकुर पो रैछ', सात्तै गयो । दुवै हाँस्दै तेर्सियौँ ।
०००००

रूम देखाउँदै होटेलका तक्लु बा बोले 'जम्मा ४००'

'खानाको', म आत्तिएर बोले ।

'जम्मा १८०', तक्लु बा उसैगरी बोले ।

'मासु प्लस भात', म फेरी बोले ।

'जम्मा ३००',

तक्लु बाले ठुलो भाले देखाउँदै त्यो खाने भए डङ्ग्रङ्गै तीन हजार ।

'दाल प्लस भात', म पुन चिच्याए । तक्लु बा एकछिन अलमलियो ।

मैले फेरि भने 'सादा खाना', चिम्सा आँखा तन्काउँदै सोधे ।

तक्लु यसरी पट्कियो— 'भुकम्पले बाँचेर घुम्न आइपुग्नु भएको छ, के दाल भात खाएर फर्किनुहुन्छ ।'  

'शहराँ टोटल्ली २०० मा मासु प्लस भात बच्काइन्छ, यहाँ सादा नै मुश्किल रहेछ', लेखाजोखा गर्दै विसम बोल्यो ।

'उसो भए शहर तिरै वच्काउन जाऊ भाई, यता चिसापानी के आइरा', तक्लु साउले बाटो देखाउदै रिस पोख्यो ।

हामीसँग अरू विकल्पै थिएन । भुकम्पले भत्काएको तीन तल्ले घरको माथिपट्टीको भाग हटाएर भुइतलामा जस्ता हालेर होटल बनाएको थियो । सुत्ने ठाउँ ठिकै थियो । अझ भनौँ 'धन्न यति भए पनि पाइयो'

विशमले ९ जनाको लागि सादा खाना अडर गर्यो ।

'सादा खानामा के-के हुन्छ', चुलापट्टीको झ्यालबाट टाउको छिराउँदै साउनीलाई सोधे ।

साउनी च्याठिदै 'मासु हुँदैन्, दाल-भात-अचार', उल्लु बनाउँदै नमिठो उत्तर दिई ।

रिस अचानक मेरो टुप्पीमा पुग्यो 'साला, पैसो नतिरी खान खोजे जस्तो व्यवहार' म विशमलाई सुनाउँदै झोक्किए ।  

साउनीलाई के सुनाउन सक्थे 'फेरी खाने बस्नेको इन्तु न चिन्तु'

खैर, भिजेको कपडा निचोरेर लगायौ र केटाहरूलाई लिन तल भन्ज्याङ्गसम्म जान निस्कियौ ।
०००००

'८-३० बज्यो', विशमले घडि हेर्दै लामो सुस्केरा तान्यो ।

'मैले सुसेले जोडजोडले'

निकैबेरपछि केटाहरूले पनि डाँडापट्टीबाट सुसेले । उसैगरी ।  

'ल केटाहरू आइपुगे', म गदगद् भए । विसम्भर पनि ।

'कम्ता विजोग भो ! पानीले दकुर्नु दकुर्यो', केटाहरु यसरी सुनाउँदै थिए । मानौँ हामी उनीहरूको पीडा सुन्न टुप्लिएका हौ ।

'कठैबर ! निथ्रुक भिजेका, चिम्सा आँखालाई च्यातेर हिडिरहेका',  बा-आमाले यिनीहरूलाई यस हालतमा देखे कति दयाँ पलाउथ्यो  होला,  मैले बा-आमाको नजरबाट हेर्ने प्रयत्न गरे ।

'कुन हो होटेल ?', निरजले हतारिदै सोध्यो ।

'अलिक पर, ऊ त्यहाँ', विसम्बर उम्लो तेर्साउँदै टर्चको प्रकाशमा केटाहरूलाई लिएर हिड्न थाल्यो ।

'होटलमा पुगेर सबैले हातगोडा धोइवरी कालो चिया मगायौ'

'के हो यस्तो ?', अचानक खुट्टाको पछाडीपट्टी देखाउदै प्रेम जोडजोडले चिच्यायो ।

'जुगाले अट्याक हान्देछ, एउटै खुट्टामा तीन्टा', बबिले जुगा टिप्दिदै अर्को खुट्टामा पनि हेर्न खोज्यो ।

'गर्दनपट्टी चुस्स दुख्यो', हेर त केटा, उम्लाले देखाउदै विकास बोल्यो ।

रमेशले बडेमानको जुगा तान्दै 'ढाडिएर चट् भैसकेछ !' हास्दै पातलो जुगाको खोल गर्दनबाट निकाल्यो ।

उतिनैबेला साउनी नुन बोकेर रूममा  छिरिन । 'जुगा टन्नै लाग्छ' टिप्दै नुनमा राख्नुहोला । नत्र यहि जुकाले रातभर सताउछ, राम्रोसँग हेर्नुस है ! राम्रोसँग । साउनी उसैगरी च्याटिठै बाहिर निस्किइन ।

हामी जुगा टिप्न व्यस्त हुन थाल्यौ। लगभग गोडा पच्चिस जम्मा भइ गए ।
०००००

प्रेम, रमेश र म बिहानै उठ्यौँ । झण्डै ५ बजेतिर । अरू मस्त निदाइरहेका थिए ।

मैले निरजलाई उठाए । बबी पनि उठ्यो ।

कोठाबाट फुत्त निस्केका थियौँ टल्किरहेको हिमाल देखियो । विदेशीहरू बारीको डिलबाट पोजपोजमा फोटो खिज्दै थिए ।

हामीले पनि खिच्यौँ । हिमालको, सुर्य उदाउँदै गरेको र हाम्रो आफ्नै  ।

केहिक्षणको दृश्यावलोकन गरी होटलपुगिसक्दा सबै उठिसकेका थिए ।

विकास हरहिसाव क्लियर गर्दै थियो ।

विसम नास्ता प्लस चिया बाड्दै ।
०००००

कलेजको बास्केट कोर्टमा फुटबल खेल्ने सिलसिलामा केटाहरूको चिम्सो अनुहार देखेर म छक्क पर्थे ।

लाग्थ्यो 'साला, बेरोजगार पीडाहरू बादल झै आकाशमा उड्न नपाएर झोक्राइरहेका छन् । सबै चाहान्छन् होलाकुनै डाँडाबाट नफक्रिएका सपनाहरू निस्फिक्री उडाउन', म उसैउसै कल्पिन्थे ।

'यो कोलाहलबाट फुत्त निस्किएर कुनै शान्त ठाउँतिर मौन तबस्वी झैँ बस्न पाइयोस् जहाँ मन पल्स तन सबै शान्त भइरहोस्'

'मनका अनेकौँ पीडाहरूलाई डाँडाबाट सिमलका भुवा झैँ सुस्तरी उडाउन पाइयोस् । र, हल्का बन्दै जाओस् पीडित मन ।'

यस्तै यस्तै सबै केटाहरू चाहान्थे— 'जहाँ मनका रहरहरू एक अर्कामा साट्न सकुन् र कम गर्न सकियोस् यो विराट बेरोजगार समयले दिएका अनेकन पीडाहरू ।'

म चाहान्थे 'एउटा यस्तो क्यानभासमा प्रवेश होस् जिन्दगी जहाँ शुन्यतामा समय वितिरहोस्, घण्टौँ सम्म ।'

म यिनै कुराहरूको खोजिमा थिए । मलाई यस्तै एउटा समुह चाहिएको थियो जहाँ हजारौँ सपनाहरू एकै ठाउँबाट साटासाट गर्दै उडाउन पाइयोस् मनका बग्रेल्ती पीडाहरू ।
०००००

झण्डै ८ घण्टाको हिडाइपछि  बल्ल सुन्दरीजल आएपुगेका थियौँ ।

पसिनाले भिजेको कपडासहित दहमा झ्वाम्म हाम फाल्ने विकास थियो । विकासको डाइभ देखेर निरज पस्यो । बबि नपस्ने कुरै भएन । म र रमेश मात्र पसेनौ, पौडिन आए पो !

'पौडिन सिकाओ केटा हो ?', मैले सिक्ने मनसाय देखाए ।  

'जिन्दगीको दहमा पौडिन नसकिरहेको बेला पानीमा के पौडिन्छौँ, सन्तोष?', दहबाट निस्किदै गम्भिर मुद्रामा विकास बोल्यो । 

म ट्वा भए 'के भन्दै छ केटो'

हुनत 'जिन्दगीको दहबाट पौडिएर सबै केटाहरू पानी झैँ सलबलाउदै सफलताको किनारासम्म पुग्न चाहान्थे होला ', म एक्कासि कल्पिन पुगे ।

कुनैदिन जिन्दगीको किनारापट्टीबाट सम्झनाको तरगंहरूलाई सम्झदै केटाहरू फिस्स मुस्कुराउदै भन्नेछन् होला— 'अनगिन्ती सपनाहरू मनका दहबाट छाल मार्दै झरेथे चिसापानी भञ्ज्याङ्गबाट मिठा यादहरू',  

म यादका दहमा उसैउसै डुब्दै गए ।

र, बेरोजगार सपनाहरू शरिरबाट फुत्त निस्किदै उसैगरी मन चङ्गा बनाउँदै निस्फिक्री आकाशतिर उडान भर्न थाले ।

म किनारपट्टीको ठुलो सालको रूखमा छेलिएर दहमा वेफिक्री उन्माद खुशी अनुहारमा छचल्काउदै, डुबुल्कि मार्दै गरेका केटाहरूको अनुहार हेर्दै फिसिक्क मुस्कुराए र चुरोट सल्काए ।


र, छिनमै चुरोटसँगै मन बटुल्याउदै "चिस्सो ! चिसापानी", "उडान", का मीठा यादहरू त्यहि निभाए । 

चिसापानी डाँडा (ट्रेकिङ्ग ग्रुप फोटो, व्याच नं. ८८५)

ह्यान्सम केटो (आफु) 

दालमोड प्लस चिउरा खादाको मज्जा (खाजा) 

हामी चार (दह)

हिड्दा हिड्दै (चिसापानी) 

दहमा चुप्लुक्क (केटाहरू)