Monday, July 23, 2012

किन Common Sense Economics पढ्नै पर्छ?


हामी सब्बैलाई थाहा छ, समय मुल्यवान् छ । तरपनि समयको परिधिमा रहि एक कुशल पेशेवर अर्थशास्त्री या अर्थशास्त्रको बारेमा यथेष्ट जानकारी बटुल्न न त  हामि धेरै भन्दा धेरै समय नयाँ नयाँ Term  सिक्नको लागि खर्चिन्छौँ, न सुत्र, तालिका या अर्थशास्त्रसंग सम्बन्धित महत्वपुर्ण बुँदाहरुको लागि नै । हामी के चाहान्छौँ ? भन्नाले कुनै वस्तु तथा सेवाप्रति हाम्रो इच्छा, चाहाना, आकांक्षा के छन् ? वास्तवमा ती नै अर्थशास्त्र भित्रका विषयवस्तुहरु हुन् । तसर्थ यस्ता स-साना वस्तु तथा सेवाप्रतिको व्यक्तिगत छनौटले नै अर्थशास्त्र भित्रको जटिल विषयवस्तुलाई बुझ्न मद्दत गर्दछ र अर्थशास्त्रमा समाविष्ट विभिन्न बिषयवस्तुहरुलाई विश्लेषणात्मक तरिकाबाट स्पष्टरुपमा बुझ्न सहयोग पुग्ने हुनाले, अर्थशास्त्रप्रति आम उपभोक्ता तथा सर्वसाधारण व्यक्तिहरुमा सामान्य धारणा र बुझाइमा स्पष्टता ल्याउनु नै Common Sense Economics पुस्तकको मुख्य उद्देश्य रहेको छ ।

आजको दिन सम्म हामीले अर्थशास्त्रको बारेमा जति बुझेका छौँ । निश्चय नै यस पुस्तकको अध्ययनबाट अर्थशास्त्रसंग सम्बन्धित रहेका विभिन्न क्षेत्रहरुलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमतामा परिवर्तन ल्याउँछ । यहि पुस्तक मार्फत अर्थशास्त्रलाई बुझ्ने पहिलो चरणमा प्रवेश गर्दै छौँ भने पनि यसले अर्थशास्त्रको साधारण आधारभुत सिद्धान्तबाट अर्थशास्त्रलाई सजिलै जानकारी गराउँदछ र साथ साथै साधारण अर्थ र परिभाषाबाट नै अर्थशास्त्रका सिद्धान्तहरुलाई बुझ्न सकिने विश्लेषण रहेको पुस्तकमा पाइन्छ । यी विशेषताको कारणले गर्दा नै अर्थशास्त्र सम्बन्धि अवधारणाहरुमा तर्कपुर्ण सोचाइहरु राख्न, देखा परेका सवालहरुलाई स्पष्टरुपमा केन्द्रिकृत गरी सम्बोधन गर्न, त्यस्ता अवस्थाको विश्लेषण गर्न, अन्य क्षेत्रहरुमा देखिएको विभिन्न समस्याहरुको प्रभावकारी समाधानका लागि गरिने कार्यान्वयनको पाटोलाई सशक्त बनाउँन र व्यक्तिगत विश्लेषण गर्ने क्षमताको विकास गर्नका साथै अर्थशास्त्रमा प्रयोग हुने स्वस्थ भनाइ (Term/Sound Arguments)  र अर्थशास्त्रमै प्रयोग हुने Nonsense Matter हरु बीच भएका भिन्नताहरुलाई बुझ्ने  क्षमताको विकास गर्न यस पुस्तकले टेवा पुर्याउँदछ ।

अर्थशास्त्र र वाणिज्यका विद्यार्थी, शिक्षक तथा यस संग सम्बन्धी सम्पुर्ण निकाय, व्यक्ति, समुह, संघ-संगठन र यसमा विशेष चासो राख्ने जो कोहिका लागि Common Sense Economics  उत्तिकै उपयोगी र महत्वपूर्ण छ । विशेषत: अर्थशास्त्रका विद्यार्थीका लागि  D. Gwartney ले भनेकै छन् - ३० वर्षको लामो अध्यापन पश्चात मैले कष्ठपुर्ण तरिकाले दुइवटा कुराहरु सिके: १) विद्यार्थिहरु अर्थशास्त्रमा पढाइने महत्वपुर्ण वुँदाहरु/तत्वहरुमा चुकिरहेका हुन्छन् कारण उनीहरु सम्बन्धीत विषयलाई प्रमाणित गर्न प्रयोग गरिएका सुत्र, तालिकिकरण, ग्राफमा धेरै व्यस्त रहन्छन् जुन जान्नु आवश्यक छैन् । र २) विद्यार्थीहरुले कलेजमा अध्यापन गराइने अर्थशास्त्रको बिषयहरुको बारेमा स्पष्टरुपमा बुझेका हुँदैनन् । तसर्थ यस पुस्तकले विद्यार्थीहरुलाई पनि अर्थशास्त्रको बारेमा धेरै जानकारी गराइ अर्थशास्त्रप्रति गहन विश्लेषणात्मक क्षमताको विकास गराउँछ ।

व्यवसायी तथा नीतिनिर्माण तहमा जो कोही हुनेहरुका लागि पनि यो पुस्तक अत्यन्तै जानकारीमुलक छ । यद्यपी, चाहे कोही कुनै सरकारी या नीजि सम्बन्धित क्षेत्रमा विज्ञ, अनुभवि हुँदाहुँदै पनि समयको अन्तरालमा अर्थशास्त्रका स-साना तत्वहरुमा भएको परिवर्तनबाट समग्र अर्थतन्त्रको क्षेत्रमा पर्ने असर, समस्याहरु र तीनका परिणामहरुलाइ एकै ठाउँमा राखेर कसरी समाधान गर्न सकिन्छ? तीनका कारण, सिर्जित जटिल अवस्था र समाधानका बारे यथेष्ट जानकारी यस पुस्तकबाट पाउँन सकिन्छ । 

निश्चय नै जो कोही आफ्नो जागिर (काम, दायित्व र जवाफदेहिता) को बारेमा सचेत रहन्छ । तर बुझ्नै पर्ने कुरा यो हो कि देशमा लागु भएका राजनैतिक/सरकारी नीति नियमहरुले व्यक्तिगत कृयाकलाप र समग्र राष्ट्रिय कृयाकलापहरुमा कसरी प्रभाव पार्छ । र, अर्थशास्त्रको बारेमा बुझ्नु यसकारण महत्वपुर्ण छ, यदि राष्ट्रमा सहि राजनैतिक संगठन भएको खण्डमा देशका नागरिकहरु आर्थिक कृयाकलापहरुको बारेमा बिना सचेत, बिना चिन्तन, बिना साधारण आर्थिकक्रियाकलापहरुको प्रभावको बारेमा जानकारी नरहँदा नरहँदै पनि कुनै क्षेत्रको साँघुरो अवस्थामा रहेर पनि समृद्धिको लागि सक्दो सहयोग र काम गरिरहेका हुन्छन् । 

र, अन्त्यमा Common Sense Economic ले त्यस्ता Basic Principle हरु जसले अर्थतन्त्र र अर्थशास्त्रसंग सम्बन्धित विभिन्न क्षेत्रहरुमा कसरी काम गर्छ भन्ने बारेमा वर्णन गरेको छ, जुन हामीले सजिलै बुझ्न सक्छौँ । र, एकै समयमा कुनै राष्ट्र समृद्धिको अवस्थामा रहेको हुन्छ, कुनै Idle को अवस्थामा भने कुनै अवोन्नतीको अवस्थामा हुन्छ, किन र कारण के हो ? अध्ययन पश्चात अवश्य जानकारी अवगत हुन्छ र विश्लेषण गर्न सकिन्छ । र, भन्न मन लागेका कुरा: आर्थिक कृयाकलापमा एक सचेत नागरिकको भुमिका निर्वाह गर्न, वृहत विश्लेषणबाट राजनैतिक तथा व्यक्तिगत छनौट र नाफा आर्जन गर्न, Basic Economic Principle  हरु बुझ्न तथा थाहा पाउँन, धन उपार्जन गर्ने तरिका थाहा पाउँन, आर्थिक तथा व्यवहारिक बजारिकरणको अवस्था थाहा पाउँन, समृद्ध राष्ट्र निर्माणको लागि अर्थशास्त्रको भुमिकाबारे यथेष्ट जानकारी थाहा पाउँन एक चोटि Common Sense Economics पढ्नै पर्छ ।
(अध्ययनका लागि पुस्तक दिनुभएकोमा सुरथ दाजुप्रति कृतज्ञता र Common Sense Economics  पुस्तकमा आधारित रहि लेखिएको हो ।)  

Friday, July 13, 2012

Building the better world: partnering with youth

समाज परिवर्तनशिल छ । परिवर्तनशिल समाजका सचेत वर्ग भनेकै आजका 'युवा' हुन् । व्यक्ति, समाज, राष्ट्र र विश्वको विकास र उन्नतीको चाहनालाई मुर्त रुप दिन 'युवासंगको सहकार्य' नीतान्त आवश्यक छ । आजको घडिमा कुनै पनि व्यक्ति, समाज र राष्ट्रको समग्र समृद्धि र सम्पन्नताको सहायता युवा शक्तिमा निर्भर छ र यस्का लागि युवा शक्तिलाई वैज्ञानिक ढंगले परिचालन गर्न सकेको खण्डमा विद्यमान देखा परेको वैमनश्यता र निराशाको अवस्था स्वत: फाटेर जान्छ ।

राष्ट्रको सिमा क्षेत्र भित्र रहेको स्रोत तथा साधनको उत्पादन, समुचित सदुपयोग तथा व्यवस्थापन गर्न न त कुनै सरकारी, गैर सरकारी या भनौँ सम्बन्धित निकायबाट पारित भएका प्रतिवेदनका ठेलीले नै गर्छ न ठुला ठुला विज्ञप्ति र भाषणले । संसारका जत्ति पनि समृद्ध र सम्पन्न मुलुकहरु छन् ती आफै विकसित भएका छैनन् । युवासंगको सहकार्य, क्षमता र सकारात्मक सोचको समन्वयको कारणले भएका छन् । भन्नाको तात्पर्य यो हो कि आशा, अपेक्षा र सम्भावनाहरुलाई वास्तविकतामा परिणत गर्न, समृद्ध, समुन्नत र न्यायपूर्ण राष्ट्र र संसार बनाउनको लागि कुनै पनि मुलुकले युवासंगको सहकार्य तिर ढिलो चाँडो दृष्टिगोचर गर्नैपर्छ ।

हामी सब्बैमा अवगत छ । बर्षौ हज्जारौँ युवा शक्ति विदेश पलायन भएका छन् । बढ्ने क्रम दिन दुइ गुणा रात चौ गुनाको क्रममा छ । बढ्दो राजनैतिक अस्थिरता, बढ्दो वेरोजगारको अवस्था, पेशामुखि प्राविधिक शिक्षाको अभाव संगै नातावाद र कृपावादको बढ्दो अराजकताको कारणले देशमा कैयौँ दक्ष सिपयुक्त युवाशक्ति अल्पमतमा परि खेर गैरहेका छन् । अनि हामी चै गरिविलाई सष्टांग नमस्कार गरिरहेका छौँ । वास्तवमै गरिविको रेखाबाट उक्लिने हो भने समृद्धिको टापुतिर लम्कने हो भने राष्ट्रको विकासको मुल प्रवाहमा युवा शक्तिलाई समाहित गरि सर्वाङ्गिन विकासको गतिमा तीव्रता ल्याउनु अपरिहार्य छ । युवासंगको सहकार्य नीतान्त जरुरी छ ।

इतिहासको पानालाई पल्टाएरै हेर्ने हो भने पनि हरेक सफलतामा युवाको सकृय सहभागिता रहेको पाइन्छ । चाहे कैयौँ जनआन्दोलन भनौँ या सामाजिक सद्भावका लागि शान्ति दिप प्रज्वलन । तसर्थ राष्ट्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सहभागि गराउन सकिने, राष्ट्रको चौतर्फि विकासका सन्दर्भमा जस्तै: कृषि उत्पादन, व्यवसाय र औद्योगिक क्षेत्रमा पेशामुखि बनाउने मार्ग चित्र सहितको राष्ट्रिय कार्ययोजना तयार गर्नुपर्दछ । विविध धरोहरबाट सम्पन्नता भएर पनि विपन्नताको उदोगति तिर जानुमा हाम्रै त्रुटि रहेको छ । हामीले श्रमलाई चिनेनौँ, पसिनाको मुल्य थाहा पाएनौँ । युवाको उर्जालाई चिनेनौँ । जल र थलमा भएका खनिजपदार्थको सदुपयोग गर्न जानेनौँ । चिन्ने र जान्ने को थिए त ? कोहि थिएन ? जब सम्म हामीमा निहित श्रम र सिपलाई ३६५ दिनै प्रयोग गरेर बाँच्न र केही उब्जाउन जान्दैनौँ तब सम्म कोहि छैन् र केहि हुनेवाला छैन् । सानो मुलुक भुटान विद्युत वेचेर आम्दानी गरिरहेको छ, आर्थिक उन्नति गरिरहेको छ । हामी यहाँ जलमा ढल मिसाइ बगाइ रहेका छौँ भनेपछि हाम्रो युवाशक्ति र स्रोत साधन प्रतिको चिन्तन कति निर्दयी छ स्वत: स्पष्ट हुनजान्छ ।

अन्त्यमा, भन्नै मन लागेका कुरा: कृषिप्रधान देशमा कृषिको काम गर्न युवा हिचकिचाउँछ । आधुनिक प्रविधियुक्त खेति प्रणाली त परै जाओस् कृषकले समयमा विउ, विजन र मल पाउँदैनन् । विदेश पलायन भैसकेका र हुने क्रममा रहेका युवा शक्तिलाई व्यवस्थापन गर्ने कुनै निकाय र अवस्था छैन् । दिनानुदिन राजनीति अस्थिरता बढ्दो छ, नेतृत्व तहमा उहि पुरानै सोँचको स्थिरता छ । युवाशक्तिलाई राजनीतिक हतियार बनाइएको छ । भनेपछि यस्तो अराजक स्थलमा अलिकति नवीन सोच राखि युवासंग सहकार्य गरेर युवालाई उत्पादनमुखि बनाई देश विकास तिर लम्के कत्ति राम्रो हुन्थ्यो होला? हजुर (तपाई) को सोच के छ? शुभ कार्यमा ढिलाई किन? भविष्य सुनिश्चित छ ।