Sunday, July 26, 2015

गोसाइकुन्ड उडान

कान्लो उक्लिएर अलिकति तेर्सो हिडेपछि गोरेटो बाटो छेकेर टागेको होर्डिङ्ग बोर्डमा होटेलको नाम टल्कियो ।

हामी तिनै एकैचोटी चिच्यायौँ—— "हिमचिम रेष्टुरेण्ट"

बासले बारेको सानो टहरो जस्तो होटेलको कुनापट्टी चुलाबाट दोर्जे केटो गुनगुनाउँदै थियो ।

स्यो-स्योको गन्ध नमिठो
शेर्पीनी दिदि क्या ! मिठो

हामी भर्खर धुन्चेबाट सिङ्गोम्पा पुगेका थियौँ । घाम टाउँकै माथि थियो । समय १२ मा चल्दै हुनुपर्छ । मैले अनुमान लगाए । ६ घण्टाको निरन्तर हिडाईपछि बल्ल होटेल भेटेथ्यौ ।
०००००

दशैको बेला । घर जान उर्लिएका मान्छेको बाक्लो चाप । काउन्टर वरिपरि टिकट लिनेको भिड ।
लाग्थ्यो—— "कुनै ठुलो महोत्सव हुँदैछ ।"

गाडी खचाखच हुनेमा कुनै शंका थिएन । सिट पाउने त झन् चान्सै थिएन ।

अनकनाउँदै तीनैजना काउन्टर अगाडी रोकिएको एउटा पुरानो बसमा ठेलमठेलमै चढ्यौँ ।

बसको अगाडिपट्टी लेखिएको थियो—— "हिमाल-पहाड-तराई, कोहि छैन पराई"

हामी पनि कहाँ पराइ थियौँ र ? खुट्टा राख्ने ठाउँ पाइहाल्यौँ, चढ्यौँ ।

चढेको केहि क्षणमा बस करिब ४० जना बोकेर हर्न बजाउँदै हुइकियो—— "धुन्चेतिर"

बल्ल मन चङ्गा जस्तै हलुङ्गो भयो

चिन्ताको अग्लो पहाड नाघेको बेला मान्छेको अनुहारमा जसरी खुशी दौडिन्छ, त्यस्तै बेजोडको खुशि अनुहारमा बेतोडले दौडियो । मैले आरामको लामो साँस ताने ।

बसको पछाडि भागमा उभिएको छु—— "म"

छेउमै उभिएर मोबाइलमा 'हे कविरा' सुन्दै गरेका दुई छन्—— "हेम र अनिश"
०००००

घटस्थापनाको अघिल्लो दिन हुनुपर्छ । फेसबुकमा अनिशको म्यासेज झर्यो । यसपालि गोसाइकुन्डको ट्रेक—— "ह्वाट यू से ब्रो"

मनमनै म्यासेज पढे र फिस्स मुस्कुराए ।

दुई दिन अघि थापेको तलब गोजिबाट सिनित्त भईसकेको थियो । एक टुक्रा काम नलाग्ने कागज सिवाय गोजिमा केहि थिएन ।

अनिशको म्यासेज पुनः एकपटक पढ्दै गोजिबाट त्यहि कागज निकाले । बाले टिपाएको गाउँको सिडिएमएको नम्बर थियो त्यो । एकपटक बालाई सम्झे । आमालाई सम्झे । साथिभाई सम्झे । गाउँघर सम्झे । गोसाइकुण्डको ट्रेक पनि सम्झे । अचानक मन त्यसैत्यसै चुस्स दुख्यो ।

फेरि अनिशकै म्यासेज आयो । "टुमरो, गोसाइकुण्ड ट्रेक, ह्वाट यू से ब्रो ।"

ऐले भने कन्पारो तातेर आयो । तैपनि अल्छि मान्दै रिप्लाई पठाए "हेरम" ।

"के हेरम, खुरूक्क हिड्ने । पैसोसैसो छैन भने व्यवस्था गरौला ।" रिप्लाई पढेर मन ढुक्क भयो र अचानक शहरीभरी खुशी यसरी दोडिन थाल्यो मानौँ खुशी मापन गर्ने कुनै यन्त्र हुँदो हो त त्यसले आकाश छुन्थ्यो होला ।

जबजब म पैसाको अभावका पहाडले थिचिन्थे, सहयोग गर्ने उहि हुन्थ्यो । र यसपालिको गोसाइकुण्डको ट्रेकिङ्ग खर्च पनि उसैले व्यहोर्ने भयो । म खुशि थिए । किनकी केहि वर्षदेखि दशैमा ट्रेकिङ्ग जाने निरन्तरतामा मेरो उपस्थिति हुँदै थियो, म छुट्दै थिइन ।
०००००

बसले काठमाण्डौँ छाडेको घण्टौ भईसकेको थियो । विदुर पुग्न लागेका थियौँ । बस त्रिशुलि नदी मास्तिरको भिरमा हुइकिदै थियो । हेमले वमिट गर्यो । उभिन निको नमानेपछि हामि छततिर उक्लियौँ ।  

"वाऊ ! ह्वाट अ बिउटिफुल नुवाकोट ?"

"त्रिशुलीको सङ्ग्लो पानी, मनै बहलाउने,
त्यसैत्यसै बगे म त, कता समाउने ?"

निन्याउरो हेम एकाएक गुनगुनायो ।

"सैयौँ मान्छे वेपत्ता बनाउने त्रिशुलीमा मनमनै भएपनि नबग है केटा । के था पत्तै नपाई तँलाई पनि बेपत्ता बनाउला——मनमनै ।" म जिस्किए ।

"छ्या, भाइहरू जे पाए त्यहि नभन्नु न ! डर लाग्यो हौँ कुरा सुनेर ।"

छतको अघिल्तिरबाट अपरिचित शेर्पिनी केटीको आवाज सुनेर हामि त्यतै फर्कियौँ ।

"जिस्केको नी", एकैचोटी तीनैजनाले मुन्टो हल्लाउँदै हास्यौँ ।

"शेर्पिनी केटीले आँखा तर्दै निकैबेर हामितिर नमिठो मुस्कान फालीरही र हामि तीनै उसको नमिठो मुस्कानमा निकैबेर कठ्याङ्ग्रिरह्यौँ ।

कुरैकुराको सुरमा विदुर आइपुग्यो । शहरको पल्लो कुनामा पुगेर गाडी घ्याच्च रोकियो ।

खाना खुवायो र गाडि हुइकियो । के गाडी मात्र हुइकिन्थ्यो—— हामि पनि । उही उत्साह । उहि उमंग । उहि खुशि । उहि उत्सुकताका साथ हामी छतबाट नुवाकोट नियाल्दै धुन्चेतिर हानिदै थियौँ ।  

त्रिशुलिका विशाल फाँट । बाटै मुन्तिर नहरमा बगेको सेतो पानी । फुलबुट्टे पक्की घरहरू । झुरुप्प पहाडका फेदमा बनेका स-साना बस्ती । लाग्थ्यो कुनै स्वर्ग भन्दा कमको दृश्य थिएन त्यो ।

अग्लो पहडाबाट झर्दै गरेको विशाल झर्नाले केहि बेर सबैको ध्यान खिच्यो ।

"विउटिफुल", छतको देब्रेपट्टीबाट एउटा कुइरे जोडजोडले चिच्यायो । झन् हामी नचिच्याउने कुरै थिएन ।
०००००

विदुरबाट झण्डै ५ घण्टाको यात्रापछि विशाल पहिरो गएको छेउको डाँडामा पुगेर गाडि रोकियो । पहाडै बगाएर राजमार्गमा सानो थुम्का खडा भएको थियो । सबै गाडीहरू जाममा लस्करै थिए ।

हामि ओर्लियौँ । पहिरो देख्यौँ । बस् मुटु नहल्लिने कुरै थिएन ।

"दिनहुँ यस्तो पहिरोमाथि गाडी हाक्ने चालकहरूको मटु चै मान्नैपर्छ ।" अनिशले डाइभरदाईहरूको मन जित्ने कुरा गर्यो । केहि डाइबरदाइहरू मुसुमुसु निकैबेर हाँसिरहे । 

धुन्चेबाट एक हुल आर्मी आए । बाटो खोल्न लागे । निकै समय लाग्ने थाहा पाएपछि हामिले हिड्ने सुर कस्यौँ । सबैले आ-आफ्नो झोला टिप्यौँ र त्यहाँबाट हिड्यौँ ।
०००००  

"धुन्चे, १२ किलोमिटर", जिब्रो टोक्दै अनिश फुसफुसायो ।

"असम् ट्रेकिङ्ग हुने भो", एकाएक हेम रौस्सियो ।

"१२ कि.मी", नट अ जोक साथि, भोलिको बसाई धुन्चे गर्ने भए ठिकै छ ।" पुच्छारमा मैले राय सुझाए ।   

"जे पर्ला सोहि टर्ला", अनिशले साहस देखायो । किनकी हामी तीनमा अनिश मात्र हिडाईमा निर्धो थियो ।
ऊसले हिड्ने साहास देखाएपछि मनोबल हाम्रो पनि उच्च भयो । हामी पिचको बाटैबाटो टुकुरटुकुर हिड्न थाल्यौँ र परिचित हुनथाल्यौँअपरिचित अनुहारहरूसँग, स-साना झुप्रा घरहरूसँग, चिसो हावासँग, घना जङ्गलहरूसँग र जताततै मधुर आवाजमा झरिरहेका झर्नाहरूसँग ।

"वाऊ ! आई थिङ्क, ईट्स कल्ड ह्याभेन", अनिश हात फिजाउँदै चिच्यायो ।

"ह्वाट, इट्स अ नेपाल ड्युड । सो, इन्ज्वय इट लाइक वुइ र इन ह्याभेन", हेमले अनिशलाई जिस्काउदै सानो दहमा फुत्त पस्यो ।

हैन के भन्छन् केटाहरू। "इट्स अ फस्ट रसुवा ड्युड । सो, उइ आर इन लाइक अ हेभेन अफ नेपाल", म जानिटोपलिदै झर्नाको छेउमा उभिएर सेल्फि खिच्न थाले ।  

"हाहाहा हामी तीनै मज्जाले निकैबेर हास्यौँ", सम्भवत: हाम्रो हाँसोमा कस्तुरीहरू पनी मज्जाले हाँसे होलान् । थुम्कापट्टीबाट डाँफेले हाम्रो मुस्कान देख्यो होला । कालिजका केहि बथानहरू हाम्रो हाँसो सुनेर तर्सिदै भागे होलान् । म त्यसैत्यसै कल्पिए ।  

ढुङ्गो छलेर झरेको बिशाल झर्नाले बनाएको अर्को ठुलो दहमा तीनै टक्क अडियौँ ।

"हेल्लो भन्दै एक जोडी क्यानेडियन हामीतिरै आए"

"यु अल गोइनङ्ग धुन्चे"

"एस, हामीले एकै स्वरमा बोल्यौँ"

"एण्ड यू अल्सो", अनिशले क्यानेडियनको मुखबाट 'एस' खस्न नपाउँदै सोधिहाल्यो ।

हामीलाई थाहा थियो । कुइरे देख्नासाथ यो हिमचिम हुन्छ भन्ने कुरा । किनकी तुलनात्मकरूपमा उसको अंग्रेजी हाम्रो भन्दा राम्रो थियो र मष्तिष्कमा जो बिबिसिमा काम गर्ने भुत सवार थियो उसको ।

लौ त, आजलाई उसले काम पायो । कहाँ ? बि.बि.सि.मा, होइन-होइन रसुवामा ।

हामी तीनबाट पाँच भयौँ । बाटाभरी क्यानेडियन जोडीले धेरै कुरा गरे । भुतको कथा सुनाए । क्यानडा र नेपालको बारेमा गफ पिटे । प्रेम कहानी सुनाए । धैरै देशको यात्रा वर्णन गरे । हामीले सुनिदिने कष्ट गर्दियौँ । र, अन्त्यमा उनीहरू यात्राभरका आत्मिय साथी बन्न पुगे । फेसबुकमा जोडिए । कन्ट्याक्ट साटासाट भयो । यतिसम्म कि क्यानडा गएको बेला उसको घर पस्ने निम्तो समेत पाइयो ।

कुनै दिन क्यानडा पुगियो भने पाहुना भएर बस्नलाई पिटरको घर पनि मिल्यो । धुन्चेले दुनियाभरको बास मिलाउने भयो । हामी एकअर्कालाई हेर्दै मुस्कुरायौँ ।  

कतिखेर चारवटा पहिरो छाडियो ? १२ किलोमिटर कसरी हिडियो ? केहि पत्तै भएन ।

"धुन्चे १ कि.मी.", बाटो मुन्तिर तितेपातिको झ्याङ्गनिर टागेको होर्डिङ्गबोर्ड देखेपछि बल्ल हामीले लामो साँस फेर्यौँ । त्यतिबेला बेलुकाको ९ बजेको हुनुपर्छ ।

"धुन्चे, हामी आइपुग्यौँ ।" हामी तीनै एकछिनसम्म मज्जाले चिच्यायौँ ।

हाम्रो चिच्याहट देखेर जोडी क्यानेडीयन छक्क परे । अनिशले अंग्रेजीमा सुझायो हामीले आफैले आफैलाई स्वागत गरेको क्षण न थियो त्यो ।
०००००

भिरालो खर्क तर पहाडको फेदपट्टीको खोप्चातिर झुरूप्प स-साना पक्की घर । बानेश्वरबाट बबरमहल जत्ति लामो रोडको छेउछाउमा बनेका घर, भनौँ बजार । रोड गाउँघरका आँगन जस्तो ।

हामी हतारिदै सस्तो र राम्रो हेटल खोज्न थाल्यौँ । ती जोडी क्यानेडिएन पनि हाम्रै पछिपछि थिए । हामी रोडको माथिल्तिर रहेको अन्नपूर्ण होटेलमा छिर्यौँ । क्यानेडियनहरू कता गए । थाहै भएन ।

"रूमको कति ?"

"सात सय", जुङ्गेवाला साउले चर्को स्वरमा भाउ तोक्यो ।

"६ सय दिन्छौँ" अनुहार चिम्स्याउँदै म बोले ।

"हुन्छ को मुन्टो हल्लाउँदै" जुङ्गेवाला साउले सहमति जनायो ।

हामी तीन डङ्ग्रङ्ग बेडमा पल्टेका मात्र के थियौँ ? अघिको क्यानेडियन बुढो झुल्कियो र मुस्कुराउँदै—— "हाउ मज कस्ट यू गिवेन फर दिस रूम"

"सिक्स हन्ड्रेड"

"ह्वाट, यो शहरकै सबैभन्दा राम्रो होटेल लाङ्गटाङ्गमा हामीले पर रूम ३०० सय रुपैया तिर्यौ", हिड तिमीहरूलाई पनि मिलाइदिउला", हामी ट्वा पर्यौँ । एकअर्काको मुखामुख गर्दै तुरून्त झोला प्याक गर्यौँ र त्यस होटेलबाट निस्कियौँ"

डराईडराई छिरेको लाङ्गटाङ्गको रूम हेरिसकेर पैसोको चाँजोपाँजो मिलेपछि तीनैजना दंगदास पर्यौ । हो पो रहेछ । कहाँ नेपाली मात्र आत्मिय र सहयोगि हुन्छन् । मान्छे न हुन् चाहे ती अमेरिकन हुन् वा क्यानेडियन । आत्मियता साटासाट भन्ने कुरा त संसारका कुनै पनि कुनाका मान्छेले गर्दो रहेछ । त्यो दिन हामीले थाहा पायौँ ।

हामी जोडी क्यानेडियनको व्यवहारप्रति आभारी थियौँ । र, त्यो भन्दा बढी खुशी । त्यस दिन हाम्रो बसाई त्यहि होटेलमा भयो । रात्रि भोजको साथि भए ती क्यानेडियन जोडि ।  
०००००

खोचबाट उक्लिएर हामी तिन टक्क उभियौँ ।

छर्लङ्ग देखियो—— "हिमाल डिस्ट्रिलरी पानीको फ्याक्ट्री"

गज्जप, तिनै जनाले एकअर्कालाई थम अप्स गर्दै अगाडी लम्कियौँ ।

हिलो बाटो कटेर पुल तर्नै लाग्दा एक भाई भेटियो ।

"भाई, गोसाइकुण्ड पुग्न कति समय लाग्छ ?" अनिशले सोध्यो ।

"के तालको मान्छे होला ? १ कि.मी. हिडेको छैन" हेम रन्कियो ।

"बेलुकासम्ममा पुग्नुहुन्छ", भाइले हिड्न नसक्ने आशय बुझेछ क्यार ! साहस थप्दिने काम गर्यो ।

"झोलुङ्गे पुलको बीचमा पुगेर फोटो ठोकौँ त जेठान", हेमले मलाई फोटो खिचिदिन आग्रह गर्यौ या अनुरोध । साइनो पो लगाउन खोज्यो कि ? म अलमलिए ।

खैर, मैले फोटोहरू कैद गर्न लागे । खोलाको । जंगलको । हेमको । अनिशको ।

"खोइ त मेरो", म कड्किए ।

"यी मोबाइलमा" अनिशले देखाउँदै बोल्यो ।

"पोज त दिनै पाइएन", म हाँस्दै बोले ।

नाकै ठोक्केला जस्तो खुट्किलाको बाटो १ घण्टा लगाएर छिचलेपछि बल्ल हामी पहिलो स्टेशन पुग्यौँ—— देउराली ।

"चिया पिउने ?" हेमले हामी दुईलाई सोध्यो ।

"हुन्छ", मैले मुन्टो हल्लाउँदै लामो सुस्केरा छाँडे ।

चिया पिएपछि हामि पुनः उकालो लाग्यौँ । बाटाभरि कोहि इजराइली साथि बने । केहि जर्मनी । टन्नै स्पेनिसहरू पनि साथि भए । हाम्रो हिडाइ विदेशीहरूको भन्दा तगडा थियो । बाटाभरि भेटेजति सबैलाइ पछाडि छाड्दै हिडिरह्यौँ । नयाँनयाँ साथि बन्दै गए ।

मध्यदिनतिर सिङ्घम्पा पुगेथ्यौँ । उही दोर्जेका खाना खाएर लाउरे बिनायकतिर उक्लिएथ्यौँ ।
०००००

हामि करिब ३८ सय मिटर माथि थियौँ ।

लाङ्टाङ्ग हिमाल सामुन्ने उभिएको थियो । सुर्यको मसिनो पहेला धर्साले लाङ्टाङ्गको टुप्पो टल्काइरहेको थियो ।

लामो साँस फेर्दै अनिशले हिड्न नसक्ने बतायो । त्यतिबेला समय ५M३० मा चल्दै हुनुपर्छ र हामी  लाउरेविनायक मुन्तिरको खोजमा थियौँ । होटल पुग्न अब मात्र केहि मिनेट लाग्न सक्थ्यो ।

"खानाको ३०० सय । कोठको छ सय ।" साउनी च्याट्ठिदै बोलि ।   

लाउरे विनायकको डाँडामा एउटै होटेल । झन् त्यसमाथि विदेशीको खचाखच । खैर, बस्नु त पर्यो । साउनीलाई फकाउँदै एउटा रूम पक्का गर्यौँ र साँझ नपर्दै खाना खाइवरि एक थर्मस तातो पानि लिएर कोठा छिर्यौँ । रातभरि सुत्न के सकिन्थ्यो ? चिसो उत्तिकै । त्यहिमाथि अक्सिजन नपुगे जस्तो हुने, टाउको चिट्चिट् दुखिरहने । बेलाबेला डराउँदै हामी एक अर्कालाई उठाएर सोध्थ्यौँ लेक लाग्यो भने...
०००००

आँगनको डिलमा मुख धुँदा पानि उछिट्टिएर लाङ्टाङ्ग हिमालमा पुग्ला जस्तो । विश्वासै नलाग्ने आँखै अगाडी सेतो टलक्क टल्केको अग्लो हिमाल ।

"यति नजिकबाट त मैले हिमाल देखेकै थिइन?" अनिश खुशिले गद्गद् भयो ।

"ग्रुपमा एक फोटो खिचि हालौँ", होटलको दिदीलाई फोटो खिच्न अनुरोध गर्दै हामी डिलमा उभियौँ ।

होटेलबाट उकालो लाग्दा बिहानको ९ बज्यो ।

गोसइकुण्डपट्टिको थुम्कोबाट उदाउँदै गरेको घामको फुर्केले छातिपट्टिको भाग तातो बनायो । जाडोले मुटु कमाइरहेको बेला उकालो चढ्न केहि राहत मिल्यो ।

डरलाग्दा भिर । घोडेटोगोरेटोट्रेकिङ्ग जे भने पनि मसिनो धर्सा जस्तो खुट्टा मात्र अट्ने साँघुरो बाटो । चिप्ल्यो भने कहाँ हो कहाँ ? विना नशा सुरमा हिड्नु पर्ने । बेसुरा देखाए ज्यान जोखिमा । थुम्का भने गज्जपका । उजाड थिए । हिउ नभएका तर लस्करै ।

"काठमाण्डौँ कता पर्ला ?" हेमले प्रश्न गर्यो ।

"यता हुनुपर्छ हातले देखाउँदै अनिश बोल्यो"

"अनि, रामेछाप नी ?" मैले सोधे ।

"रामेछाप, एकछिन रोक्किएर काठमाण्डौबाट पूर्व पट्टी ।" अनिश जिस्कियो ।

झण्डै ४ घण्टाको हिडाइपछि हामि गोसाइकुण्ड पुग्यौँ ।

घाम लागिरहेको थियो । सिरौटे चिसो हावा चलिरहेको । तलतलबाट झुरुप्प बाक्लो बादल गोसाइकुण्डतिर उक्लिदै गरेको । कुण्डबाट तुवालो जस्तो बाफ उडिरहेको । मनमोहक दृश्य थियो त्यो ।

हिउँ नभएका थुम्काले घेरिएको ४३५० मिटर उचाइमा रहेको गोसाइ कुण्डको पानी सङ्ग्लो थियो । स-साना पत्थरैपत्थरको जमिन । कुण्डको चुम्सोपट्टी रहेको ४ वटा जत्ति होटल । होटल भएकै ठाउँको दाहिनेपट्टी मन्दीर ।

बस् गोसाइकुण्डको क्यानभासमा यत्ति दृश्य अटाउथ्यो ।

एउटा होटेलमा खाना अडर गर्यौँ र लाग्यौँ कुण्डमा डुब्न ।

अनिश पहिले डुब्यो । डुब्यो के भन्ने फुत्त पस्यो, हिऊ झै जमेर फुत्त निस्कियो । हतारहतारमा कपडा लगायो । हेमले त्यसै गर्यो र मैले पनि ।

कति चिसो पानी ? हामी तीनै एकछिन कठ्याङ्ग्रियौँ ।

मन्दिरको दर्शन गर्यौँ । जल बोक्यौँ । होटेलको तात्तातो खाना र तेलमा तारेको पिरो खुर्सानी चिरिप्प पारेर करिब आधा घण्टाको बिश्रामपछि तल झर्यौँ ।

त्यहिदिन बेलुका धुन्चे पुग्यौँ र बियरले हल्का शरिर ततायौँ । भोलि त सवेरै बडादशमीको आशिर्वाद र टिकाथाप्न काठमाण्डौँ जो फिर्किनु छँदैथियो ।